PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

फिल्म सञ्जुको 'कर हर मैदान फतेह…' का सर्जक शेखरको नेपाल नाता : आन्दोलित बनाउन लेख्थे नेपालीमै गजल



स्वेच्छा राउत

फिल्म सञ्जुको 'कर हर मैदान फतेह…' का सर्जक शेखरको नेपाल नाता : आन्दोलित बनाउन लेख्थे नेपालीमै गजल

खाने अनि देखाउने छुट्टाछुट्टै दाह्रा किन? 
तैंले बोल्दा महावाणी, मैले बोल्दा नारा किन?

२०५९ सालतिर शेखर अस्तित्वको यो सेर गजलप्रेमीको जमातबीच चर्चित थियो। सत्तामा राजा थिए। प्रजातन्त्र मास्दै सुरु भएको अधिनायकवादविरुद्ध समाजका सबै तप्का विद्रोही बन्दै थिए। त्यसमा साहित्यकार पछि पर्ने कुरै थिएन। त्यही विद्रोहको बोली थियो – तैंले बोल्दा महावाणी, मैले बोल्दा नारा किन?

विद्रोह नहोस् पनि नि किन - शहरका मुख्य चोकहरुमा राजाका चाकडीबाजहरुले उनका ठूला तस्बिर र भनाई टाँगेका जो थिए।
 
'जनताले भने बोल्ने स्वतन्त्रता पाइसकेका थिएनन्। गलत कुराको पनि विरोध गर्न पाइन्नथ्यो,' हिन्दी लवज तर प्रष्ट नेपाली भाषामा सर्जक शेखर अस्तित्वले सुनाए, 'आम मान्छेले कि त डराउनुपर्थ्यो कि त सजाय भोग्‍नु।'

अनियमितता, असमानता र अधिकारका विषयमा मुख खोल्दा राजा विरोधी होइन्थ्यो त्यतिखेर। 

शेखरले भने साहित्यमार्फत् स्वतन्त्रता र साहसको वकालत गरिरहे। जनतालाई अधिकार माग्न हौसला दिए। उनको माध्यम थियो कलम।
 
कलमको स्वतन्त्रताका लागि उनी पनि जुधिरहे। कलम चलाउने मान्छे निरपक्ष र निडर हुनुपर्ने उनको मान्यता। 'गलत छैन भने डराउनै पर्दैन। समयले कमजोरहरुलाई पहिला ढाल्छ,' आत्मविश्वासका साथ उनले सुनाए, 'यो कुराको साक्षी त इतिहास नै छ। पोलिटिक्स त सत्ययुगदेखि हुँदै आएको छ। कलियुगमा पनि त्यही हुने हो।'

उनले नेपाली गजलको क्षेत्रमा गरेको साहस र पुर्‍याएको योगदान बारे गजलकार रवि प्राञ्जल लेख्छन्- 'नेपाली गजलमा उनको उपस्थिति नेपाली साहित्यका लागि एउटा सुखद् प्राप्ति हो।'

संकटकालको त्यो समयमा साहित्यमार्फत् नेपाली जनताको अधिकारका लागि कलम चलाउने शेखर नेपाली भने होइनन्। सन् १९७२ मा महाराष्ट्रमा जन्मिएका एक भारतीय जसको नेपालसँग नाताको गाँठो मज्जाले कसिएको छ।

***

नयाँ ठाउँ डुल्दै, काम गर्दै हिड्ने उनको शोख। त्यही क्रममा शेखर २०५८ मा गोरखपुर पुगे। त्यहाँ पुगेछि एउटा सवाल उनीसामु थियो- अबको गन्तव्य कता?
 
खुला सीमा, सहज आवतजावत, बोलीचालीका लागि भाषा पनि हिन्दीसँग मिल्दो। मराठी कवि शेखर अस्तित्वले निधो गरे- नेपाल जान्छु।

पेशाले चित्रकार पनि हुन् उनी। उनी जहाँ पुग्थे त्यहाँ चित्र कोरेरै खान र बस्नका लागि जोहो गर्थे। सुरुवाती दिनमा पोखराको आर्ट ग्यालरीमा काम गरे। त्यसपछि केही समय काठमाडौंमा पनि। उनी यायवर जो थिए, एकै ठाउँमा अडिउन कसरी?

'म त घुमन्ते थिएँ। तर नेपालले मलाई आफ्नो बनाएर राख्यो,' नेपालमा अडिनुको कारण खोले।

उनले नेपाल र नेपाली साहित्यलाई आफ्नो बनाए। भाषा, राष्ट्रियता, राजनीतिक अस्थिरता र त्रासले उनको इच्छाशक्ति र चाहमा असर गरेन। भने, ’मैले बुटवल रहेर प्रेम रोपेँ। एउटा बुटा रोप्दा सय फूल फूले। त्यसैले आजसम्म सयौं नेपालीको प्रेम पाएको छु।' पहिलोपटक नेपाल आउँदा कहाँ बस्‍ने ठेगान थिएन। 

अहिले पनि नेपाल आउँदा कहाँ बस्ने होला? नेपाल आउँदा त्यही सोच आइहाल्छ उनको मनमा। 'पहिले र अहिलेमा फरक छ। पहिले म कसैको घरमा नबस्दिँदा मतलव गर्ने कोही थिएन,' उनले सुनाए, 'अहिले नपस्दा रिसाउने, घुर्की लगाउने आफ्नाहरु धेरै बने।'

नेपालसँगको नाताका पुराना घटनाले उनलाई भावुक बनाउँछ। पेन्टिङ गरेरै गुजारा टार्न सक्ने भए उनी लामै समय नेपालमा टक्थे सायद। अनि सिर्जनाका शिखरहरु चुलिरहन्थे पनि। 

‘बाध्यता र डरहरु आइलागे। पेन्टिङलाई फोटो र अन्य डिजिटल सामाग्रीले बिस्थापित गर्दै थिए,' भारत नै फर्कनुको कारण खोले, 'लेखेर खानको जोहो गर्ने अवस्था थिएन।’ 

***
 
पिग्ला दे जञ्जिरे 
बना उन्की सम्शिरे 
कर हर मैदान फतेह 
ओ बन्दिया, कर हर मैदान फतेह

तपाईँलाई यी बोल सुने झै लाग्यो होला। पक्कै पनि। हिजोमात्रै रिलिज भएको भएको फिल्म सञ्जुको गीतका यी बोलहरु यिनै मराठी कवि शेखर अस्तित्वका शब्दहरु हुन्। श्रेया घोषाल र सुकविन्दर सिंहको स्वर रहेको गीतमा विक्रम मोनत्रोसले संगीत दिएका छन्। बायोपिक 'सञ्जु'मा समावेश यो गीतको भिडियोमा बलिउड अभिनेता सञ्जय दत्तका जीवनमा घटेका अप्ठ्यारा घटनाहरुको प्लट देखाइन्छ। गीतका शब्दहरुले भने हिम्मत र साहसको सन्देश दिइरहेको हुन्छ।



फिल्म युनिटले गीतलाई 'आशा र हिम्मत'को कथा भन्ने गीतको रुपमा व्याख्या गरेको छ। १४ जुनका दिन सार्वजनिक गीत एक सातासम्म ट्रेन्डिङमा रह्यो। उक्त गीतले २० लाख हिट्स कमाइसकेको छ। र, युट्युब र सामाजिक सञ्जालमा गीतले सकारात्मक प्रतिक्रिया पाइरहेको देखिन्छ। यी सबै कारणले खुशी छन् गीतकार शेखर।

शेखर अस्तित्वको नाम ठूला ब्यानरका फिल्ममा उस्तोसारो नसुनिए पनि बलिउडका लागि नयाँ गीतकार पनि होइनन्। उनले शब्द दिएका ३ हजारभन्दा बढी गीत हिन्दी सिनेमा र सिरियलमार्फत् सार्वजनिक छन्। 

महादेव, रामायण, जय श्रीकृष्ण, द्वारकाधीश, साई बाबा, नभ्या, पोरष मेघाजस्ता धारावाहिक र इश्क क्लिक, रकी हेन्डसम, माइ फ्रेन्ड्स दुल्हनिया लगायत उनले शीर्ष गीत दिएका केही टेलिश्रृङ्खला र फिल्म हुन्।

ब्यानर, कास्टिङ र निर्देशनको हिसाबले ‘सञ्जु’ उनको लागि ठूलो प्रोजक्ट हो। जसमा उनका दुई गीत समावेश छन्। पहिलोपोस्टसँगको कुराकानीमा भने, 'सञ्जुका लागि काम गर्नुको अनुभव भने गजल, कविता वा गीतजस्तै मिठो छ।'

सञ्जुको लागि आएको प्रस्तावको क्षणले शेखरलाई उत्साहित बनायो। साथै चुनौती पनि।
 
‘कथा न्यारेट गरिएको थियो। सञ्जय दत्तको जीवनमा आउने अकल्पनीय मोडको कथासँगै अवस्था र सिन बुझाइयो,’ उनले रचनागर्भबारे सुनाए।  

शेखर गीत लेख्न राजी भए। 'एउटा गीतमा गायक गायिका, संगीतकार, निर्देशक सबैसँग पटकपटक ४, ५ घण्टा बिताएर मिहेनत गर्नुको नतिजा, राम्रो भयो गीत। गीत फिल्ममा फिट भयो, स्रोताले रुचाए।' 

उनका अनुसार प्राय यसरी नै कथासँग मिल्दो गीत लेख्न प्रस्ताव गरिन्छ। साथै उनले लेखेर राखेका गीतहरु पनि धेरै टेलिश्रृङ्खला र फिल्ममा प्रयोग भएका छन्। 

***

विगत १५ वर्षयता मुम्बईमा रहेर एल्बम, फिल्म र टेलिफिल्महरुका लागि गीत लेख्दै आएका छन् उनले। 



हिन्दी गीत सुन्ने उनका स्रोता, दर्शक र फिल्मकर्मीलाई थाहा नहुन सक्छ- उनका दुई नेपाली भाषाका कृति प्रकाशित छन्- 'अतितको त्यो मधुर कहानी' २०७५ गजल संग्रह र 'सेतो हिमाल मेरो' २०६३ बाल गजल कृति।

शेखरले जम्माजम्मी ३ वर्षमात्रै नेपालमा बिताएका हुन्। २०५८ सालदेखि २०६१ सम्म। छोटो समयमै नेपाली भाषा बोल्न, गजल कविता लेखन र वाचनमा पोख्त भएका उनलाई देखेर बुटवल, भैरहवा आसपासका साहित्यकारहरु छक्क पर्थे। 

'भावनाको भाषा हुँदैन। भाषा त केवल माध्यम हो,' सहजरुपमा प्रस्ट्याए उनले। सिक्ने इच्छाशक्तिले जित्यो र नेपाली भाषालाई पनि आफ्नो अभिव्यक्तिको माध्यम बनाउन सफल पनि भए।
 
‘चिया पसलमा भेटिने हेरक मान्छे, मैले काम गरेको क्लासिक आर्टका ग्राहक मेरा गुरु हुन् जसले मलाई भाषा सिक्‍न हौसाए,’ उनले सुनाए। साहित्यिक नाता जोर्न यिनै सहयोगी बने।
 
बुटवलको आर्ट पसलमा कलम र कुची चलाउने दैनिकी हुँदै बुटवल भैरहवाका साहित्यिक कार्यक्रमहरुमा अस्तित्व गुञ्जिन थाले। अनौठो त यिनले निडर रुपमा विद्रोही भावका गजल वाचन गर्दै हिँड्नु हो, त्यस देशमा जहाँको राजनीतिसँग यिनको लेनदेन थिएन।  

उनले नेपाललाई प्रवास मानेनन्। आफू जहाँ बसिन्छ त्यही आफ्नो घर ठाने। भने, 'हरेक मान्छेले स्वतन्त्र रहेर अधिकार र स्वाभिमानका साथ जिउन पाउनुपर्छ भन्ने मेरो विश्वास हो।’ 

***
शेखर गत जेठमा नेपाल आएका थिए, आफ्नो दोस्रो नेपाली कृति लोकार्पणको लागि। उनी अझै धेरैपटक नेपाल आउन चाहन्छन् साहित्यिक सभा सम्मेलनमा सहभागी हुन। सके अर्को पुस्तक प्रकाशन गर्न पनि। 

‘भुगोल र भाषाले कलालाई रोक्दैन भन्ने बुझाउन चाहन्छु,’ उनी आफ्नो उद्देश्य सुनाउँछन्। साहित्य होस् वा संगीत, गीत र कलाका अन्य माध्यमले मान्छेले बनाएको भूगोलको रेखा मेट्न सक्ने ताकत राख्छ। उनी विश्वस्त छन्।

एक्लै हुँदा नारायण गोपालका गीत सुन्छन्। अनि फेसबुकमा आफ्नो गीत सेयर गर्ने नेपाली युवालाई हेरेर मुस्कुराउँछन्। भन्छन्, 'सोच्छु, संगीत र कलाको भाषा बुझ्ने यही पुस्ताले पनि मलाई नसोधे हुन्थ्यो, नेपाली भाषा गाह्रो लाग्दैन? नेपालको कति माया लाग्छ? नेपाल आउँदा कस्तो महसुस हुन्छ?’ 

यति भनिसकेपछि केही मौन रहन्छनन्। अनि थप्छन्, 'कति कुरा बुझाउनमा भन्दा पनि महसुस गर्नमै ज्यादा आनन्द हुन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell