PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

रसिया विश्वकपमा रोनाल्डो : २ खेलमा चार गोल, गोल्डेन बुट होडमा अगाडि, अन्तर्राष्ट्रिय फुटबलमा कीर्तिमानी गोल

रसिया विश्वकपमा रोनाल्डो : २ खेलमा चार गोल, गोल्डेन बुट होडमा अगाडि, अन्तर्राष्ट्रिय फुटबलमा कीर्तिमानी गोल

पहिलोपोस्ट /पहिलोपोस्ट


पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोका लागि रसिया विश्वकप २०१८ गोल स्कोरिङको हिसाबले ड्रिम स्टार्ट रुपमा अगाडि बढेको छ। यसअघि ३ पटक विश्वकप खेल्दा ३ गोल मात्र गर्न सफल रोनाल्डोले २१औँ संस्करणको विश्वकपमा २ खेलमै चार गोल गरिसकेका छन्। साथै रोनाल्डोले सुरुमै गोल्डेन बुटको दाबेदारमा समेत अगाडि बढेका छन्।

रसिया विश्वकपमा स्पेन विरुद्धको पहिलो खेलमा ३ गोल गर्दै ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका रोनाल्डोले मोरोक्को विरुद्ध दोस्रो खेलमा निर्णायक गोल गर्दै पोर्चुगललाई जिताए। साथै ३३ वर्षीय रोनाल्डो अन्तर्रष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने युरोपियन खेलाडी समेत बनेका हुन्।

रसियामा ४ गोल गरिसकेका रोनाल्डोले १५२ खेलमा ८५ गोल गरिसकेका छन्। उनले ८९ खेलमा ८४ गोल गरेका हंगेरीका फेरेन्च पुस्कासलाई पछि पारेका हुन्। वर्तमान समयमा सक्रिए रहेका फुटबलरमध्ये सबैभन्दा धेरै गोल गर्ने रोनाल्डो समग्रमा अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्नेमा दोस्रो स्थानमा उक्लेका छन्। अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान भने इरानका अली दाइको नाममा छ। उनले १४९ खेलमा १०९ गोल गरेका थिए।

क्लब फुटबलमा सबैखाले उपाधि जितिसकेका रोनाल्डोले पाँच पटक बालोन डे’अर अवार्ड समेत जितिसकेका छन्। दुई वर्षअघि फ्रान्समा भएको युरोकपमा रोनाल्डोकै कप्तानीमा पोर्चुगलले आयोजकलाई हराएर पहिलो पटक युरोकपको उपाधि जितेको थियो।

अहिलेसम्म विश्वकप जित्न नसकेको पोर्चुगललाई रसिया विश्वकपमा कहाँसम्म अगाडि लैजाने भन्ने विषय धेरै हदसम्म रोनाल्डोमै निर्भर छ। सम्भवत आफ्नो अन्तिम विश्वकप खेलिरहेका रोनाल्डोका लागि यो नै विश्वकप जित्ने उपयुक्त समय हुनेछ।



ट्रेन्डिङ पोस्ट

Ncell