PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सुन प्रकरणः थप व्यापारीदेखि कर्मचारीसम्म समितिको लिष्टमा



सविन ढकाल

सुन प्रकरणः थप व्यापारीदेखि कर्मचारीसम्म समितिको लिष्टमा

काठमाडौँ : देशभित्र भइरहेको सुन तस्करी र सनम शाक्य हत्या प्रकरणबारे अनुसन्धान गर्न सरकारबाट गठित विशेष अनुसन्धान टोलीको म्याद थपिएसँगै समिति पुनः सक्रिय भएको छ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले असार मसान्तसम्म म्याद थप गर्ने निर्णय गरेपछि सुन तस्करीमा संलग्न थप व्यक्तिहरुको समितिले लिष्ट तयार पारेको छ। 

लिष्टमा सुन व्यापारीदेखि केही कर्मचारीसमेत रहेका छन्। पहिलोपोस्टसँगको कुराकानीमा समितिका एक सदस्यले भने, 'अनुसन्धानमा थप केही व्यक्तिहरुको संलग्नता देखिएकाले उनीहरुको अनुसन्धान गरिरहेका छौं।'

समितिले सुन तस्करीमा संलग्न हुनेहरुमा सबैभन्दा बढी सुन खरिद गर्ने व्यापारीहरुसमेत रहेको जानकारी दिएको छ। 

एक सदस्यले भने, 'व्यापारीको संलग्नता देखिएको हो। उनीहरुको निगरानी गरिरहेका छौं। प्रमाण भेटिए लगतै पक्राउ गरी अनुसन्धान शुरु गर्छौं।'

‘ठूला माछा’ एमके अग्रवाल  

सुन तस्करीमा संलग्न ठूला माछालाई चाँडै पक्राउ गर्ने गृहमन्त्री थापाले उद्घोष गरे पनि चुडामणि उप्रेती ‘गोरे’ भन्दा माथिका लेयरका मानिस अनुसन्धानको घेरामा आउन सकेका छैनन्। 

समितिले अहिलेसम्म मोहनकुमार एमके अग्रवाललाई नै मुख्य सुन तस्कर भएको भन्दै खोजी गरिरहेको छ। तर उनी फरार नै छन्। 

‘अहिलेसम्म अग्रवाल नै मुख्य व्यक्ति देखिएका छन्। उनको खोजी गरिरहेका छौं,' समितिका संयोजक ईश्वरराज पौडेलले भने।

काठमाडौंमा रहेको अग्रवालको घरमा समितिले जेठ २५ छापा मारी ३० लाख रुपैयाँ नगदसहित सुनचाँदी तथा महत्वपूर्ण कागजपत्रसमेत बरामद गरेको थियो।

गत सोमबार सुन तस्करी प्रकरणमा अभियुक्त रहेका राजेन्द्रकुमार शाक्यको आरके ज्वेलर्समा समेत छापा मारेको थियो। समितिले दरवारमार्ग र न्यूरोडमा रहेको तीनवटा पसलबाट ३० करोड रुपैयाँ बराबरको सुन, चाँदी तथा हिरा लगायतका सामान जफत गरेको थियो।

त्यस्तै सुन तस्करीमा प्रतिवादी चेतन भण्डारीले संचालन गरेको  बाजेको सेकुवा कर्नरमा समेत बुधवार छापा मारेको थियो। बाजेको सेकुवाका आउटलेटहरुमा सिलबन्दी गरिएको छ। 

समितिले पनि गोरेको सम्पतिको अनुसन्धान गर्ने

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले सुन तस्करीमा संलग्न चुडामणि उप्रेती ‘गोरे’ सहित ३ जनाले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्तिको छानविन गरिरहेको छ।
 
सुन तस्करीमा संलग्न अभियुक्तहरु गोरे, भुजुङ गुरुङ र छिरिङ वाङगेललाई सोमबार विभागमा झिकाएर सम्पत्ति छानबिन अनुसन्धान गरेको हो। 

विभागको अनुसन्धानपछि समितिले पनि छुटै अनुसन्धान गर्ने भएको हो। संयोजक पौडेलले भने, 'विभागले अनुसन्धान गरिरहेको छ। हाम्रो तर्फबाट पनि थप अनुसन्धान हुन्छ।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell