PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कविता : चोट



कविता : चोट

  • उत्तम रिमाल-
अस्ति 
दाजुको डलरले किनेको
महँगो फाली जडेको
बल्ल तल्ल वन चहारेर भेट्टाएको
अग्राखले बनेको
सबैभन्दा मन पर्ने हलो
धमिरोलाई बफे डिनर बनाइदिएर
शहर पसेको कान्छो

हिजो
दलालको खुट्टा मोलेर
परदेश छिरेको त्यै कान्छो
परदेशिँदाको रिन तिर्न

आज 
'सो कल्ड' साहुको
आफ्नो विदेशी मालिकको
जुठो भाँडा माझ्दै
सानसँग कराइरहेछ
मेरो गाउँमा पनि
मोटर गुड्यो अरे।

चारपांग्रेको चर्चा चलिरहँदा
रमाइरहेको त्यो छोरो
खुशीमा
अग्लाअग्ला गगनचुम्ने भबन भन्दा अग्लो
तातोमा
रेतको गर्मीलाई पनि गर्मी हुने तातो
भैरहँदा रहँदै
पुरै रमाउन नपाउँदै
भनौ
इन्टरमिसनमै पनि पुग्नुअघि
त्यै अभागी कान्छोकै 
टावर टिप्ने नयाँ सिम हालेको
त्यै थोत्रो भेट्टाएको फोनमा
टिङ टिङ फोन आइपुग्छ
आमा निन्याउरी बन्दै बोल्छिन्
रुँदै तर नरोएको जस्तो गर्न खोज्दै
बाबु
सुन न बाबु
न आत्तिनु है बाबु
हिजो मोटर आउँदा तिम्रा बा लाई
किचिक्कै पारिदियो
ठहरै मारिदियो।

रुघा बिग्रे पिनास
विकास बिग्रे विनास
भन्दै कराउँदै 
बाटो खन्न जानलाग्दा
भै गो कान्छो
यस्तोमा नजा
हाम्रो ढङ्गले भ्याउँदैन
न त मान्छे नै जानेका छन्
छोडदे क्या भन्ने
प्राणप्यारा बा को बचन नमानी 
राम्रो भविष्य कल्पना गर्दै
जन्माउने बाउसँग लड्दै
खिया लागेर सकिनै लागेको कोदाली
सिहंले हरिण च्यापे जस्तो च्यापेर
हिँडेको कान्छोको मनमा 
आमाको फोनपछि
बज्रपात नै पर्‍यो
जब टिभी खोल्यो
झनै चोटमाथि चोट थपियो
किनकि 
समाचार देख्यो
हल्का तलपट्टि
ब्रेकिङ्ग न्युज आउँदै थियो
"२१ जना मर्नुको पछाडि अगतिलो बाटोको दोष"।।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell