PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

अन्तर्राष्ट्रिय अवस्था जति बदलियोस्, चीन - उत्तर कोरिया सम्बन्ध बदलिँदैन : राष्ट्रपति सी



पहिलोपोस्ट

अन्तर्राष्ट्रिय अवस्था जति बदलियोस्, चीन - उत्तर कोरिया सम्बन्ध बदलिँदैन : राष्ट्रपति सी
फोटो : सिन्ह्वा

बेइजिङ : चिनियाँ राष्ट्रपति तथा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी जिङपिङ र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (डीपीआरके)को वर्कस पार्टीका अध्यक्ष तथा राज्य मामिला परिषदका अध्यक्ष किम जोङ उनबीच भेटवार्ता भएको छ। बुधवार बिहान भएको भेटवार्ताका क्रममा दुवै नेताबीच अहिलेको राजनीतिक विकासक्रम र चीन–उत्तर कोरियाबीचको सम्बन्धका साथै कोरियाली प्रायद्वीपको अवस्थाको वारेमा छलफल भएको चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ। 

भेटवार्ताका क्रममा दुवै नेताहरुले दुवै देशको सम्बन्धलाई रक्षा गर्दै थप विकास र परिस्कृत गर्दै लैजान सहमत भएका छन्। कोरियाली प्रायद्वीपमा शान्ति र स्थायित्वका लागि एकआपसमा साझेदरी गर्दै विश्व र क्षेत्रीय शान्ति, स्थायित्व, समृद्धि र विकासका लागि एक भएर अगाडि बढ्ने सहमति भएको समाचारमा उल्लेख छ। चिनियाँ राष्ट्रपति सीले ‘अध्यक्ष कमरेड’ (किम) र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सिंगापुरमा सम्पन्न शिखर वार्ताले सकरात्मक नतिजा ल्याएकोमा खुशी व्यक्त गर्दै कोरियाली प्रायद्वीप्मा स्थायी शान्ति कायम हुने विश्वास व्यक्त गरेका छन्। 

‘चीनले शिखर सम्मेलनलाई जोड दिएको छ,’ किमको सम्मानमा सीले भने, ‘कमरेड अध्यक्षको चीन भ्रमणले दुई पार्टी र दुई देशबीचको रणनीतिक सम्बन्ध र विशेष महत्त्वलाई प्रष्ट पारेको छ।’ 

पछिल्लो तीन महिनाको अन्तरालमा चिनियाँ राष्ट्रपति सी र उत्तर कोरियाली नेताबीच तीन पटक भेटवार्ता भएको छ।

‘चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) र चिनियाँ सरकार चीन–उत्तर कोरियाली सम्बन्धलाई महत्व राख्दै मैत्रीपूर्ण साझेदारीलाई अगाडि बढाउन चाहन्छ,’ भेटवार्ताका क्रममा सीले भनेका छन्, ‘अन्तर्राष्ट्रिय तथा क्षेत्रीय अवस्थामा परिवर्तन आए पनि सीपीसी र चिनियाँ सरकार उत्तर कोरियासँगको सम्बन्धलाई मजबुद बनाउन चाहन्छ। यसले दुई देशबीचको सम्बन्ध, चिनियाँ जनता र उत्तर कोरियाली जनताबीचको सम्बनधका साथै समाजवादी उत्तर कोरियालाई सहयोग गर्ने चिनियाँ नीतिमा परिवर्तन हुने छैन।’ 

उनले उत्तर कोरियाले पछिल्लो समय आर्थिक निर्माण तथा विकासमा देखाएको परिवर्तनको सीले स्वागत गरे। 
राष्ट्रपति सीले उत्तर कोरियाको आर्थिक विकास, त्यहाँका जनताको जीवनस्तर सुधारका लागि उत्तर कोरियाली राष्ट्रिय स्वार्थ अनुसार विकासको यात्रमा चीनले सधैँ साथ दिने प्रतिवद्धता समेत व्यक्त गरे। 

वार्ताका क्रममा उत्तर कोरियाली नेता किमले चिनियाँ सहयोगका लागि आभार प्रकट गरेका थिए। 

‘दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउनका लागि मैले हाम्रा पार्टीका सबै सदस्य तथा उत्तर कोरियाली जनतालाई महासचिव कमरेड र मेराबीचमा भएको समझदारीलाई कार्यान्वयनका लागि निर्देशन दिने छु,’ किमले भने, ‘उत्तर कोरिया कोरियाली प्रायद्वीपमा स्थायी शान्ति स्थापनाका चीनसँग मिलेर काम गर्न पाउनेमा विश्वस्त छ। कोरियाली प्रायद्वीपमा अनन्त: शान्तिका लागि दुवै देश मिलेर काम गर्ने छौँ।’ 

दुई दिने चीन भ्रमणका लागि मंगलबार चीन आइपुगेका उत्तर कोरियाली नेता किम बुधबार मात्र बेइजिङ आइपुगेका हुन्। उनको सम्मानमा चिनियाँ राष्ट्रपति सीले ग्रेट हल अफ पिपलको नर्थ हलमा सम्मान कार्यक्रम आयोजना गरेका  थिए। भेटवार्तापछि राष्ट्रपति सी र प्रथम महिला पेङ ल्युयानले संयुक्त रुपमा किम र उनकी पत्नी री सोल जुको सम्मानमा दिवाभोज आयोजना गरेका थिए। लगत्तै उनीहरुले त्यहाँ सांस्कृति कार्यक्रम आयोजना गरेका थिए।

भेटवार्ताका क्रममा चिनियाँ प्रधानमन्त्री ली कछ्याङ, उपराष्ट्रपति वाङ किसान पोलिट व्यूरो सदस्य दिङ स्वीसिङलगायतका सदस्यहरु उपस्थित थिए।
 
उत्तर कोरियाबाट नेता किमसँगै वर्कर पार्टीका उपाध्यक्ष चोइ रियोङ हेइ, प्रधानमन्त्री पार्क पोङ जु, वर्कर पार्टीका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय विभागका निर्देशक रि सु योङ, शिक्षामन्त्री पाक थाई सङ, जनसेना मन्त्री नो क्वाङ चोल, परराष्ट्रमन्त्री रि योङ हो लगायत बेइजिङ पुगेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell