PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

राष्ट्रियसभा सदस्यमा कसको कार्यकाल कति? चिट्ठाबाट हुँदैछ कार्यकाल निर्धारण



पहिलोपोस्ट

राष्ट्रियसभा सदस्यमा कसको कार्यकाल कति? चिट्ठाबाट हुँदैछ कार्यकाल निर्धारण

काठमाडौँः राष्ट्रियसभाका ५९ सदस्यको कार्यकाल आज गोलाप्रथाबाट निर्धारण गरिँदैछ। संवैधानिक व्यवस्था अनुसार ५९ सदस्यमध्ये एक तिहाइ सदस्यको कार्यकाल प्रत्येक दुई वर्षमा सकिन्छ। पहिलोपटक निर्वाचित भएका सदस्यको कार्यलका दुई, चार र ६ वर्षको हुनेछ।

कार्यकाल निर्धारणका लागि संघीय संसद् सचिवालयले सोमबार ११ः३० बजे सबै सदस्यलाई उपस्थितिका लागि अनिवार्य गरेको छ। कुनै कारणवश उपस्थित हुन नसकेमा अख्तियारनामा प्राप्त व्यक्ति सहभागी हुन पाउने कार्यविधि तय गरिएको छ। 

संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभा स्थायी सदन हो। संवैधानिक व्यवस्था अनुसार राष्ट्रियसभाको कार्यकाल ६ वर्षको हुन्छ। तर, सबै सदस्यको कार्यकाल भने पूरा ६ वर्षको हुँदैन। 

प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्यको कार्यकाल सकिन्छ।

अर्थात् राष्ट्रियसभा सदस्यहरू २, ४ र ६ वर्षे कार्यकालका हुनेछन्। पहिलो दुई वर्षमा रिक्त एक तिहाइका लागि अर्को चुनाव हुनेछ। जुन प्रक्रियाबाट आएका सदस्यको स्थान रिक्त भएको हो सोही अनुसार सदस्यको पूर्ति हुँदै जानेछ। 

पदाधिकारीलाई पनि सदस्य मानेर गोलामा सामेल गराइनेछ। यदि अध्यक्षको कार्यकाल नै दुई वर्ष हुन गएमा उनको कार्यकाल पनि सकिनेछ।  


यसरी हुनेछ गोलाप्रथा

राष्ट्रियसभामा ५९ सदस्य छन्। जसमा सात प्रदेशबाट ८ जनाका दरले समानुपातिक समावेशी रूपमा प्रतिनिधित्व गरेका ५६ जना छन्। अन्य तीन जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत छन्। 

प्रत्येक प्रदेशबाट खुला ३, महिला ३, दलितबाट १, अपाङ्गता वा पिछडिएको क्षेत्रबाट १ जना छन्। यसरी नै सबै प्रदेशबाट प्रतिनिधित्व भएको छ।
कार्यविधि अनुसार सबै प्रदेशको समानुपातिक र समावेशी प्रतिनिधित्व कायमै रहनेगरी गोलाप्रथा गरिनेछ। प्रदेशगत रूपमा क्लष्टर अनुसार गोलाप्रथा हुनेछ। सबै समूह र प्रदेशगत रपमा पाँच पटक गोला हालिनेछ। 


जस्तै, प्रदेश १ का तीन खुला सदस्यलाई एक पटक गोला तान्न दिइनेछ। जसमा नामको वर्णानुक्रम अनुसार सदस्यहरूले क्रमशः चिट्ठा तान्नेछन्। जसमा तीन जनामध्ये एकको कार्यकाल २, अर्को ४ र तेस्रो सदस्यको ६ हुनेछ। 

यस्तै, तीनजना महिला सदस्यको हकमा पनि यही हुनेछ। तीन जनालाई एक पटक गोलामा सहभागी गराइनेछ। जसमध्ये एकको कार्यकाल दुई, अर्कोको चार र बाँकी एकजनाको चार हुनेछ। 

दलितबाट प्रतिनिधित्व गरेका सात जनालाई एक पटक गोला हालिनेछ।  ६ जनाको हकमा गोलाप्रथाबाट कार्यकाल दुई चार र ६ वर्ष निर्धारण गरिनेछ। एक जनाको कार्यकाल शून्य वर्ष हुनेगरि गोला निर्धारण गरिएको छ। 

अपाङ्गता वा अल्पसङ्ख्यकको हकमा पनि दलित प्रतिनिधित्वकै कार्यविधि लागू हुनेछ। सात जनामध्ये ६ जनाको कार्यकाद दुई, चार र ६ वर्षको हुनेछ। एक जनाको कार्यकाललाई शून्य वर्ष कायम गरिनेछ।

दलित र अपाङ्गता भएका व्यक्तिको समूहबाट प्रतिनिधित्व गरी शून्य वर्ष कार्यकाल कायम भएका दुई सदस्यको छुट्टै गोला हालिनेछ। यसरी गोला हाल्दा एक जनाको कार्यकाल चार र अर्को एक सदस्यको कार्यकाल ६ वर्षको निर्धारण हुनेगरि कार्यविधि तय गरिएको छ। 

यस्तै, मनोनीत तीन सदस्यको हकमा पनि तीन जनालाई नामको वर्णानुक्रम अनुसार गोला तान्न दिइनेछ। गोला तानेका आधारमा उनीहरुको कार्यकाल दुई, चार र ६ वर्षको निर्धारण हुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell