PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

मिस नेवा रिजुको जर्मनी मोह, भन्छिन् : फरक टिम भएकाले भाइसँग खेल हेर्दा झगडा पर्छ

मिस नेवा रिजुको जर्मनी मोह, भन्छिन् : फरक टिम भएकाले भाइसँग खेल हेर्दा झगडा पर्छ

पहिलोपोस्ट /पहिलोपोस्ट


देश विदेश सबैलाई तानेको विश्वकपले मिस नेवा रिजु मानन्धरलाई नछुने त कुरै रहेन। उनी जर्मनीको समर्थक हुन्।

सानोमा उनका बुबाले उनलाई जर्मनीको र भाइलाई अर्जेन्टिना जर्सी ल्याएर लगाइदिएको याद छ उनलाई। 'त्यही बेलादेखि म जर्मनीको समर्थनमा। अहिलेसम्म जर्मनी नै आफ्नो टिम जस्तो लाग्छ,' उनले भनिन्। उनका भाइले भने टिम चेन्ज गरिसके। उनी अहिले बेल्जियमका समर्थक हुन्। भन्छिन्, 'फरक टिम सपोर्ट गर्नाले जहिले पनि झगडा पर्छ।'

रसियामा भइरहेको विश्वकप फुटबलको एउटै गेम हेर्न नछुटाएको बताउँछिन् उनी। हरेक पटक हेर्दा एउटै टोलीको समर्थनमा पनि बस्छन् रिजुको दिदी भाइ। सहमतिमै। 'तर जर्मनीले चाहिँ कुनै पनि म्याच जित्न हुँदैन भन्छ। अनि पो रिस उठ्छ त,' उनले सुनाइन्। तर, त्यो रिस लामो समय रहँदैन। किनकि अर्को खेल फेरि सँगै बसेर हेर्नुपर्छ।

जर्मनीका लागि मिड फिल्डर ओजिल उनको मनपर्ने खेलाडी हुन्। मेक्सिकोसँग जर्मनीको पहिलो म्याचमा भने उनी मेक्सिकोका गोल किपरलाई हेरेको हेर्‍यै भएको बताउँछिन्।

विश्वकपलाई फ्रेसमेन्ट र एकअर्कासँगको कुराकानीको राम्रो अवसर मान्छिन् उनी। 'फुटबलले जोड्छ जस्तो लाग्छ। एउटै टिमको समर्थक झन् आफ्नै मान्छे जस्तो महसुस गराउँछ,' उनले भनिन्। कतिपटक त बाटोमा जर्मनीको जर्सी लगाएको कोही देख्दा मुस्कुराएको सुनाउँछिन् उनी।

अन्य लिगहरु फलो नगरे पनि विश्वकपले रिजुलाई मजाले छुन्छ। परिवार, टोल, साथी सर्कलमा बन्ने फुटबलको माहोलले दैनिक जीवन र पढाइको प्रेसरलाई पर राख्ने उनको अनुभव छ।

फुटबल र खेलाडीकै कारण सामाजिक सञ्जालमा हुने विवाद देखेर भने वाक्क छिन्। 'ट्रोल वा जोकहरु पनि अलि संयमित भएर बनाए त हुने हो। तर, त्यस्तो नभएको देख्दा वर्ल्डकपले पारेको नकारात्मक प्रभाव बारे पनि सोच्न बाध्य भइन्छ,' उनले भनिन्

मिस नेवा हुनुले आफूमा जिम्मेवारी थपेको उनी बताउँछिन्। त्यसैले आफूले आफ्नो समुदायका युवाम स्पोर्ट कल्चरको विकास गर्न योगदान पुर्याउन काम गर्ने उनको योजना छ। 'म्याचहरु हेर्दै गर्दा फुटबलले टिमवर्क र अनुशासन सिकाउँछ जस्तो लाग्छ। त्यसैले अब यो खेलसँग धेरैलाई जोड्न चाहन्छु।'



ट्रेन्डिङ पोस्ट

Ncell