PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

दक्षिण कोरियासित स्वीडेनको खेलमा भिएआर पेनाल्टी निर्णायक

दक्षिण कोरियासित स्वीडेनको खेलमा भिएआर पेनाल्टी निर्णायक


समूह एफको दक्षिण कोरिया र स्वीडेनबीचको खेलमा ६५ औँ मिनेटमा भिएआर टेक्नोलोजीको मद्धतबाट दिइएको पेनाल्टी निर्णायक रह्यो। 

मध्यान्तरसम्म बिना गोल बराबरी सकिएको खेलमा मध्यान्तर लगत्तै दक्षिण कोरियाले केही आक्रामक मूभ निकालेका थिए। तर स्वीडेनका खेलाडीलाई पेनाल्टी बक्समा लडाउनु दक्षिण कोरियाका लागि दुर्भाग्य बन्न पुग्यो। 

सुरुमा त रेफ्रीले खेल जारी राखेका थिए। तर पछि भिएआरको मद्धत लिएर उनले पेनाल्टीको निर्णय गरे। 

एन्ड्रियास ग्रान्कभिस्ट पेनाल्टीका लागि अघि सरे। उनले शान्तपूर्वक बललाई बटम राइट कर्नरमा हाने जबकि गोलकिपर अर्कोतर्फ डाइभ हाने। स्वीडेनका केही आक्रमणलाई उत्कृष्ट बचाउ गरेका कोरियन गोलकिपरले पेनाल्टी भने रोक्न सकेनन्।  

सन् २००२ मा नाइजेरियाविरुद्ध हेनरिक लार्सनले हानेपछि स्वीडेनले पेनाल्टीमा गरेको यो पहिलो विश्वकप गोल हो। 

यो जितसँगै स्वीडेन समूह एफमा मेक्सिकोसँगै तीन अङ्कका साथ शीर्ष स्थानमा रहन सफल भएको छ भने डिफेन्डिङ च्याम्पियन जर्मनी र कोरिया बिना कुनै अङ्क पुछारमा छन्। 

कोरियाको अर्को खेल मेक्सिकोसित शनिबार हुनेछ भने जर्मनीले स्वीडेनसित पनि शनिबार नै खेल्नेछ। 

हेर्नुस् खेलको हाइलाइट


योसँगै समूह चरणमा दोस्रो एसियाली देश पराजित हुन पुगेको छ। यसअघि साउदी अरेबिया आयोजक राष्ट्र रसियासित उद्घाटन खेलमा ५-०ले पराजित भइसकेको छ। इरानले भने मोरक्कोलाई १-० ले पराजित गरेको छ। विश्वकपमा छनौट भएको अर्को एसियाली राष्ट्र जापानले पहिलो खेल भोलि कोलम्बियासित खेल्दैछ। 


ट्रेन्डिङ पोस्ट

Ncell