PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

रामदेवको कम्पनी बाहिरिएपछि उपेन्द्र महतोको ग्रामउद्योग सक्रिय, ४ उत्पादन बजारमा



राधेश्याम पटेल

रामदेवको कम्पनी बाहिरिएपछि उपेन्द्र महतोको ग्रामउद्योग सक्रिय, ४ उत्पादन बजारमा

वीरगंज : भारतीय चर्चित योग गुरु तथा व्यवसायी रामदेव बाबाको कम्पनी पतञ्जतिको बहिगर्मनसँगै नेपाल ग्रामोद्योग प्रसौनी बाराले आफ्नो उत्पादन सुरु गरेको छ। गैरअवासीय नेपाली संघका संस्थापक अध्यक्ष डाक्टर उपेन्द्र महतोको लगानी रहेको उद्योगले एक सातादेखि चार वटा सामग्री उत्पादन गरी बजारमा ल्याएको हो। 
  
‘ग्रामोद्योगले हाल चार वटा समान बनाइरहेको छ, चाँडै अन्य थुप्रै उत्पादनहरु बजारमा ल्याउने लक्ष्य राखेका छौं,’ कम्पनीका प्रशासकीय अधिकृत सीताशरण कण्ठले भने। कम्पनीले अहिले तोरीको तेल, बासमती चामल, च्युरा र ११ प्रकारका अचार उत्पादन गरी बजारमा बिक्री बितरणको लागि पठाएको उनले जानकारी दिए।
 
चाँडै नै खद्यान्न, सौन्दर्य र पेय पदार्थ बजारमा पुर्यािउने कम्पनीले लक्ष्य राखेको छ। प्रसौनी गाउँपालिका–२ (वीरगंज–कलैया सडकखण्डमा) मा बन्द भएको अन्नपूर्ण टेक्सटाइल्सको करिब साढे ५ विघा जग्गामा फैलिएको यो उद्योगले २ सय ५० जना मजदुरलाई रोजगारी दिएको छ। 
 
चार वर्षदेखि निर्माण कार्य सुरु गरी २ वर्षअघि उद्योग सञ्चालनमा आएको थियो। २५ करोडको लागतमा सुरु गरिएको उद्योगको उद्घाटन योग गुरु रामदेवको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन्। 
 
उद्घाटनका समयमा २५ करोडको उद्योगलाई योग गुरु रामदेवले ५ सय करोडको बनाउने घोषणा गरेका थिए। तर, नेपाली लगानीकर्ता र भारतीय कम्पनी पतञ्जलीबीच सेयर बाँडफाँडमा सहमति नहुँदा एक वर्षदेखि विवाद चुलिएको थियो। 
 
पतञ्जली ब्रान्डले ९० प्रतिशत सेयर आफूले लिने र यहाँको उद्योगीलाई १० प्रतिशत दिने प्रयास गरेको थियो। उद्योगको ब्रान्ड र सञ्चालनको विषयमा विवाद हुँदा पतञ्जली लगानीबाट पछाडि हट्दै आफ्नो ब्रान्ड फिर्ता लगेको हो। 
 
तर, गत वर्ष उत्पादन भएको सामान हाल पनि केही हप्ता बजारमा बिक्री भइरहेको ग्रामोद्योगले जनाएको छ। अहिले पतञ्जलीकै बोर्ड छ ग्रामोद्योगमा। चाँडै यसलाई हटाएर ग्रामोउद्योगको नामबाट कम्पनी सञ्चालन गर्ने तयारी भइरहेको छ। 
 
पतञ्जली भारतले उद्योगमा लगानी गर्ने मनसाय सहित राकेश शर्मालाई कम्पनीको अध्यक्ष बनाएर पठाएको थियो। तर, उनी बारा अएसँगै नेपाली श्रम ऐनलाई नमान्ने र बिना कुनै कारण मजदुरहरुलाई कामबाट हटाउँदा मजदुर विद्रोहमा उत्रिएका थिए। त्यसपछि भारतीय पक्ष असन्तुष्ट बनेको थियो। 
 
भारतीय पक्षले सेयरभन्दा सुरक्षाको प्रत्याभूति नेपालमा खोजेको थियो। त्यो नभेटिएका कारण पनि पतञ्जली बाहिरिएको स्रोतहरुको दावी छ। 
 
स्रोतका अनुसार, नेपाल ग्रामोद्योगले भारतीय कम्पनी हमदर्दसँग टाइ-अप गरी व्यापार गर्ने तयारी गरिरहेको छ। पतञ्जली गएपछि उसलाई टक्कर दिन यो उद्योगले हमदर्दको प्रडक्ट्सलाई नेपाली बजारमा बिक्री बितरण तथा उत्पादनको लागि योजना अघि सारेको हो।
 

नौं अर्बको हल्ला

उपेन्द्र महतोसँग खटपट भएपछि नेपाली बजारलाई मध्यनजर गर्दै पतञ्जली भारतले भैरहवामा ९ अर्बको उद्योग लगाउने तयारी गरिरहेको चर्चासमेत छ। वीरगंजका एक उद्योगीका अनुसार, पतञ्जली भारतले भैरहवामा साझेदार खोजिरहेको छ। कतिपय व्यवसायीले भैरहवाको एसआर फुड्ससँग पतञ्जली भारतले टाइ-अप गर्ने तयारीमा रहेको बताएका छन्। 
 
एसआर फुड्सले पहिलेदेखि पतञ्जली ब्रान्डको आँटा, मैदा र सुजी उत्पादन गर्दै आएको छ। रुपन्देहीको ओमसतियामा सञ्चालित उद्योगलाई बिस्तार गरी उत्पादन थाल्ने अनुमान गरिएको छ। 
 
एसआर फुड्सका निर्देशक सुमन भुषालले भने पतञ्जलीसँग मिलेर भैरहवामा उद्योग लगाउने कुनै प्रकारको सहमति वा तयारी नभएको दावी गरे। ‘यस बारेमा मलाई केही जानकारी छैन्, जसले भन्यो उसैलाई सोध्नुस्,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell