PahiloPost

Jul 20, 2018 | ४ साउन २०७५

अमेरिकामा चौंथो ट्राभलिङ किम्फ, दुर्गमका विद्यालयलाई निरन्तर सहयोग


अमेरिकामा चौंथो ट्राभलिङ किम्फ, दुर्गमका विद्यालयलाई निरन्तर सहयोग
न्युयोर्क: अमेरिकाको न्युयोर्कमा यसपटक पनि काठमाडौ इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल-किम्फको चौंथो यात्रा संस्करण ट्राभलिङ किम्फ सम्पन्न भयो। हिमाल एसोसियसनको आयोजना तथा न्युयोर्कमा प्रकाशित हुँदै आएको एभरेस्ट टाइम्स पत्रिकाको सहआयोजनामा नेपाली वृत्तचित्र तथा छोटो फिल्महरु प्रदर्शन भयो।

न्युयोर्कस्थित शेर्पा किदुगको हलमा जुन ३० मा आयोजित ट्राभलिङ किम्फमा चिल्ड्रेन अफ स्नोल्याण्ड, च्यालो, जालगेडी र पेम्बा रिटन टु गोलि प्रर्दशन भयो। कार्यक्रममा नेपाली कन्सुलेटका महावाणिज्यदुत मधु मरासिनि, बौद्ध धर्म गुरु अवतारी लामालगायत विभिन्न समुदायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। 

एभरेस्ट टाइम्सले किम्फबाटै यसअघि सोलुखुम्बुका दुई विद्यालयलाई, गतवर्ष सिन्धुपाल्चोकको विद्यालयलाई सहयोग गरेको थियो। यस पटक किम्फबाट उठ्ने रकम रामेछापको कुनै दुर्गम विद्यालयलाई सहयोग गर्ने योजना बनाएको शेर्पाले बताए। 

‘नेपालको ग्रामीण भेगको कथालाई प्रवासी नेपाली समूदायमा देखाउनका साथै नेपाल चिनाउनविगत ४ वर्षदेखि ट्राभलिङ किम्फ आयोजना गर्दै आइरहेका छौं,’एभरेस्ट टाइम्सका प्रधान सम्पादक आङछिरिङ शेर्पाले भने,‘किम्फबाट उठ्ने रकम नेपालको ग्रामीण भेगको विद्यालयलाई सहयोग गर्न पाउँदा आनन्दित महसुस भइरहेको छ।'

आगामी दिनमा प्रवासी कथावस्तुमा आधारित फिल्म तथा डकुमेन्ट्रीहरु किम्फमा समावे गर्ने योजना रहेको पत्रिकाका सम्पादक ङिमा पाख्रिनले बताए।

‘प्रवासमा ग्रामीण भेगको मन छुने राम्रो डकुमेन्ट्रीहरु देखाउन पाउँदा निकै रमाइलो अनुभव भयो,' एभरेस्ट टाइम्सका सम्पादक ङिमा पाख्रिनले भने,‘अब भविष्यमा प्रवासमा रहेका नेपालीको कथामा बनेका डकुमेन्ट्रीहरु किम्फमा समाबेस गराउने हाम्रो अर्को लक्ष्य पनि हो।’

संकलित रकम दुर्गमका विद्यालयलाई


न्युयोर्कमा आयोजना हुँदै आएको किम्फबाट उठेको रकम नेपालका विभिन्न गाउँमा रहेका विद्यालयलाई सहयोग गर्दै आएको छ। यसपटकको फेस्टिभलबाट उठेको रकम रामेछाप जिल्लाको एक विद्यालयलाई प्रदान गरिने सहआयोजक एभरेस्ट टाइम्स इन्कका आङछिरिङ शेर्पाले जानकारी दिए।

यसअघि भूकम्पले क्षतिग्रस्त सोलुखुम्बुको सेर्गामा रहेको सेर्गा बागम प्राविलाई तीन लाख २५ हजार ५,२५ रुपैयाँ सहयोग प्रदान गरिएको थियो। उक्त रकम हिमाल एसोसिएसनका कार्यकारी निर्देशक थापा र एभरेस्ट टाइम्सका सम्पादक ङिमा पाख्रिनले विद्यालयका प्रतिनिधि टाकर्म दुरदार्शी समूहका अध्यक्ष दावा शेर्पालाई हस्तान्तरण गरेका थिए।

भूकम्पले क्षतिग्रस्त सेर्गा प्राविले सहयोग पाएकोमा शेर्पाले खुसी व्यक्त गरे। ‘विद्यालयमा जम्मा दुई कोठे भवन थियो, त्यो पनि गत वर्ष आएको भूकम्पले भत्काइदियो,’ शेर्पाले भने, ‘यो रकमले बलियो भवन बन्ने भएको छ।’ सेर्गा प्रावि सोलुखुम्बुकै दुर्गम गाउँमा रहेको र शिक्षकको अभावमा पढाइसमेत नियमित नहुने उनले दुखेसो पोखे।

पहिलोपटक आयोजना गरिएको किम्फबाट संकलित १ लाख ८६ हजार ५ सय रुपैया सोलुखुम्बुकै चाँगेस्थान माध्यमिक विद्यालयलाई सहयोग गरिएको थियो।

त्यसैगरी तेस्रो पटकको किम्फबाट संकलित रकम सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित वडा ६ अन्तर्गत इचोकको घोप्टेघ्याङमा रहेको ज्याम्बेयाङ प्राविलाइ सहयोग प्रदान गरेको थियो।

भूकम्पपछि पनि कुनै सहयोग नपुगेको र विकट उक्त स्थानमा पत्रिकाका प्रधानसम्पादक आङछिरिङ शेर्पाले १ लाख ५० हजÞार ५५ रूपैयाँ २०७४ कात्तिक ९ गते विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निमा ह्योल्मो शेर्पालाइ प्रदान गरेका हुन्।

राजधानी काठमाडौंसँग जोडिएको जिल्ला भएपनि उक्त स्थान विकट रहेको र अझैसम्म कुनै सहयोग पुग्न नसकेको जानकारी आएपछि सहयोगका लागि उक्त स्थानमा पुगेको शेपाले जानकारी दिए।

विद्यालयले प्राप्त गरेको सहयोग विद्यालयको भवन बनाउन प्रयोग गरिने समितिका अध्यक्ष ह्योल्मोले बताए। ‘भूकम्पपछि स्कुलको भवन भत्केको र अझै बनेको छैन, कतैबाट सहयोग पनि मिलेको छैन, अब यही रकममा अरु थपेर भवन बनाउनेछौं,’ उनले भने।

गाउँपालिकाले पनि थप सहयोग गरी विद्यालयको भवन बनाइने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले वचन दिए । स्थानीय समाजसेवी टासी ह्योल्मोको सहयोगमा विकट विद्यालय छनोट गरिएको थियो।


अमेरिकामा चौंथो ट्राभलिङ किम्फ, दुर्गमका विद्यालयलाई निरन्तर सहयोग को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट