PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रिभ्यू : उरुग्वेको नजर अन्तिम १६



पहिलोपोस्ट

प्रिभ्यू : उरुग्वेको नजर अन्तिम १६

रसिया विश्वकप २०१८ अन्तर्गत समूह 'ए'को खेलमा आज राती उरुग्वे र साउदी अरेबिया भिँड्दैछन्। राती ८:४५ बजे रोस्तोभ एरेनामा हुने खेलमा जित हात पार्दै दक्षिण अमेरिकन राष्ट्र उरुग्वे अन्तिम १६ मा पुग्ने दाउमा छ। उता अन्तिम १६ को सम्भावना कायम राख्न साउदीको लागि भने जितको विकल्प छैन।

इजिप्टलार्इ खेलको अन्तिम समयमा १-० ले हराउँदै उरुग्वेले विश्वकपमा आफ्नो दाबेदारी दिँदै गर्दा रसियाले आफ्नै भूमिमा भएको विश्वकपमा हालसम्मकै राम्रो प्रदर्शन गरेको छ। आजको खेलपछि उरुग्वेले रसियाको सामना गर्नुपर्ने हुन्छ। त्यसैले पनि साउदी अरेबियालार्इ पराजित गरी ३ अंक बटुल्दै उरुग्वे विश्वकपको भावी खेलमा तनावमुक्त हुन चाहन्छ। लुइस स्वारेज र इजिप्टविरुद्ध गोल गरेका जोसे जिमिनेजमाथि आज पनि सबैको नजर रहनेछ।

साउदी पहिलो खेलमा रसियासँग ५-० ले पराजित भएको थियो। दोस्रो चरणमा प्रवेश गर्न साउदीले उरुग्वेलार्इ सकेसम्म पराजित गर्नैपर्छ। तर १९३० र १९५० मा दुर्इ पटक विश्वकप जितिसकेको उरुग्वेलार्इ समूह चरणमै रोक्न साउदीले कडा मिहिनेत गर्नुपर्नेछ। पाँचौं पटक विश्वकपमा सहभागी हुँदै गरेको साउदी १९९४ मा एक पटक मात्र राउण्ड अफ १६ मा पुगेको थियो।

२०१० र २०१४ विश्वकपमा छनौट हुन नसकेको साउदीका लागि उरुग्वेलार्इ पराजित गर्नु बाहेक अरु केही उपाय छैन। उरुग्वेसँगको खेलमा केही चमत्कारका लागी मोहम्मद अल-सलवाही, फहाद अल- मुवल्लाद ओसामा हउसावीले प्रभावशाली प्रदर्शन गर्नुपर्नेछ। 

उरुग्वे जित हात पारेमा आयोजक रसियासँगै एक खेल खेल्नुअघि नै अन्तिम १६ मा पुग्नेछ भने इजिप्ट र साउदी अरेबिया बाहिरिनेछ। 

हालसम्म एकअर्का विरुद्ध दुर्इ पटक भएको प्रतिस्पर्धामा उरुग्वे एक खेलमा विजयी भएको छ भने अर्को एक खेल बराबरीमा टुंगिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell