PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

एकाएक किन बढ्यो घरजग्गाको कारोबार?



अमर बडुवाल

एकाएक किन बढ्यो घरजग्गाको कारोबार?

काठमाडौं : सरकारले आगामी आर्थिक वर्षबाट १० लाख रुपैयाँ बढीको घरजग्गा कारोबारमा पूँजीगत लाभकर लिने निर्णय गरेपछि घरजग्गा किन्नेको संख्या ह्वात्तै बढेको छ।
 
नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले घोषणा गरेका कार्यक्रम लागु हुने भएपछि यही आर्थिक वर्षभित्रै घरजग्गा जोड्नेको संख्या बढेको हो।

काठमाडौं उपत्यका लगायत देशैभर घरजग्गाको कारोबार अस्वभाविक रुपमा बढेको भूमिसुधार तथा व्यवस्थापन विभागले जनाएको छ।जेठमा कारोबार खासै नहुने हुँदा राजस्व लक्ष्य ९२ करोड रुपैयाँ मात्रै राखिएको थियो।

तर जेठमा एक अर्ब ९५ करोड रुपैयाँ राजस्व संकलन भएको छ। वैशाखको भन्दा जेठमा ३२ करोड रुपैयाँ बढीले राजस्व बढेको छ। वैशाखमा एक अर्ब १० करोड रुपैयाँ राजस्व लक्ष्य रहेकोमा एक अर्ब ६३ करोड रुपैयाँ राजस्व संकलन भएको थियो।‘जेठमा राजस्व संकलन दोब्बर हुनुमा दुईवटा कारण हुनसक्ने अनुमान गरेका छौ।‘ भूमिसुधार तथा व्यवस्थापन विभागका महानिर्देशक मुक्तिप्रसाद आचार्यले बिजमाण्डूलाई भने, ‘पहिलो, सरकारले १० लाख रुपैयाँ बढीको कारोबारमा पूँजीगत लाभकर लिने निर्णय र दोस्रो, स्थानीय सरकारले मूल्याङ्कन बढाउन सक्ने अनुमान।‘
 
सरकारले १० लाख रुपैयाँ बढीको कारोबारमा पूँजीगत लाभकर लिने र स्थानीय निकायले साउनदेखि मूल्याङ्कन बढाउँदा मूल्य थप बढ्ने भएपछि सर्वसाधारण मानिसहरुले अहिलेनै घरजग्गा जोडेका छन्।करका दायरा बढ्ने भएकाले पहिलेनै घरजग्गा पास गरेर किस्तामा तिर्ने सोचले कारोबार बढेको उनले बताए।

भक्तपुर र चावहिलको कारोबार घट्यो

काठमाडौं उपत्यकामा भक्तपुर र चाबहिल मालपोत कार्यालयको राजस्व मात्रै वैशाखको भन्दा जेठमा घटेको छ। अन्य मालपोत कार्यालयको कारोबारमा वृद्धि भएको छ।
 
भक्तपुर मालपोत कार्यालयले वैशाखमा आठ करोड ९५ लाख रुपैयाँ संकलन गरेकोमा जेठमा घटेर सात करोड ८९ लाख रुपैयाँ मात्र संकलन भएको छ।चाबहिल मालपोत कार्यलयले वैशाखमा ११ करोड ६२ लाख रुपैयाँ संकलन गरेकोमा जेठमा ११ करोड ५९ लाख रुपैयाँ मात्र संकलन गरेको छ।

मालपोत कार्यालय डिल्ली बजारले वैशाखमा १२ करोड ६५ लाख रुपैयाँ राजस्व संकलन गरेकोमा जेठमा १४ करोड ५२ लाख रुपैयाँ संकलन भएको छ।ललितपुर मालपोत कार्यालयले वैशाखमा १२ करोड ६५ लाख रुपैयाँ राजस्व संकलन गरेकोमा जेठमा १४ करोड ९५ लाख रुपैयाँ संकलन गरेको छ।
 
त्यसैगरि कलंकी मालपोत कार्यालयले वैशाखमा नौ करोड ८२ लाख रुपैयाँ संकलन गरेकोमा जेठमा ११ करोड ३६ लाख रुपैयाँ संकलन गरेको छ।साँखु, मनमैजु र टोखा मालपोत कार्यलयले वैशाखमा क्रमश दुई करोड ४६ लाख, दुई करोड १९ लाख र तीन करोड ४२ लाख रुपैयाँ संकलन गरेकोमा जेठमा क्रमश तीन करोड ५१ लाख, दुई करोड २३ लाख र तीन करोड ८३ लाख रुपैयाँ राजस्व संकलन गरेका छन्।
 
 

प्रदेश राजधानीमा बुटवल र सुर्खेतको राजस्व घट्यो

प्रदेश राजधानीमा बुटवल र सुर्खेतको राजस्वमा गिरावट आएको छ भने अरु प्रदेश राजधानीको राजस्व बढेको छ।
 
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा वैशाखमा दुई करोड ५१ लाख रुपैयाँ संकलन गरेकोमा जेठमा दुई करोड ३४ लाख रुपैयाँमा सीमित भएको छ। त्यसैगरि प्रदेश ५ को राजधानी बुटवलमा वैशाखमा चार करोड ६० लाख रुपैयाँ संकलन भएकोमा जेठमा चार करोड ५० लाख रुपैयाँ मात्र संकलन भएको छ।
 
अन्य प्रदेश राजधानीमा १ नम्बर प्रदेशको राजधानी विराटनगरमा वैशाखमा चार करोड ५४ लाख रुपैयाँ राजस्व संकलन भएकोमा जेठमा पाँच करोड रुपैयाँ संकलन भएको छ। प्रदेश २ को राजधानी जनकपुरमा वैशाखमा दुई करोड ६४ लाख रुपैयाँ संकलन भएकोमा जेठमा दुई करोड ८८ लाख रुपैयाँ राजस्व संकलन भएको छ।
 
प्रदेश ४ को राजधानी पोखरामा वैशाखमा चार करोड ६० लाख रुपैयाँ संकलन भएकोमा जेठमा पाँच करोड ४५ लाख रुपैयाँ संकलन भएको छ।त्यसैगरि प्रदेश ७ को राजधानी धनगढीमा वैशाखमा दुई करोड ९२ लाख रुपैयाँ राजस्व संकलन गरेकोमा जेठमा तीन करोड ३४ लाख रुपैयाँ राजस्व संकलन भएको छ। 
 
प्रदेश ३ को राजधानी हेटौडमा भने वैशाख र जेठमा समान तीन करोड ६५ लाख रुपैयाँ राजस्व संकलन भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell