PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

अर्जेन्टिनासँग जोडिएको मेरो पुर्ख्यौली साइनो 



अर्जेन्टिनासँग जोडिएको मेरो पुर्ख्यौली साइनो 

  • बिकिल स्थापित -
फुटबल हेर्ने सबैका लागि एक महिने मेला बन्ने गर्छ फिफा विश्वकप फुटबल। विश्वकप हेर्नैका लागि भनेर टिभी केबल–बक्स जोडिएबाट हाम्रो घरमा पनि मेला लागेको छ। यो मेलामा हेर्न छुट्टाउनै नहुने टोली भने अर्जेन्टिना।

उ बेलाका म्याराडोनादेखि लिएर यो बेलाका मेस्सीका करिश्मामय खेलका कारण अर्जेन्टिना हाम्रो घरको घरेलु टोली बनेको छ। तर यो वर्षको अर्जेन्टिनी टोलीको खेल हेर्ने हो भने घरकी मुर्गी दाल बराबर पनि मीठो थिएन। खेल विश्लेषकहरुलाई पनि अर्जेन्टिनाको २०१८ को टोली अहिलेसम्म कै कमजोर टोली लागेको रहेछ। तर खेल मात्रै जितको नहुँदो रहेछ।

यो खेस्रा कोर्दै गर्दा अर्जेन्टिनाले अन्तिम खेल खेल्न बाँकी थियो। टप १६ मा पुग्न उसलाई यो अन्तिम खेल कुनै पनि हालतमा जित्नैपर्छ। पहिलो खेल आइसल्याण्डसँग बराबरीमा टुंग्याएको उसले दोस्रो खेल क्रोएसियासँग ३ गोलको लज्जास्पद हार व्यहोरेको थियो। लिगबाट बाहिरिन सक्ने प्रवल सम्भावना बोकेको अर्जेन्टिनालाई नै समर्थन गर्न निन्द्रा दाउमा लगाउँदै बसेको थिएँ। खेल नराम्रो खेलेपनि, मेस्सीले पेनाल्टी मिस गरेपनि, उसको निकटतम प्रतिद्वन्द्वी नाइजेरिया राम्रै भएपनि अर्जेन्टिनासँगको सम्बन्ध अनौठो तरिकाले गाँसिएको छ। चार–चार वर्षको अन्तरालमा हुर्रिएर आउने यो दक्षिण अमेरिकी देशसँगको साइनो खोतल्न मन लागेको छ।

सन् १९८६ को कुरो हो। घरघरमा नयाँ टेलिभिजन भित्रिने क्रम जारी थियो। नेपाल टेलिभिजनले प्रसारण सुरु गरेका कारण पनि टिभी किन्ने लहड लागेको हुनुपर्छ। तर हाम्रो घरमा भने टिभी थिएन। कान बटारेर सुन्नु पर्ने पुरानो ध्याब्रे रेडियो थियो। रेडियोले चोटामा सञ्चालन हुने कपडा गार्मेन्ट गुञ्जायमान बनाउँथ्यो। छरिएर बसेका कलघरहरु माझ कपडा काट्ने कटिङ्ग टेबुल थियो। त्यसकै माथि बसेर रेडियो बज्थ्यो। फुटबल हेर्न भने छिमेकीको घर धाउने कुरा मेरो बुबा सुनाउनु हुन्थ्यो। पहिलो पल्ट हेर्न पाएको वर्ल्डकपको फाइनलसम्म पुग्दा म्याराडोनाले जादु देखाइसकेका रहेछन्। म्याराडोना कै कारण फाइनल जित्यो। सायद त्यही साल अर्जेन्टिनाले कयौं नेपाली घरमा डेरा जमाए होला, हाम्रो घरमा जस्तै। 

फाइनलपछि म्याराडोनाको बहार चल्यो। हाम्रो गार्मेन्टमा पनि। म्याराडोनाले लगाएको जस्तो कट्टु बनाउन परिवारका सबै भ्याईनभ्याई भए। म्याराडोनाले लगाएको जस्तो त्यो कट्टु किन्न मान्छे भोटाहिटी, बागबजारका रेडिमेड पसलहरुमा धाउने गर्थे। पसलमा ३४ रूपैंया पर्ने माल गार्मेन्टमा ३२ रूपैंयामै पाइने सूचना कसले चुहाएछ कुन्नि घरमै म्याराडोनाका प्रशंसकहरुको भीड लाग्न थालेका थिए रे। झण्डै महिना दिन नै चलेको म्याराडोना कट्टु उत्पादनका क्रममा कुनै दिन १३ दर्जन भन्दा बढी कट्टु बिक्ने गरेको कुरा मेरो दाइ अझै सम्झने गर्छन्। कालो रंगको सो कट्टुको फेदमा सेतो सञ्जाफ थियो। सञ्जाफ जति मेरी आमाले काट्नु हुन्थ्यो रे। कट्टुका दुबै बाहिरी छेऊमा “भी कट” कटाई थियो। काट्ने, सिलाउने मेरो बुबा, ठूलो बुबाहरु, कामदारहरु। अनि कट्टुमा फुटबलको चित्र र म्याराडोनाको नाम छाप्ने र बजार व्यवस्थापन गर्ने मेरा दाजुहरु।सबै जना मिलेर घर चल्थ्यो। घर मुली मेरी हजुरआमालाई सायद वर्ल्डकप जिताउने म्याराडोनाभन्दा कट्‍टु बिकाउने म्याराडोनाको जादुले बढी छोएको थियो। उहाँ पनि म्याराडोनाको फ्यान बने। 

चार वर्षपछि हाम्रो घरमा रंगीन टिभी भित्रियो। वर्ल्डकप सँगसँगै। टिभी राख्न कै लागि भनेर दराज थिएन। टिभी गएर सोही कटिङ्ग टेबुल माथि बस्यो। टेबुल घेरेर फुच्चाफुच्ची सुकुलमा बस्थ्यौं। घरमुली मेरा हजुरआमासहित सबैजना अर्जेन्टिनी समर्थनमा जुटे। तर यो वर्ष म्याराडोना कट्‍टु त्यति बिकेन। आयातित रेडिमेड जर्सी, कट्‍टुहरुले बजार लिइसकेको थियो। चार वर्षअघि मेरो घरमा डेरा जमाएका अर्जेन्टिना प्रतिको झुकाव भने अरुले लिइसकेको थिएन। 

भुईंमा बसेर झुम्मिएर टिभी हेरेका पलहरु याद छन् तर पनि १९९० का ती खेल खासै मेरो मानसपटलमा बसेको छ जस्तो लाग्दैन। फुटबल मैले बुझ्ने भाषा बनिसकेको थिएन। तर त्यो वर्षबाट हामी खेल्ने चोक गल्लीमा हाम्रै बाल्य भाषामा गाइने “ओ मिना – अर्जेन्टिना, हारेर गयो – म्याराडोना” ले भने म्याराडोना हारेर गएछन् भन्ने छाप मज्जैले पारेको थियो। अनि थाहा भयो यी तिनै म्याराडोना हुन् जसको पेनाल्टी मिसले मेरी हजुरआमालाई समेत भावविह्वल बनायो। यी तिनै म्याराडोना हुन् जसले हाम्रो घरका सबैलाई एक महिनाको लागि रोजगारी दियो। यी तिनै म्याराडोना हुन् जसले हाम्रो घरको सानो गार्मेन्टलाई कुनै दिन पपुलर बनायो। 

समय बित्दै गयो। विदेशी लत्ताकपडाको लहरले घरमा खुम्चिएको गार्मेन्ट झनै खुम्चिने डर बढायो। घरमै सिलाइने रेनकोट, ज्याकेट, सर्ट–पाइन्टहरुको माग कम हुँदै गए। घर धान्न यट्खामा एउटा फेन्सी पसल खोलियो। पसलको पछाडिपट्टीको ठूलो बहालमा म फुटबल खेल्थें। मेरो खेल हेर्नेहरुले मलाई रोनाल्डो भनेर बोलाउँथे। जमाना ब्राजिलको थियो तर पनि अर्जेन्टिनाले हाम्रो घरको डेरा छाड्न मानेन। पसलमा अर्जेन्टिनी जर्सी बेच्नका लागि झुण्ड्याइन्थ्यो। मलाई याद छ त्यो सँगसँगै चे ग्वेभाराको टिसर्ट पनि झुण्डिन्थे। चोकचोकमा बच्चाबच्चीहरुले गाउँदाका समय बाहेक लामो समय भूमिगत भएका म्याराडोना एकाएक टिभी, पत्रिकातिर अकस्मात देखिए।


खाइलाग्दो मोटाघाटा म्याराडोनाको दाहिने पाखुरामा चे ग्वेभाराको आकृति खोपिएको देखें। त्यसपछिका दिन चे ग्वेभारा पढियो, बुझियो। उनले मनमा बास बसायो। मेरो र्‍याकमा उनका किताबहरु जम्मा हुन थाले। भित्तामा एउटा बडेमानको पोष्टर पनि आइपुग्यो। सम्भवतः हाम्रो घरमा बास बस्ने उनी दोस्रा अर्जेन्टिनी थिए।

आजभोलि त्यो पोष्टर मेरो बेडरुममा छ। एउटा आदर्श व्यक्तिको अजंगको तस्वीरले दिनहुँ ऊर्जा दिन्छ मलाई। गत वर्षको डिसेम्बरमा मेरो छोरी जन्मी। छोरीको नाम राख्न तीन नाम फुरे। पहिलो रोजाई चेतना थियो। दोस्रो र तेस्रो नाम पनि सुन्दा मीठै थिए। तर हामीले सोचेरै छोरीको नाम चेतना छान्यौं। चेतनासँग ‘चे’ जोडिएको थियो। उसलाई घरमा बोलाउने नाम पनि ‘चे’बन्यो। कुनै दिन छोरीले उसको नाम, उपनाम पछाडिका कथाहरु खोतल्न खोजी भने कहिंकतै हाम्रो परिवारमा गडिएको अर्जेन्टिनी छाप भेट्टाउने छिन्। हामीलाई सोधी भने ‘चे’ देखि ‘म्याराडोना’ हुँदै ‘अर्जेन्टिना’ सम्मको यो साइनो दोहो¥याएर भन्ने छौं। त्यसपछि सायद भन्ली, ‘हाम्रो घर जिजुहजुरआमाको पालादेखि नै अर्जेन्टिनी फ्यान रहेछन्।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell