PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सक्कली नगदमा नक्कली सुन : ठगी र लुटको विगविगी



सविन ढकाल

सक्कली नगदमा नक्कली सुन : ठगी र लुटको विगविगी

काठमाडौं : विगत ३ महिनादेखि हराएको ३३ किलो सुन प्रकरणले तातेको माहोल अझै सेलाएको छैन। सरकारले सुन तस्करी र सनम शाक्यको हत्या अनुसन्धान गर्न गठित विशेष छानविन समितिले दिनहुँ जसो तस्करीमा संलग्न भएको आशंकामा पक्राउ गरिरहेको छ।

राजधानीमा अहिले सक्कली सुनमा मात्र लुटमात्र होइन, नक्कलीमा पनि बढेको छ। यसको ज्वलन्त उदाहरण बने बिहीवार प्रहरी इन्काउन्टरमा परेका ‘लुटेरा’ अमर तामाङ।

बौद्धस्थित जम्बु डाँडामा लुटेरा तामाङलाई नियन्त्रण लिन प्रहरीले दुई राउन्ड गोली चलाएको थियो। गत जेठ २४ र २८ गते तामाङ राजधानीका विभिन्न स्थानमा पेस्तोल देखाई रकम लुटेर फरार भएका थिए।

सस्तोमा सुन बेच्ने भन्दै एकान्त स्थान वा जंगलमा बोलाइ पेस्तोल देखाएर उनले लुट्ने गरेको प्रहरीको दावी छ। प्रहरीको गोली लागि घाइते भएको तामाङको झोलाबाट प्रहरीले १ किलो सुनसमेत बरामद गरेको छ।

तामाङको साथमा भएको सुन भने सक्कली थिएन। तामाङले नक्कली सुन बोकेर सस्तोमा बिक्री गर्ने प्रलोभन देखाइ ठगीधन्दा गरेको  महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी नरेन्द्र उप्रेतीले बताए। ‘तामाङले यसरी नै विगत लामो समयदेखि नक्कली सुनमा ठगी धन्दा गर्दै आएको देखिन्छ,' उनले भने।

 

नक्कली सुनको धन्दा १

गत वैशाख २८ गते महाशाखाबाट खटिएको टोलीले रामेछापका २५ वर्षीय दीपेन्द्र बराइली र सिन्धुपाल्चोकका २७ वर्षीय रमेश बैजुलाई पक्राउ गर्‍यो। उनीहरू पक्राउ पर्नुको एउटै कारण थियो- नक्कली सुन ठगी।

उनीहरूले सात किलो सुन ८० लाख रुपैयाँ दिने भन्दै एक व्यक्तिलाई ठगी गर्ने योजना बनाएका थिए। जबकि सक्कली सात किलो सुनको बजार मूल्य ३ करोड भन्दा बढी हुन आउँछ।

उनीहरूबाट ललितपुर महानगरपालिका वडा नम्बर २८ हरिसिद्धीस्थित बिकेएम खाजाघरबाट नक्कली सुनको सात थान बिस्कुट प्रहरीले बरामद गरेको थियो। एसपी उप्रेती भन्छन्, 'सस्तोमा नै सुन पाइने भएपछि केही व्यक्ति ठूलो नाफाको लोभमा परी सुन किन्छन् र पछि ठगी भएको थाहा पाउँछन्।'

 

नक्कली सुनको धन्दा २

करिब ४५ लाख रुपैयाँभन्दा बढी मूल्य पर्ने १ किलो सुन २८ लाखमा किन्न पाइने भएपछि राजेन्द्र थापाले अरु केही सोचेनन्।

भक्तपुरका अजय तामाङ र राजेन्द्रबीच सुन किन्ने कुरा भएको थियो। झन्डै १५ लाख रुपैयाँ फाइदा हुने भएपछि राजेन्द्रमा लोभ पलायो। उनी तयार भए।

अजयले चिनेको साथी विष्णु मोक्तान र कर्णधार लिम्बुले सुन बेच्ने बताएका थिए। किन्ने मनस्थिति बनाएपछि गत पुस २३ गते सुन किन्न भन्दै राजेन्द्र र अजय स्वयम्भूतिर लागे।

सेतो गुम्बा जाने बाटोमा पुगेर राजेन्द्रले २८ लाख ६० हजार बुझाउँदै सुन लिए।

जब, राजेन्द्र सुन बेच्न पसल पुगे त्यो त नक्कली भएको पत्तो लाग्यो। राजेन्द्रले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिए। गत वैशाख ६ गते प्रहरीले उनीहरूलाई पक्राउ गर्‍यो।

परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले नक्कली सुन देखाएर ठगी गर्ने गिरोह नै सक्रिय भएको बताउँछन्। ‘ठगिने व्यक्तिले पनि अवैध रूपमा सुन किन्न गएकाले आफू पनि प्रहरीको कारबाहीमा पर्ने आशंकमा उजुरी गर्न आउने क्रम कम हुने गरेको छ,' उनले बताए।

 

नक्कली सुनमा सक्कली लुटको ड्रामा

गत जेठ १० गते पनि गोगंबुबाट पोखरा जान लागेका ओमनाथ देवकोटाको साथबाट एक किलो सुन लुटियो। पछि अनुसन्धान गर्दै जाँदा उनको साथबाट लुटेराले लुटेको सुन समेत नक्कली भएको खुल्यो। देवकोटाले सुन १० लाख रुपैयाँमा नगद बुझाएर किनेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell