PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

हारको जिम्मेवार हामी आफैं, अब पार्टीलाई वैचारिक रुपमा बलियो बनाउनुपर्छ : निधि



नेत्र तामाङ

हारको जिम्मेवार हामी आफैं, अब पार्टीलाई वैचारिक रुपमा बलियो बनाउनुपर्छ : निधि

हेटौंडा : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले निर्वाचनमा कांग्रेसको हारको विषयमा धेरै कुरा उठेको र हारको दोष कसैलाई दिन नमिल्ने बताएका छन्। 

आज मकवानपुरको हेटौंडामा सुरु भएको कांग्रेस जिल्ला सभापतिहरुको भेलालाई सम्बोधन गर्दै आफूसमेत निर्वाचनमा पराजित भएको नेता भएको उल्लेख गर्दै उपसभापति निधिले अब दोष दिएर केही फाइदा नभएको बताए।

'म आफै पनि निर्वाचनमा हारेँ, हारको जिम्मेवार को त? म कसलाई दोष दिउँ?,' निधिले भने, 'त्यसैले हामी आफै जिम्मेवार।'

इतिहासमा कांग्रेसले ठूलाठूला परिवर्तन ल्याए पनि जनतामा वैचारिक रुपले स्पष्ट हुन नसक्दा कमजोर बनेको बताए। त्यसका लागि पार्टीलाई वैचारिक रुपमा बलियो बनाउनुपर्ने निधिको सुझाव थियो। 

कांग्रेसले अब १५ प्रतिशत मत बढाउनुपर्ने भएकाले आजैबाट प्रतिवद्ध भएर नयाँ कांग्रेस बनाउने अभियानमा लाग्नुपर्ने उनको भनाइ थियो। कांग्रेसलाई बलियो बनाउन उनले तीन उपायसमेत बताए। उनले भने, 'कांग्रेस बलियो बनाउन आरोप-प्रत्योपमा लाग्नुहुन्न। निराश हुनुहुँदैन र अवेश र रिसमा आउनुहुँदैन।'

अहिले सरकार र सरकारमा रहेको दल राजनीतिक सिन्डिकेटमा लागेकोले यसको विरुद्धमा कांग्रेस लाग्नुपर्ने निधिले सुझाए।

बहुदल, संघीयता र मिश्रित निर्वाचन प्रणालीसम्म कांग्रेसले ल्याएको उल्लेख गर्दै ती विरुद्धमा कम्युनिस्ट सरकार लागेको आरोप लगाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell