PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रधानमन्त्री ओली राष्ट्रिय ध्वजावाहकको सट्टा किन निजी एयरलाइन्समा जाँदैछन् चीन?



वसन्तराज उप्रेती

प्रधानमन्त्री ओली राष्ट्रिय ध्वजावाहकको सट्टा किन निजी एयरलाइन्समा जाँदैछन् चीन?

काठमाडौँः चीनबाट विभिन्न हवार्इ सेवा कम्पनीले नेपालमा सिधा उडान गरिरहेका छन्। चीन काठमाडौँ दैनिक सातवटा उडान भइरहेका छन्। चीनबाट दैनिक एयर चाइनाको दुर्इ, चाइना साउर्दनका दुर्इ, चाइना इस्टर्नको दुर्इ र सिचुवानको एक फ्लाइट भइरहेको छ। नेपाल चीन हवार्इ सेवा सम्झौता अनुसार साप्ताहिक ७० वटा उडान गर्न पाउने प्रावधान छ। तर चीनको हवार्इ कम्पनीलेमा मात्रै नेपालमा उडान भरिरहेका छन्।

चीनबाट उडान भर्ने कम्पनीले मनग्ये कमाइरहेका छन्। चीनबाट आउने पर्यटक र नेपालबाट विभिन्न व्यापारका लागि चीन जाने यात्रुका कारण उनीहरू मालामाल छन्। चिनियाँ कम्पनीले एकाधिकार कायम गर्दै उडान गरिरहेको छ। उनीहरूको एकाधिकारका कारण हवार्इ भाडा समेत अत्यधिक महङ्गो छ।

तर नेपालको ध्वजावाहक नेपाल एयरलाइन्सले भने उडानका लागि दुर्इ वर्षअघि गरेको प्रस्तावमाथि चीनले कुनै जवाफ दिएको छैन। चीनले आफ्नो हवार्इ कम्पनीको हिस्सा घट्ने डरले एनएसीलार्इ उडान अनुमति दिएको छैन।

‘चीनको हवार्इ उड्ययन प्राधिकरणले हामीसँग विभिन्न डकुमेन्ट मागिरहेको छ। हामीले आवश्यक कागजात सबै पेस गरिसकेका छौँ। तर चीनले उडानका लागि अनुमति दिएको छैन’ निगमका एक अधिकारीले भने, 'उनीहरूको इन्ट्रेस्ट जुनसुकै हालतमा आफ्नो कम्पनीको मुनाफा कायम राख्ने देखिएको छ। चीनले व्यावसाय बाहेक अरू कुनै स्वार्थ राख्दैन भन्ने यो बलियो प्रमाण हो।'

‘प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा समेत यो मुद्दाले प्राथमिकता पाएको छैन। अझ प्रधानमन्त्री ओली आफू निकटको व्यवसायीको लगानी रहेको हिमालय एयरलाइन्समार्फत चीन भ्रमण गर्दैछन्।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले एनएसीको जहाज प्रयोग गरेको भए उडान अनुमतिका लागि चीनलार्इ दबाब पर्थ्यो।

‘हाम्रो अपेक्षा पनि प्रधानमन्त्री नेपालको ध्वजावाहक हवार्इ जहाज चढेर गइदिनुस् भन्ने थियो। तर उहाँले निजी विमान कम्पनीप्रति रुचि देखाउनु भएकोले हाम्रो इच्छा पूरा भएन। हाम्रो विमानमार्फत प्रधानमन्त्री जानुभएको भए चीनलार्इ उडान अनुमति दिन दबाब पर्थ्यो’ ती अधिकारीले भने।

एनएसीले चीन उडानका लागि चासो राख्नुमा व्यावसायिक कारणसँगै आफ्नो उपस्थितl जनाउनु पनि हो।

‘हामीसँग रहेका दुर्इ छिमेकीसँग एनएसीले उडान गर्नुपर्छ भन्ने मान्यतामा हामी छौँ। यो रुट राम्रो मुनाफाको क्षेत्र पनि हो’ ती अधिकारीले भने, 'त्यो बाहेक धेरै नेपाली व्यापारको सिलसिलामा जाने भएकाले राष्ट्रिय ध्वजावाहकको उपस्थिति रहोस् भन्ने हाम्रो मान्यता हो।‘

 

किन हिमालय एयरलाइन्स?

प्रधानमन्त्री ओली दोस्रो पटक चीन जाँदा पनि हिमालय एयरलाइन्स मार्फत नै जाँदैछन्। पहिलोपटक चीन भ्रमणमा जाँदा प्रुभिङ फ्लाइट नहुँदै ओली हिमालयमा गएका थिए।

हिमालयमा नेपालीका तर्फबाट आङछिरिङ शेर्पाको लगानी छ। शेर्पा यति एयरलाइन्सका समेत सञ्चालक हुन्। हिमालयमा तिब्बेतियन एयरको ४९ प्रतिशत लगानी छ। जुन देशको क्यारिअर हो त्यो मुलुकको कम्पनीको शेयर ५१ प्रतिशत भन्दा बढी रहनुपर्ने प्रावधान छ।

यही प्रावधानका कारण शेर्पाका नाममा कागजी रूपमा ५१ प्रतिशत शेयर छ। तर वास्तविक रूपमा शेर्पाको २५ प्रतिशत मात्रै शेयर रहेको स्रोतले बतायो। चीनकै लगानी भए पनि हिमालयले चीनमा उडान भर्न पाएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell