PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

‘दयालु रुख’ मञ्चनसँगै सहरमा नयाँ नाटकघर ‘कौशी थिएटर’



पहिलोपोस्ट

‘दयालु रुख’ मञ्चनसँगै सहरमा नयाँ नाटकघर ‘कौशी थिएटर’

काठमाडौं : कथा भन्ने र सुन्ने उदेश्यका साथ स्थापित कथा घेराले नयाँ नाटकघरको सुरुवात गरेको छ। काठमाडौंको टेकुमा ‘कौशी थिएटर’को वीहीबार उद्घाटन भएको हो। नाट्यकर्मीहरु आकांक्षा कार्की र गुञ्जन दिक्षित संस्थापक रहेका छन्।

आकांक्षाका आमाबुवा अरुणा कार्की र सन्तोष कार्कीले रिबन काटे र तीन महिला नाट्यकर्मी साबित्री मल्ल, अश्मिना रंजित र सरिता गिरीले पानसमा बत्ती बालेर थिएटर उद्घाटन गरेका हुन्। औपचारिक कार्यक्रम अवधिभर सलिल सुवेदीले अस्ट्रेलियन बाजा डेजेरुडो बजाएका थिए।

कार्यक्रममा संस्थापकहरुलाई बधाई तथा धन्यवाद ज्ञापन गर्दै कलाकार सिर्जना सुब्बाले भनिन्,’महिला रङ्गकर्मीहरुले अभिनय, निर्देशन हुँदै यसरी नाटकघक खोल्नमा लिएको नेतृत्वले गर्दा खुशी छु। लाग्दैछ लामो समयदेखि गर्दै आएको मिहेनत र बगाएको पसिनाको काम लाग्दैछ।’ त्यस्तै लुनिभा तुलाधारले गुञ्जन र आकांक्षले क्षमता र सम्भावनाको ढोका खोलेको विश्वास व्यक्त गरिन्। ‘यो उर्दाशिलताले नेपाली रङ्गमञ्चमा महिलाको उपस्थिति अझ बलियो बनाएको छ’, कलाकार दिया मास्केले भनिन्।

उद्घाटन नाटक स्वरुप ‘दयालु रुख’को पहिलो सो मञ्चन समेत भयो। अमेरिकी बाल कथा द गिभिङ ट्रिमा आधारित नाटकको परिकल्पना तथा निर्देशन आकांक्षा कार्कीले गरेकी हुन्। कथामा दिएर नथाक्ने रख र मान्छेको सम्बन्ध देखाइएको छ। नाटकमा इंगिहोपो कोइँच सुनुवार केन्द्रीय पात्रको रुपमा देखिएका छन्। त्यस्तै सुम्निमा साम्पाङ, अर्चना पन्थी, रोशनी स्याङ्बो, प्रयास राई, सलमान खान गुरुङ, आलोक थामी, आयान खड्काको अभिनय रहेको छ।

नाटकमा कविता र गीतहरुसहित सांगीतिक प्रयोग गरिएको छ। नाटक असार २४ गतेसम्म मंगलबार बाहेक हरेक साँझ ५:३० बाट मञ्चन हुनेछ। नाटकको शनिबार दिउसो २ बजे पनि अतिरिक्त सो हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell