PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

पोर्चुगलका जबरजस्त फ्यान राजेन्द्र खेतान भन्छन् : सेमिफाइनलसम्म त पुग्छ

पोर्चुगलका जबरजस्त फ्यान राजेन्द्र खेतान भन्छन् : सेमिफाइनलसम्म त पुग्छ

बीपी साह/पहिलोपोस्ट


चर्चित व्यवसायी राजेन्द्र खेतान पोर्चुगलका जबरजस्त फ्यान हुन्। पोर्चुगलको फ्यान हुनुको कारण खुला छ - उनी त्यही देशको अवैतनिक वाणिज्यदूतसमेत हुन्। 

खेतानले नेपालमा व्यवसायिक फुटबल खेलका लागि शहीद कप गराउन गराउन सहयोगी भूमिका खेलेका थिए। त्यसैका आधारमा अहिले पनि नेपालमा व्यवसायिक फुटबल हुन सक्नेमा विश्वस्त छन्। 

प्राविधिक विकासले यसपटकको विश्वकप झनै सहज भएको बताउँछन् उनी। भन्छन्, ‘सोसल मिडियाले झनै रोमाञ्चक बनाएको छ।‘ 

विश्वकप कतिको लाग्या छ त यसपाला? 

‘आफूले प्रतिनिधित्व गरेको मुलुक पोर्चुगलले खेल्या छ। साथीहरु पनि फुटबलमा लागेका छन्। बेलुका हुने बित्तिकै माहोल परिवर्तन भइहाल्छ।‘ 

फुटबलमा लगानी

फुटबलमा पहिले लगानी गरेको सुनाउँछन् उनी। ‘हामी हुँदाखेरी सानमिगलबाट त्यत्रो ठूलो अवार्ड राखेर शहीद कप सुरु गरेको हो,’ उनले भने, ‘त्यतिबेला कर्पोरेट सेक्टरबाट पहिलो पटक भएको थियो त्यो।‘

पछि विवादहरुले प्रतियोगिता निरन्तर भएन। चुनावको माहोलले रोकियो। फुटबल संघको विवादले पनि काम गर्यो। ‘अरु टिम त त्यस्तै हो तर जसले आयोजना गर्ने उही ठीक भएन,’ खेतानले भने, ‘त्यसपछि खेतान समूह फुटबल प्रवर्द्धनबाट पछि हट्यो।‘ 

राज्यले नीतिगत रुपमा काम थाल्यो भने फुटबल व्यवसायिक रुपमा अगाडि आउनसक्ने उनको विश्वास छ। ‘क्रिकेटमा त सुरु भइसकेको छ। अब फुटबलमा पनि आउन सक्छ,’ उनले भने, ‘राज्यले लक्ष्य लिएर अगाडि बढ्नु पर्यो। निजी सम्बन्ध, राजनीतिक दबाबका आधारमा खेलाडी छनौट हुनु भएन। खेलाडी तयार भए व्यापारीले आफै लगानी गर्न चाहन्छ।‘

नेपाल पोर्चुगल नाता

धेरै नेपाली भएको युरोपको तेस्रो मुलुक पोर्चुगल हो। खेतानका अनुसार पोर्चुगलमा लगभग २० हजार नेपाली छन्। २० हजार नेपालीले नेपालमा २० लाख नेपालीलाई प्रभाव पार्ने उनको तर्क छ। 

‘पोर्चुगललाई समुद्र र स्पेनले घेरेको छ। बाँकी मुलुकसँग उसको बोर्डर जोडिएको छैन,’ तुलना गर्दै सुनाए, ‘नेपाललाई पनि भारत र चीनले बाहेक अरुले छोएको छैन। पोर्चुगल र हाम्रो संस्कृति पनि मिल्छ। फुटबलप्रतिको क्रेजको रफ्तार र मापदण्ड उस्तै उस्तै लाग्छ मलाई।‘

गएको केही वर्षमका पोर्चुगल भाग्यमानी रहँदै आएको उनको बुझाइ छ। संयुक्त राष्ट्रसंघको महासचिव पोर्चुगलबाटै भए। युरोभिजन भनेर संसारको सबभन्दा ठूलो सांगीतिक प्रतिस्पर्धाको आयोजना पनि यसपाला पोर्चुगलकै हात लाग्यो। पछिल्लो युरोकप पनि पोर्चुगलकै कब्जामा आयो। पछिल्लो म्याचमा रोनाल्डोले ह्याट्रिक गरे। ‘अन्तर्राष्ट्रिय बजारमा सानो मुलुक भए पनि ठूला मुलुकहरुसँग प्रतिस्पर्धा गरेर कतै न कतै आफ्नो क्षमतालाई देखाइरहेको छ,’ खेतानले भने, ‘सानो मुलुक भएपछि त्यसप्रति आस्था जाग्ने, माया जाग्ने हुँदोरहेछ।‘

खेतानको नजरमा संसारकै उत्कृष्ट टिमहरुमा पर्छ पोर्चुगलको राष्ट्रिय टिम। उत्कृष्ट खेलाडीहरुको टीमअप छ। ‘कतैकतै हामीले हिमाल भन्दा, बुद्धको जन्म स्थलभन्दा जानकीको मुलुक भन्दा पशुपतिनाथको मन्दिरको पर्यावाचीका रुपमा नेपाललाई चिनिन्छ,’ उनले सविस्तार लगाए, ‘त्यसैगरी पोर्चुगललाई युरोपमा पनि र बाहिर पनि फुटबल भन्ने बित्तिकै सम्झिहाल्दा रहेछन्। पोर्चुगलको प्रर्यावाची फुटबल हो।‘ 

चस्माले दिएन खेल्न 

स्कुलमा थोरथोरै फुटबल नखेलेका होइनन् उनले। तर उनको चस्माको मोटाइले गर्दा डर थियो – फुट्ने। ‘ग्लास फुटेर आँखामा पर्ला भनेर हजुरबुबाले मलाई खेल्नु दिनु हुन्थेन,’ उनले सुनाए, ‘त्यसकारण स्पोर्टसम्यान भइएन।‘ 

दिनको कति घण्टा फुटबलमा जान्छ त उनको? व्यस्तताका कारण अहिले उनी रिभ्युमै चित्त बुझाउँछन्। ‘सेमिफाइनलबाट भने सबै काम छोडेर गेम हेर्छु,’ उनले भने, ‘पहिले असारतिर बजेट आउँदा क्लोजिङ्ग हुन्थ्यो र व्यस्तता हुन्थ्यो। अहिले बजेट आइसकेको छ त्यसैले म्याच हेर्न सजिलो भएको छ।‘

फ्यान फलोइङको लेखाजोखा

खेतानको अनुमानमा ब्राजिल र अर्जेन्टिनामा ७० प्रतिशत मान्छेहरु विभाजित देखिन्छन्। र, बाँकी अरु मुलुकको पक्षमा छन्। ‘मेरो हकमा मलाई विश्वास छ कि पोर्चुगल सेमिफाइनलसम्म पुग्न सक्छ,’ उनले भने, ‘टप पाँच टीममा पोर्चुगल पर्छ।‘

केही खेलले उनलाई अचम्मित पनि पारेको छ। ‘अहिले हेर्नु न, आइस्ल्यान्डको टीमले अचम्म गर्यो। अर्जेनटिनाले पाएको मौका पनि गुमायो,’ खेतानले भने, ‘एउटा कुरा के देखिन्छ भने सबै टिमले यो चार वर्ष असाध्यै राम्रो तयारी गरेछन्।‘ 

विगतभन्दा यसपाली बढी रोमान्चक भइरहेको विश्लेषण छ खेतानको। ‘गएको चार वर्षमा पहिले सोसल मिडियामा मान्छेको जुन कभरेज थियो त्यो अहिलेको हजारौं गुना बढेको छ,’ थपे, ‘त्यसले सबैतिर असर परेको छ। साँझ खाना खान जाँदा पनि कुन ठाउँमा फुलबल हेराइराखेको छ त्यही ठाउँमा जाँउ भन्ने हुन्छ। त्यो किसिमको एउटा मोबिलाइज गरेको छ।‘

प्रविधिले खेलको रुप फेरेको बताउँछन् उनी। ‘नयाँ प्रविधिले गर्दा स्टेडियममा बसेका मान्छेभन्दा बाहिरका मान्छेले एनालाइसिस छिटो गर्न सक्छन,’ उनले भने, ‘अहिले धेरै परिवर्तन आएको छ। हेर्ने क्वालिटीमा पनि परिवर्तन ल्याएको छ।‘

उनको रोजाइका खेलाडी

खेलाडीहरुलाई फुटबलका भगवान भन्छन् राजेन्द्र। ‘स्पोर्टसम्यानका रुपमा रोनाल्डोको आफ्नै क्रेज छ। फुलबलका मान्छेले दैवको रुपमा लिन्छन्,’ उनले भने, ‘मेसीको रफ्तारलाई पनि मन पराउँछन्।‘ 

यस्ता खेलाडीका कारण खेलप्रतिको सोच फेरिएको लाग्छ उनलाई। ‘पहिले खेललाई वाइह्यात भनिन्थ्यो। तर अहिले रोनाल्डो, मेसीका कारण मान्छेहरुले आफ्ना छोराछोरीलाई गेमप्रति पनि चासो दिन भन्छन्,’ उनले समाजको फेरिएको मानसिकता व्याख्या गरे।


ट्रेन्डिङ पोस्ट

Ncell