PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

देश धनी नभइकन विश्वकप सपना देख्नु 'नेपालमा पानी जहाज चलाउँछौं’ भनेजस्तो हो : डाक्टर रामेश

देश धनी नभइकन विश्वकप सपना देख्नु 'नेपालमा पानी जहाज चलाउँछौं’ भनेजस्तो हो : डाक्टर रामेश

सागर बुढाथोकी/पहिलोपोस्ट


'हर्ट सर्जरी' भन्ने बित्तिकै अधिकांशको दिमागमा आउने एउटा नाम हो, डाक्टर रामेश कोइराला। कुख्यात 'बिकिनी किलर' चार्ल्स शोभराजदेखि सामान्य नागरिकको 'सर्जरी' गरेका कोइराला सन्तदेखि सैतानसम्मको मुटु उस्तै हुने विश्वास गर्छन्। सधै 'लाइमलाइट'मा छाइरहने चिकित्सकसमेत हुन् उनी।
 

चिकित्सा क्षेत्र होस या राजनीति, समाज होस् या खेल डाक्टर कोइराला ट्विटरमा भिडिरहेका हुन्छन्। त्यो भिडन्तमा फुटबल नपर्ने कुरै भएन। किनकि यतिबेला फुटबलको महाकुम्भ जो जारी छ। कोइरालामा पनि फुटबल फिवरको पारो चढेको छ।
 

विश्वकप आयोजक मुलुक रुससँग उनको विशेष समबन्ध छ। सम्बन्ध पढाइको। उनी सात वर्ष रुसमा पढे, २३ वर्ष अघि। तर, रुसमा बिताएका क्षणहरु ताजा छ स्मृतिमा। रुसका लिग खेल्ने हरेक क्लबको नाम याद छ अझै। हरेक खेलको नतिजा बिर्सेका छैनन्। भलै पढ्न गएका कारण खेल्न भने पाएनन्। तर, खेल हेरेर लिनुपर्ने मनोरञ्जन पूरै लिए। रुसमा फूटबल 'कल्चर' त्यतिबेला नै व्यापक देखेका थिए। अहिले त्यो झनै बढेको अनुभव गरेका छन्।
 

उनी त्यहाँ पढ्न जाँदा सोभियत संघ सग्लो थियो। सात वर्षपछि फर्कदा सोभित संघ १५ वटा देशमा विभाजन भयो। उनी पढ्ने कलेज युक्रेनमा पर्‍यो। देश विभाजन भएपछि युक्रेनले सोभियत संघले दिएको छात्रवृत्ती भनेर नपढाउने भन्यो। तर, रुसले युक्रेनको कलेजमा फी तिरिदियो। त्यसैले पनि युक्रेनभन्दा रुस प्यारो लाग्छ उनलाई। अनि, यो विश्वकप सोही कारण विशेष छ उनका लागि।
 

+++

फुटबल रामेशको मन पर्ने खेल। गाउँमा फुटबल खेल्थे। तराईमा जन्मे हुर्केकाले मैदानको अभाव थिएन। उनका दुवै दाइ जिल्लास्तरीय खेलाडी। दाइहरुसँगै फुटबल खेलेकाले अझै पनि 'अपडेट' भइरहन्छन्।
 

उनी जर्मनका फ्यान। तर, 'डाइहर्ट' भन्न रुचाउँदैनन्। खेललाई हार-जितको रुपमा लिन्छन्। मनोरञ्जनका लागि हेर्छन्। तर, भित्रि मनदेखि चाहना एउटै छ, 'जर्मनले जितोस्। ब्राजिलको जस्तै पाँच तारे जर्सी होस्। ब्राजिलसँग कीर्तिमान बराबरी होस्।'
 

भन्छन्, 'अहिलेसम्म सबैले सफल टिम ब्राजिललाई मान्छन्। तर, फाइनल र सेमिफाइनल खेलेको तथ्य हेर्ने हो भने जर्मन अगाडि छ। मात्र एउटा स्टारको कमी हो।'
 

उनले हेरेको पहिलो विश्वकप सन १९८६ को हो।
 

मेक्सीकोमा भएको थियो खेल। पूरा भद्रपुरमा एउटा मात्र टिभी। गाउँभरिका मानिसहरु जम्मा भएर १४ इन्चको सादा टिभीमा हेर्थे। कुनै गेम छुटाएनन्, उनले। रातभरि जागा नै हुन्थे। बाजी राख्ने र पार्टी दिनहुँ चल्थ्यो।
 

सेमिफाइनलपछि काठमाडौं आए उनी। साथीको कोठामा टिभी थिएन। पाटनढोकाबाट भित्र थियो कोठा। घरबेटीको रंगिन टिभीमा फाइनल हेरे, अर्जेन्टिना भर्सेज जर्मनी। विश्वकप अर्जेन्टिनाले जिते पनि उनको मन जित्यो जर्मनीले।
 

भने, 'जर्मन मन पराउनु खासै ठूलो कारण छैन। त्यत्तिकै मनपरेपछि मन परेको पर्‍यै भयो।'
 

त्यसपछिका कुनै विश्वकप छुटाएका छैनन्। अहिलेभन्दा राम्रो तरिकाले हेर्थे, त्यतिबेला। ३० जना साथीहरुसँगै बसेर हेरेको विश्वकप याद आइरहन्छ आजकाल पनि। बाजी, पार्टी, हुटिङ र साथीहरु ‘मिस’ गरिरहन्छन्। भन्छन्, 'विद्यार्थी जीवनमा त्यति पनि नगरे त के विद्यार्थी?'
 

+++

सन् १९९० को विश्वकप उनको जीवनको अविस्मरणीय बन्यो। इटलीमा भएको विश्वकप जर्मनीले जितेको थियो। जर्सी नम्बर ३ का डिफेन्डरले पेनाल्टीमा गोल गरेर एक शून्यमा गेम सकिएको थियो। उनी त्यतिबेला जर्मनीको बर्लिनमै थिए।
 

रेस्टुराको बाहिरपट्टिको स्क्रिनमा साथीसँगै हेरेका थिए खेल। त्यतिखेर टेनिसको फाइनल पनि जर्मनीले नै जितेको थियो। उत्सब थियो त्यहाँ। धेरै मानिसहर बियर खाँदै हेरिरहेका थिए। त्यो बेलाको माहोल व्यक्त गर्ने शब्द छैन उनीसँग। त्यस्तो माहोल नेपालमा देखेका छैनन्।
 

जर्मन सपोटर भएर, जर्मनमै बसेर, जर्मनकै म्याच हेरेको बताउँछन् उनी। जर्मनकै नागरिकसँग बसेर हेर्नुको मज्जा छुट्टै। जर्मनले फाइनल जित्नासाथ ट्रेन चढेर 'फ्रयांकफर्ट' गए। त्यहाँ सबै शहरमा आतेसबाजी गरिएको थियो। पटकाहरु पड्काइरहेको। शहर पूरै रंगिन। सडकभरि मानिसहरु एउटै कपडा लगाएर उत्सव गरिरहेका।
 

वर्ल्डकप जित्ने टीम रोमबाट 'फ्याकंफर्ट' आएका थिए।  ठूलो गाडीमा राखेर खेलाडीहरु शहर घुमाइएको थियो। त्यतिबेला ती खेलाडीहरुलाई लाइभ देखे उनले। भने, 'आफूले सपोर्ट गरेको टिमलाई विश्वकफ ट्रफीसाथ लाइभ देख्न पाएँ। खुशीको सीमा रहेन। त्यतिबेला पूरै 'फ्र्याकंफर्ट'ले उस्तै टिसर्ट लगाएर उत्सब मनाएका थिए। हामीले पनि सस्तो टिसर्ट किनेर लायौं।'
 

+++
 

'पहिला भन्दा खेलाडीहरुले राम्रो अभ्यास र डाइट पाएका छन् र टेक्नोलीले पनि साथ दिएको छ,’ फुटबलको क्रेज थेगिनुको कारण खुलाउँदै सुनाए, ‘स्तर झनै बढ्दै छ। पैसा कमाएका छन्। क्लबहरु धनी छन।'
 

विश्वकपको 'प्रेडिक्सन' अहिले गरिसकेका छैनन्। सबैको खेल हेर्न बाँकी भएकाले पनि अहिले नै यसले जित्छ भन्न नसक्ने अवस्था रहेको सुनाउँछन्। तर, जर्मनीको जितोस् भन्ने चाहना हो। यसको आधार टिम-वर्कलाई दिन्छन्। भन्छन्, 'मैले फुटबल हेरेदेखि जर्मनीको जस्तो टिमवर्क अरु टिममा देखेको छैन। अरु टिममा एउटा, एउटा स्टार हुन्छ। जर्मन टिममा कोही स्टार छैन। त्यसैले पनि मलाई जर्मन मन पर्छ।'

+++

उनी नेपालको फुटबलमा पनि अपडेट छन्। नेपाली फुटबलको स्तर खस्किँदै गएको झै लाग्छ उनलाई। लिगहरु नहुनाले राम्रा खेलाडी उत्पादन हुन नसकेको उनको तर्क छ। व्यवसायिक फुटबल नभएकाले राम्रा खेलाडी पलायन हुँदै गएका देखेका पनि छन्। नेपालको स्तर बढाउन वर्षौ लाग्ने बताउँछन् उनी।
 

देश धनी नभइकन विश्वकप सपना देख्नु 'नेपालमा पानी जहाज चलाउँछौं’ भनेजत्तिकै भएको लाग्छ उनलाई। प्रतिस्पर्धामा जित्न देश धनी हुनुपर्ने बताउँछन्। भन्छन्, 'देश धनी नभइकन विश्वकप त के ओलम्पिकमा गएर मेडल नि जित्दैन। कसैले जादु नै गरे पनि गरिब देशलाई त्यसले कुनै महत्व राख्दैन।'



ट्रेन्डिङ पोस्ट

Ncell