PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

चीनमा छ दिन प्रधानमन्त्री ओली, भ्रमणको उपलब्धि के?



विधुर ढकाल

चीनमा छ दिन प्रधानमन्त्री ओली, भ्रमणको उपलब्धि के?

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली चीनको ६ दिने औपचारिक भ्रमण पूरा गरेर फर्किएका छन्। ११९ सदस्यीय जम्बो प्रतिनिधि मण्डलको नेतृत्व गर्दै असार ५ गते बेइजिङ पुगेका प्रधानमन्त्री ल्हासा हुँदै स्वदेश फर्किएका हुन्। 

प्रधानमन्त्री ओलीले त्रिभुवन विमानस्थलमा ओर्लिएपछि पत्रकार सम्मेलनमा भ्रमण सोचेभन्दा उपलब्धिपूर्ण भएको प्रतिक्रिया दिए। ‘मैले जानु अगाडि यहाँहरुलाई विभिन्न माध्यमबाट भनेको थिए। त्यसभन्दा बढी उपलब्धि भएको मैले महसुस गरेको छु।’ 

चीनमा पाँच दिन के - के गरे ओलीले?

असार ५ गते बेइजिङ पुगेका प्रधानमन्त्री ओलीले सोही दिन नेपाली दुतावासमा आयोजित रात्रीभोजमा सरिक भए। त्यहाँ उनले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्नका लागि आह्वान गरे। 

चीनमा रहँदा प्रधानमन्त्री ओलीले त्यहाँका राष्ट्रपति सी जिङपिङसँग शिष्टाचार भेट गरे। त्यस्तै समकक्षी प्रधानमन्त्री ली खछ्याङसँग प्रतिनिधिमण्डल स्तरमा वार्ता गरेका ओलीले चिनियाँ राष्ट्रिय जन कंग्रेसका स्थायी समिति अध्यक्ष ली झान्सुसँग समेत भेट गरेका थिए। 
त्यस्तै चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामा तिब्बत जनसरकारका प्रमुख अध्यक्ष छि तालासँग पनि भेटवार्ता गरे। 

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले ल्हासास्थित नेपाली महावाणिज्य दूतावासको भ्रमण गरी त्यहाँ रहेका नेपाली समूदायसँग अन्तरक्रिया गरेका थिए। 

वेइजिङमा नेपाली राजदूतावास र चाइना काउन्सिल फर दी प्रोमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी)ले आयोजना गरेको चाइना नेपाल विजनेश फोरममा समेत सम्बोधन गरे। 

चीनमा नेपालको पर्यटन प्रर्वद्धनका लागि बेईजिङ खेलकूद विश्वविद्यालयमा आयोजित नेपाल चाइना फ्रेन्डसिप रनको उदघाटन गरे। 
चाइनिज एकेडेमी अफ गभर्नेन्सले आयोजना गरेको कार्यक्रमलाई समेत प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका थिए। बेइजिङमा एसियन पूर्वाधार लगानी बैंकका अध्यक्षले प्रधानमन्त्री ओलीसँग भेट गरेका थिए। 

भ्रमणका उपलब्धि के ?

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमणले नेपाल चीनबिचको मित्रता र सद्भावमा थप अभिवृद्धि गरेको प्रतिक्रिया समेत दिएका छन्। ‘मेरो भ्रमणको एजेण्डा दुई देशबिच विगतमा सम्पन्न भएका सम्झौता समझदारीहरुको कार्यान्वयनको प्रक्रिया र ढाँचा तयार गर्ने, ऐतिहासिक निर्वाचन पश्चात् गठन भएको वर्तमान सरकारका आगामी प्राथमिकताका बारेमा चिनियाँ नेतृत्वलाई अवगत गराउने तथा राष्ट्रिय एजेण्डाको रुपमा रहेको आर्थिक समृद्धि हासिल गर्नका लागि चिनियाँ सरकारसँग विभिन्न क्षेत्रहरुमा सहयोग तथा सहकार्य गर्नु रहेको थियो,’ त्रिभुवन विमानस्थलमा प्रधानमन्त्रीको तर्फबाट वितरित प्रेस वक्तव्यमा भनिएको छ। 

उनले यस दृष्टिमा हेर्दा भ्रमण आफूले भने भन्दा बढी उपलब्धिपूर्ण भएको दाबी गरे। 

भ्रमणका क्रममा भएका छलफलहरुमा राजनीतिक स्थायित्व, सामाजिक सद्भाव तथा आर्थिक विकाससँगै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभियान सफल हुने विश्वास व्यक्त गर्दै सो अभियानमा चीनको सक्दो सहयोग गर्ने चिनियाँ नेताहरुले विश्वास दिलाएको उनले जानकारी दिए।

‘सन् २०१६ मा मेरो चीन भ्रमणको अवसरमा सम्पन्न सम्झौता एवं समझदारीहरु लगायत सबै सम्झौता एवं समझदारीहरुको प्रभावकारी कार्यान्वयन गर्न दुबै पक्ष सहमत भएका छन्,’ प्रधानमन्त्री ओलीको भ्रमणका विषयमा जारी प्रेस वक्तव्यमा भनिएको छ, ‘नेपाल र चीन बिच सम्पन्न ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ सम्बन्धी समझदारीको कार्यान्वयनमा तीब्रता दिन दुबै पक्षले हिमालय वार पार बहुआयामिक सम्पर्क सन्जाल को बृहत्तर फ्रेमवर्क भित्र रही रेल्वे, सडक, बन्दरगाह, हवाई मार्ग र संचार जस्ता क्षेत्रमा सहयोग अगाडि बढाउने कुरामा दुबै पक्षबीच सहमति भएको छ।’

भ्रमणका क्रममा भएका सम्झौताले नेपाल–चीनबिच विद्यमान आर्थिक सहयोगको दायरालाई अझ फराकिलो बनाउन मद्दत पुग्ने प्रधानमन्त्री ओलीले बताए। 

ट्रान्स हिमालय कनेक्टिभिटीमा उपलब्धि

भ्रमणका क्रममा दुई देशबिच सम्पन्न रेल्वे कनेक्टिभिटि सहयोग सम्बन्धी समझदारी भएको छ। ‘यसको कार्यान्वयनबाट केरुङ–रसुवागढी–काठमाडौं रेलमार्ग विकासको लागि चिनियाँ अनुदानमा पूर्व सम्भाव्यता अध्ययन शीघ्र सम्पन्न भई सहयोग सम्बन्धी कारवाही अगाडि बढ्ने छ,’ वक्तव्यमा भनिएको छ, ‘यसबाट काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग निर्माणका लागि पनि आधार तयार हुनेछ।’

प्रधानमन्त्री ओलीले यो सम्झौतालाई द्विपक्षीय सहयोगको इतिहासमा सबैभन्दा महत्वपूर्ण समझदारीको संज्ञा दिएका छन्। उनले यसले सीमा वारपार यातायात संजाल सम्बन्धी सहयोगको क्षेत्रमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरे। 

दुई देशबीच स्थल तथा हवाई सम्पर्कको विस्तार गर्न, स्थल यातायातका पूर्वाधार सुदृढ गर्न एवं उत्तर दक्षिण जोड्ने यातायात सन्जाललाई थप सुदृढ बनाउन दुबै देश सहमत भएको उनले जानकारी दिए। 

कोशी आर्थिक कोरिडोर,  गण्डकी आर्थिक कोरिडोर तथा कर्णाली आर्थिक कोरिडोर विकासको लागि सम्भाव्य सहयोग उपलब्ध गराउनेबारे थप अध्ययन गर्ने सहमति भएको उनले बताए। 

दुबै देशका एयरलाइन्स कम्पनीहरुलाई सीधा हवाई सम्पर्क बिस्तारका लागि समेत दुबै देश सहमत भएका छन्।  

सीमावारपार प्रसारण लाइन निर्माणका विषयमा समेत सहमति भएको छ। केरुङ–रसुवागढी–गल्छी–रातमाटे ४०० केभी प्रशारण लाइनको संभाव्यता अध्ययन गर्ने सम्बन्धी सम्झौतामा नेपाल विद्युत प्राधिकरण र चिनियाँ स्टेट ग्रिड कर्पोरेसनबिच हस्ताक्षर भएको छ।

नेपाल र चीनबिच सम्पन्न पारवहन यातायात सम्झौताको शीघ्र कार्यान्वयनको लागि आवश्यक पर्ने प्रोटोकललाई जुलाईमा बैठक बसी टुंग्याउने सहमति भएको उनले बताए। तातोपानी खासा नाका सन् २०१९ को मे महिनासम्ममा खुला गर्ने सहमति भएको समेत उनले जानकारी दिए। 

आपसी सहमतिमा थप व्यापारिक नाका खोल्न दुवै मुलुक सहमत भएको वक्तव्यमा उल्लेख छ।

त्यसैगरी रसुवागढी–केरुङ नाकालाई व्यबस्थित रुपमा संचालन गर्न, स्याफ्रुबेसी रसुवागढी सडक सुधार गर्न तथा हिल्सामा पुल निर्माण यथाशीघ्र सम्पन्न गर्न दुवै देशहरु सहमत भएका छन्।

चीन नेपालमा तेल तथा ग्यासको अन्वेषणको संभाव्यता अध्ययनका लागि सहयोग उपलब्ध गराउन सहमत भएको उनले वक्तव्यमा जनाइएको छ। त्यस्तै पेट्रोलियम पदार्थको भण्डारणका लागि आवश्यक पूर्वाधार निर्माणका लागि चिनियाँ पक्षले अध्ययन गरी सहयोग गर्ने जनाएको छ। 

पोष्ट हार्भेष्ट टेक्नोलोजी भित्र्याउन चीनले सहयोग गर्ने

चीन नेपाली कृषि उत्पादनका लागि पोष्ट हार्भेष्ट टेक्नोलोजिमा आर्थिक तथा प्राविधिक सहायता उलब्ध गराउन समेत सहमत भएको छ। 

‘चीनमा नेपाली वस्तुहरुको निर्यात सहजीकरणका लागि सकारात्मक उपायहरु अवलम्वन गर्न, निर्यातयोग्य नेपाली वस्तुहरुको विकास तथा कृषिजन्य उत्पादनको लागि पोष्ट हार्भेस्ट टेक्नोलोजीमा आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउन चिनियाँ पक्ष सहमत भएको छ,’ वक्तव्यमा भनिएको छ।

दुई मुलुकबीचको आर्थिक कारोबार बैंकिङ माध्यमबाट गर्न तथा नेपालमा सम्पूर्ण सुविधायुक्त क्वारेन्टाईन प्रयोगशाला निर्माणका लागि प्राविधिक सहयोग उपलब्ध गराउन चिनियाँ पक्ष सहमत भएको प्रधानमन्त्री ओलीले जानकारी दिए। 

छेन्दुमा महावाणिज्य दुतावास खोलिने

प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा छेन्दुमा नेपाली महावाणिज्य दुतावास स्थापना गर्ने विषयमा समेत छलफल भएको छ। नेपालको सो प्रस्तावलाई चीन सरकारले सकरात्मक प्रतिक्रिया दिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। 

त्यस्तै नेपाल भ्रमण वर्ष २०२०लाई सफल बनाउन चीन सरकारले नेपालको पर्यटन प्रर्वद्धनमा समेत सहयोग गर्ने भएको छ। 

दुबै देशको सुविधामा राष्ट्रपति नेपाल आउने

यसैबीच चिनियाँ राष्ट्रपति सी जिङपिङले छिट्टै नेपाल भ्रमण गर्ने समेत प्रधानमन्त्री ओलीले जानकारी दिए। ‘उच्चस्तरीय भ्रमणको आदान प्रदानमार्फत् दुबै देशबीच विद्यमान सम्वन्धलाई विस्तार एवं थप मजवुत बनाउन दुबै देश सहमत भएका छन्,’ वक्तव्यमा भनिएको छ, ‘मैले सम्माननीय राष्ट्रपतिका तर्फबाट महामहिम चिनियाँ राष्ट्रपति र मेरा तर्फबाट महामहिम चिनियाँ प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्ता दिएको छु। चीनको उच्च राजनीतिक नेतृत्वबाट चाँडै नै नेपालको भ्रमण हुने अपेक्षा राखेको छु।’ 

यी हुन् दुई देशबीच भएका सम्झौता तथा समझदारीहरु

•    उर्जा सहयोग सम्बन्धी समझदारीपत्र
•    मितेरी पुल पुर्ननिर्माण सम्बन्धी सम्झौता 
•    रसुवा पुल पुनर्निर्माण सम्बन्धी सम्झौता
•    मालसामान ढुवानीका लागि नेपालले चीनको तिब्बती राजमार्ग उपयोग गर्ने सम्बन्धी प्रोटोकल
•    लगानी तथा उत्पादन क्षमतामा सहयोग सम्बन्धी समझदारीपत्र
•    नेपाल–चीन सहयोग अन्तर्गतका कार्यक्रम र परियोजनाको कार्यान्वयन सहजीकरणका लागि संयन्त्र स्थापना गर्ने सम्बन्धी दुई देशका परराष्ट्र मन्त्रालयहरुबीचको समझदारीपत्र
•    नेपाल र चीनका परराष्ट्र मन्त्रालयहरुबिच सहयोग सुदृढीकरण सम्बन्धी समझदारीपत्र
•    मानव संशाधन सहयोग सम्बन्धी समझदारीपत्र
•    आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी सम्झौता (जस अन्तर्गत नेपाललाई पुनर्निर्माणको लागि चीन सरकारले तीन अरब चिनियाँ युआन सहयोग गर्ने पूर्व घोषित प्रतिबद्धता अनुरुप बाँकी एक अरब युआन सहयोग प्राप्त हुने।)
•    नुवाकोट दरबार पूनर्निर्माण सम्बन्धी पत्रको आदान प्रदान
•    रसुवामा विद्यालय पूनर्निर्माण सम्बन्धी पत्रको आदान प्रदान
•    दोलखामा विद्यालय पूनर्निर्माण सम्बन्धी पत्रको आदान प्रदान
•    सिन्धुपाल्चोकमा विद्यालय पूनर्निर्माण सम्बन्धी पत्रको आदान प्रदान
•    पूर्वी तराइ नदी नियन्त्रण आयोजना अन्तर्गत झापा जिल्लाका विभिन्न ९ वटा नदी नियन्त्रण सम्बन्धी समझदारीपत्र

यसैबीच प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनका निजी तथा सार्वजनिक क्षेत्रका व्यवसायीहरुबीच ९ वटा जलविद्युत तथा उत्पादनका क्षेत्रमा सम्झौताहरु समेत भएका छन्। 

भ्रमण सफल हुनुको पछाडि जादुको छडी के?

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको इमान्दारिताले भ्रमणहरु उपलव्धिमुलक भएको दाबी गरे। ‘नेपालीहरु इमान्दार छन्। विश्वासीला छन्। हाम्रो जादु नै यही हो,’ पत्रकार सम्मेलनका क्रममा पत्रकारले सोधेको प्रश्नमा उनले भने, ‘हाम्रो शक्ति भनेको इमान्दारिता हो।’

विश्वमा ठूला सैन्य क्षमता भएका देशहरु समेत नेपाली सेनासँग डराउने बताए। ‘हामीसँग ठूलो सेना छैन। ठूलो सैन्य शक्ति भएका देशहरु पनि गोरखाली देखि डराउँछन्,’ उनले भने, ‘हाम्रो सेनालाई कसैले जित्न सक्दैनन् भन्ने ट्रम्प र किमलाई पनि गोरखालीको सुरक्षा चाहियो। हाम्रो जादु भनेको नै यही हो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell