PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

नेपालगञ्जबाट दिल्ली उडान गर्न बुद्ध एयरले दियो निवेदन



पहिलोपोस्ट

नेपालगञ्जबाट दिल्ली उडान गर्न बुद्ध एयरले दियो निवेदन

काठमाडौं : नेपालगञ्ज विमानस्थलबाट भारतको नयाँदिल्ली उडान सञ्चालनका लागि बुद्ध एयरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दिएको छ।
 
संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीले नेपालगञ्ज-नयाँ दिल्ली उडान अनुमति माग्नु सकारात्मक रहेको भन्दै, विमानस्थलको स्तरोन्नतिको काम ६ महिनाभित्र सकिने विश्वास दिलाएका छन्।
 
बुद्ध एयरले एटिआर ७२ विमान मार्फत दैनिक विहान ६:३०, दिउँसो १:०० र साँझ ५:१० बजे भारतको नयाँदिल्ली स्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडान अनुमति मागेको हो।
 
मन्त्रालयबाट अनुमति पाएलगत्तै भारतीय विमानपत्तन प्राधिकरणसमक्ष पनि निवेदनका लागि तुरुन्तै प्रक्रिया थाल्ने बुध्द एयरले जनाएको छ।
 
नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतीय विमानपत्तन प्राधिकरणवीच हालै सम्पन्न उडान सहमतिले हवाईमार्ग एल६२६ लाई दुईतर्फि रुटको रुपमा स्थापित गरेको छ। यस सहमतिले टर्बोप्रप एटिआर विमानहरुबाट नेपालगञ्जदेखि भारतको केन्द्रीय राजधानी नयाँदिल्लीको हवाई उडान करिब १ घण्टा १० मिनेटमा भर्न सकिन्छ।
 
नेपालगञ्जबाट सिधा नयाँदिल्ली हवाई उडान सञ्चालनमा आउँदा मध्यपश्चिम एवं सुदुरपश्चिमको आर्थिक सम्वृद्धिका साथै, पर्यटन उद्योग एवं त्यस क्षेत्रको व्यापार व्यवसायको पनि प्रवद्र्धन हुनेछ।
 
यसले बर्दिया तथा शुक्लाफाँटा आरक्ष, प्रदेश ६ को रारा ताल, प्युठान जिल्लाको स्वर्गद्वारी तथा डोटी, अछाम, बझाङ र बाजुराको संगमस्थलमा रहेको रमणिय खप्तडलगयातका क्षेत्रहरुको प्रवर्धन हुनेछ। यससँगै प्रदेश ६ को सिमिकोटलाई चीनको कैलाश मानसरोवर यात्राका लागि केन्द्र बनाउन सकिने बुध्द एयरले जनाएको छ।
 
अन्तर्राष्ट्रिय उडानतर्फ बुद्ध एयर अहिले एटिआर जहाजबाट भारतको वाराणसी उडान भर्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell