PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

विराटनगर नजिकै आइपुग्यो भारतीय मालबाहक ट्रेन, कस्तो भयो फाइदा?



अनन्तराज न्यौपाने

विराटनगर नजिकै आइपुग्यो भारतीय मालबाहक ट्रेन, कस्तो भयो फाइदा?

विराटनगर : भारतको कोलकाता बन्दरगाहबाट तेस्रो मुलुकका सामान बोकेर विराटनगर नाका नजिकको भारतीय रेल स्टेसन बथनाहासम्म आइपुग्ने मालवाहक रेलको सेवा प्रभावकारी हुन सकेको छैन।
 
बथनाहामा ५८ कन्टेनर पाकिस्तानी चिनी बोकेर पहिलो पटक वैशाख १६ गते आइपुगेको मालवाहक रेल यसबीच ३ पटक आइपुगे पनि सेवा प्रभावकारी हुन नसकेको प्रतिक्रिया व्यवसायीले व्यक्त गरेका छन्।
 
‘तीन महिनामा ३ पटक मात्र कार्गो आएको छ,’ उद्योग सङ्गठन मोरङका नवनिर्वाचित उपाध्यक्ष राकेश सुरानाले भने, ‘के कारणले सेवा प्रभावकारी भइरहेको छैन भनेर खोजी हुनु आवश्यक छ। तीन महिनामा ३ पटकमात्र आउनु नै कमजोर ‘पफर्मेन्स’ हो। मालवाहक रेलमा औद्योगिक कच्चा पदार्थको पैठारीले प्राथमिकता पाउनु पर्छ। सेवा प्रभावकारी बनाउन कोलकाताको महावाणिज्य दूतावासले आवश्यक भूमिका निर्वाह गर्नुपर्छ।’

रेलबाट सबैभन्दा बढी भित्रियो चिनी 

उद्यमी सुरानाले भनेजस्तो मालवाहक रेल ३ महिनामा ३ पटक बथनाहा आउँदा औद्योगिक कच्चा पदार्थ पैठारी भएको छैन बरु सबैभन्दा बढी चिनी भित्रिएको छ।
 
बथनाहाबाट नेपालका पैठारीकर्ताका गन्तव्यसम्म कन्टेनर ल्याइपुर्‍याउने जिम्मा लिएको हनुमान रोडवेजका प्रतिनिधि प्रदीप जैनका अनुसार पहिलो पटक वैशाख १६ गते आएको मालवाहक रेलमा चिनीमात्र थियो। पेप्सीकोलाले मगाएको चिनी २० फिटका ५८ वटा कन्टेनरमा लोड गरिएको थियो र तिनै कन्टेनर बोकेर रेल आइपुगेको हो।
 
दोस्रो पटक जेठ २ गते बथनाहा आइपुगेको मालवाहक रेलमा ४९ वटा कन्टेनर थिए। जसमध्ये ४० फिटका ९ वटा कन्टेनरमा पेपर रोल र २० फिटका ४० वटामा चिनी ल्याइएको थियो।
 
तेस्रो पटक जेठ २३ गते आइपुगेको मालवाहक रेलमा २० फिटका ९० वटा कन्टेनर थिए र सबैमा चिनीमात्र लोड गरिएको थियो। यसपछि मालवाहक रेल कहिले आइपुग्ने हो, खबर आएको छैन।
 

किन भएन सेवा प्रभावकारी?  

व्यावसायिक स्रोतका अनुसार कोलकाताबाट मालवाहक रेलमा बथनाहासम्म कन्टेनर नआउनुको मुख्य कारण कोलकाता बन्दरगाहस्थित भारतीय भन्सारका क्लियरिङ एजेन्टबीचको गुटबन्दी नै हो।
 
पैठारी गरिएको मालवस्तु राखिएका कन्टेनर बथनाहाबाट नेपाली पैठारीकर्ताका उद्योग वा गोदामसम्म पुर्‍याउने जिम्मा हनुमान् रोडवेजले पाएको छ। 
 
कोलकाताका क्लियरिङ एजेन्टमध्ये हनुमान् रोडवेजसित राम्रो सम्बन्ध भएका एजेन्टले मात्र रेलमार्गबाट कन्टेनर पठाउँछन्, अरु एजेन्ट सडक मार्गबाटै पठाउन रुचाउँछन्।
 
हनुमान् रोडवेजले आफ्नै कर्मचारीलाई पनि क्लियरिङ एजेन्टका रूपमा बन्दरगाहस्थित भन्सारमा खटाएको छ। एजेन्टका रूपमा कार्यरत ती कर्मचारीसित अन्य एजेन्टको सम्बन्ध राम्रो छैन। 
 
त्यसैले अन्य एजेन्टहरू हनुमान् रोडवेजलाई काम दिन मान्दैनन्। एजेन्टहरूको यही गुटबन्दीका कारण रेलमार्गबाट बथनाहासम्म कन्टेनर आउने कामले गति हासिल नगरेको हो।
 
अहिलेसम्म तीन पटक गरी आएको चिनी र पेपर रोलको क्लियरिङ पनि हनुमान् रोडवेजकै एजेन्टले गरेका थिए। त्यसैले रेलमार्ग प्रयोग हुनसकेको व्यवसायीको दाबी छ।
 
रेलमार्गबाट बथनाहासम्म कन्टेनर ढुवानी गर्न कम्तीमा ३५ वटा कन्टेनर हुनैपर्छ। तर, एउटै व्यवसायीले एकै पटकमा ३५ वटा कन्टेनरमा आयात गर्दैनन्। दुई/ चार वटा कन्टेनर जम्मा भएर ३५ वटा पुग्न समय लाग्छ। यसकारण पनि रेलको सेवा उपयोग हुन नसकेको एक पैठारीकर्ताले बताए।
 
मालवाहक रेलमा लोड गरिएका कन्टेनरमा कनकोर कम्पनीले इलेक्ट्रोनिक सिलबन्दी गर्छ। यो सिलबन्दी गर्दा भारु ३ हजार ५ सय तिर्नुपर्छ। तेस्रो मुलुकबाटै सिलबन्दी भइआएका कन्टेनरमा भारतीय पक्षले छुट्टै सिलबन्दी गर्नु र रकमसमेत असुल गर्नु द्विपक्षीय सम्झौताको प्रतिकूल भएको व्यवसायीको प्रतिक्रिया छ। 
 
भारत सरकारको स्वामित्वमा रहेको भारतीय कन्टेनर निगम लिमिटेड (कनकोर) ले बथनाहासम्म मालवाहक रेलमा कन्टेनर ढुवानी गर्ने जिम्मा लिएको छ। कनकोरले गरेको विद्युतीय सिलबन्दीका माध्यमबाट कन्टेनर कहाँ पुग्यो र कुन अवस्थामा छ भनेर कम्प्युटरमा प्रत्यक्ष हेर्न सकिन्छ। 
 
विराटनगरको सीमावर्ती बथनाहा स्टेसनको यार्डबाट नेपाली व्यवसायीका गन्तव्यसम्म कन्टेनर ढुवानी गर्ने काम पनि हनुमान् रोडवेजबाहेक अन्यले पाउँदैनन्। कनकोरले कोलकातामा नेपाली व्यवसायीका गन्तव्यसम्म पुर्‍याउने शर्तमा मात्र मालसामान बुक गर्छ। 
 
व्यवसायीको भनाइ छ, ‘एक प्रकारले हनुमान् रोडवेजको एकाधिकार छ।’ 
 

हनुमान् रोडवेजको दाबी:  गुटबन्दी छैन 

हनुमान् रोडवेजका जोगबनीस्थित प्रतिनिधि प्रदीप जैनले कोलकाताका सबै क्लियरिङ एजेन्टसित आफ्नो कम्पनीको सम्बन्ध राम्रो रहेको र कुनै गुटबन्दी नरहेको दाबी गरे।
 
‘चिनीका कारण कोलकाता बन्दरगाहमा कन्टेनरको चाप धेरै थियो, अहिले खास छैन,’ प्रदीपले भने, ‘कुनै पनि एजेन्टले चाहेमा कनकोरसित सम्बन्ध राखेर रेलमार्गबाट कन्टेनर ढुवानी गर्न सक्छन्।’
 
जैनको भनाइ थियो, ‘सडक मार्गबाट ट्रेलरमा कन्टेनर ढुवानी गर्दा १४ देखि २१ दिनभित्र सिपिङ कम्पनीको कोलकातास्थित कार्यालयलाई कन्टेनर जिम्मा लगाइसक्नु पर्छ नभए डिटेन्सन (विलम्ब शुल्क) तिर्नुपर्छ। तर, रेलमार्गबाट ल्याउँदा ३० दिनको समय पाइन्छ।’
 
प्रतिनिधि प्रदीपले कनकोरले नेपाली पैठारीकर्तामा राम्रो मार्केटिङ गर्न नसकेका कारणले मालवाहक रेलबाट सोचेजस्तो आयात हुन नसकेको बताए।
 
‘मोरङका मात्र नभइ झापाका व्यवसायीलाई पनि सेवा दिन सकिन्छ,’ जैनको कथन थियो, ‘तर सबै व्यवसायीले थाहा पाइसकेका छैनन्। थाहा पाउनेलाई पनि कनकोरले विश्वासमा लिन सकेको छैन। त्यसैले रेलमार्ग जम्न सकेन।’

उनले बथनाहाका लागि हनुमान् रोडवेजले २५ ट्रेलर र क्रेनसमेत उपलब्ध गराएको उल्लेख गर्दै बथनाहामा रेल आएको तीन दिनभित्र सबै पैठारीकर्ताका गोदाममा कन्टेनर पुर्याउन सक्ने क्षमता रहेको स्पष्ट पारे।
 
विराटनगरको सीमावर्ती भारतीय बजार जोगबनीबाट बथनाहा स्टेसन ७ किलोमिटर दक्षिणमा अवस्थित छ। बथनाहामा कार्गो सञ्चालनका लागि ठूलो यार्ड भएको हुँदा रेल तत्कालका लागि यहीँसम्म आएको भारतीय पक्षले जनाएको छ।
 
सन् २०१९ को सुरुआतसँगै नेपालतर्फको आइसिपीमा रेल ल्याइपुर्याउने लक्ष्यका साथ भारतीय पक्षले कामलाई तीव्र बनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell