PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

स्वीट्जरल्याण्डका बैंकमा नेपालीको धनः ११२औँ नम्बरमा नेपाल



पहिलोपोस्ट

स्वीट्जरल्याण्डका बैंकमा नेपालीको धनः ११२औँ नम्बरमा नेपाल

ज्यूरिचः स्वीट्जरल्याण्डका बैंकहरुमा सबैभन्दा धेरै रकम बेलायती नागरिकहरूले जम्मा गरेका छन्। रकम सञ्चयका लागि सेफ हेभन मानिने स्वीट्जरल्याण्डका बैंकहरुमा विदेशी नागरिकका मात्रै १० खर्ब ४६ अर्ब स्विस फ्रयाङ रहेको स्वीट्जरल्याण्डको केन्द्रीय बैंकले तथ्यांक सार्वजनिक गरेको छ। यो रकम अघिल्लो वर्षभन्दा ३ प्रतिशतले बढी भएको बताइएको छ।

पहिलो नम्बरमा रहेको बेलायतको मात्रै ४ खर्ब ३ अर्ब स्विस फ्रयाङ्क अर्थात् कूल रकमको २७ प्रतिशत रकम रहेको तथ्याङ्क छ। स्विस बैंकमा बेलायतीको रकम यस वर्ष १२ प्रतिशतले बढेको हो।

यसैगरी स्विस बैंकमा धन जम्मा गर्नेमध्ये अमेरिका दोस्रो नम्बरमा रहेको छ भने तेस्रोमा वेस्ट इन्डिज, चौथोमा फ्रान्स र हङ्कङ पाँचौँ नम्बरमा छन्। यसैगरी छैठौंमा बहामास, सातौँमा जर्मनी, आठौँमा गुयर्नसेइ, नवौँमा लग्जम्बर्ग र दसौँमा केम्यान आइल्याण्ड परेका छन्।

नेपालीहरूको पनि स्विस बैंकमा रकम जम्मा रहेको देखिएको छ। सूचीको ११२औं नम्बरमा नेपाल रहेको छ भने छिमेकी देशहरु चीन २० औँ नम्बरमा र भारत ७३ औँ नम्बरमा परेको छ। भारतीयहरूले जम्मा गर्ने रकममा ५० प्रतिशतले वृद्धि भएको पनि बताइएको छ। हाल भारतीयहरूको १.०१ अर्ब स्विस फ्रयाङ्क अर्थात्  ७ हजार करोड भारु स्विस बैंकमा जम्मा रहेको तथ्यांकले देखाएको छ।

स्विस बैंकमा जम्मा गरिएकोमध्ये सबैभन्दा धेरै  अर्थात् ४००० प्रतिशतले  वृद्धि भएको सोलोमन आइल्याण्डको हो। यसैगरी २२०० प्रतिशतले फारो आइल्याण्ड तथा १२०० प्रतिशतले ब्रिटिस इन्डियन ओसन टेरिटोरीको रकम स्विस बैंकमा जम्मा भएको छ।

पाकिस्तान ७२ औँ स्थानमा रहेको छ भने बंगलादेश ९५ औँ स्थानमा, श्रीलंका १०८ औँ स्थानमा र भुटान २०३ औँ स्थानमा रहेको प्राप्त तथ्यांकले देखाएको छ। 

स्वीट्जरल्याण्डमा झण्डै चारसय बैंकहरु छन् जसमध्ये यूबीएस तथा क्रेडिट स्विस ग्रुप महत्त्वपूर्ण मानिन्छन्। स्विजरल्याण्डका सबै बैंकहरुले गोपनीयतासम्बन्धी कानुन अनुसार बैंक खाता र खातावालासम्बन्धी सबै जानकारी पूर्ण रूपमा गोप्य राख्ने भएकाले सुरक्षित मानिन्छ।

प्राइभेसी मेन्टेन गरी पैसा राख्न चाहनेहरुले बैंकको स्वीट्जरल्याण्ड बाहेक अन्य देशमा शाखा नभएका बैंकहरुमा समेत राख्ने गर्छन्। विशेषगरी कालो धनलाई लुकाउन स्वीट्जरल्याण्डका ती बैंकहरुको प्रयोग हुने गरेको आरोप समेत लाग्दै आएको छ।

मुख्य रूपमा विकासशील देशहरूबाट गोप्य रूपमा कालोधन स्वीट्जरल्याण्डका बैंकहरुमा जम्मा हुने गरेको विषयमा लामो समयदेखि बहस समेत चल्दै आएको छ।

स्विस बैंकहरुको खातामा ग्राहकको नाम नभई नम्बर आइडी प्रयोग  हुनेगर्छ। यस्ता खाताहरूको जानकारी ग्राहक बाहेक अन्यले पाउन सक्दैनन्। बैंकबाट पैसा झिक्न चाहेमा खातावाला आफैँ गएर पैसा झिक्ने वा ट्राभलर चेकमार्फत प्रयोग गर्न सक्छन्। 

स्वीट्जरल्याण्डमा यदि बैंकहरुले आफ्नो ग्राहकसँग सम्बन्धित जानकारी अन्य कसैलाई पनि दिएमा अपराध मानिन्छ। तर पछिल्लो समयमा आतंकबाद, भ्रष्टाचार वा कर छलीका घटनाहरूका कारण स्वीट्जरल्याण्डका बैंकहरुले गैरकानुनी भएको आशंका लागेमा यस्ता खाताहरू बन्द गर्ने वा खोल्न बाध्य नहुने व्यवस्था समेत गरेको छ।

आपराधिक वा गैरकानुनी भएको शंका लागेमा तथा सम्बन्धित देशले मागेको खण्डमा स्विस बैंकहरुले ती देशका सरकारी अधिकारीलाई खातावालाबारे जानकारी समेत दिन सक्ने व्यवस्था गरेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell