PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

डा केसीलाई अनशन स्थलमा खतरा रहेको भन्दै उपचारमा खटिएका मेडिकल टोलीले हात झिक्यो



सागर बुढाथोकी

 डा केसीलाई अनशन स्थलमा खतरा रहेको भन्दै उपचारमा खटिएका मेडिकल टोलीले हात झिक्यो

काठमाडौं: प्राध्यापक डाक्टर गोविन्द केसीको अनशनको चौथो दिन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन्।  डा केसी पक्राउ परेको चार दिनसम्म प्रहरीले पक्राउ पुर्जी नदिएको र नियन्त्रणमा लिएर उपचार गर्न नदिएको भन्दै उनीहरु आन्दोलित भएका हुन्।  डा केसीलाई तीन दिनदेखि प्रहरीको नियन्त्रणमा राखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर भुमेश काफ्लेले बताए। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जाँदै गर्दा शनिबार पक्राउ गरिएका उनलाई प्रहरीले सोमबारसम्म पक्राउ पुर्जी दिएको छैन। उनलाई गैरन्यायिक हिरासतमा राखिएको काफ्लेले बताए।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बस्न पुगेका केसीलाई प्रहरीले पक्राउ गरेपछि उनले हिरासतबाट नै अनशन सुरु गरेका थिए। त्यसपछि केसीलाई  जिल्ला खेलकुद विकासको हलमा ल्याएर छोडिएको थियो। प्रहरीको नियन्त्रणकाबिच डा केसीको अनशन जारी रहेको काफ्लेले बताए। उनको स्वास्थ्य अवस्था बिग्रँदै गर्दासमेत प्रशासनले अस्पताल लैजान नदिएको काफ्ले बताउछन्। भन्छन्, 'उहाँलाई अस्पताल लान दिएको छैन। प्रहरीको घेरामा हुनुहुन्छ। हामीले नसक्ने भनेर हात छोडिसक्यौ।'

जुम्लाका डीएसपी डा. पदमकुमार दाहाल भने डा केसीलाई पक्राउ नगरिएकाले पक्राउ पुर्जी नदिएको बताउँछन्। भन्छन्, 'उहाँलाई निषेधित क्षेत्रमा अनशन नबस्नु भन्दा नमानेकाले निशेधित क्षेत्रबाट निकालिएको हो। उहाँलाई हामीले सुरक्षा दिएका हौँ। अस्पताल नै जान नमिल्ने गरि नियन्त्रणमा लिएका छैनौ।'

त्यहाँको अस्पतालमा अक्सिजन, आइसियूलगायतका सेवासुविधा नभएकाले डा केसीको स्वास्थ्य खतरा पर्न सक्ने डिएसपी दाहाल बताउँछन। भन्छन्, 'भोकै बसेपछि मानिस बिरामी पर्छ। अक्सिजन दिनुपर्ला अन्य इमर्जेन्सी उपचार गर्नुपर्ला। यहाँको अस्पतालमा सुविधा छैन। त्यही भएर अब के गर्ने भन्ने विषयमा सिडियोसँग छलफल भइरहेको छ।'

जुम्लाका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जुम्लामा प्रहरी, प्रशासन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान वरपरको २ सय मिटर क्षेत्रमा निषेधाज्ञा जारी भएकाले त्यहाँ कुनै पनि प्रदर्शन र भोक–हडताल गर्न नमिल्ने बताउँछन्। पौडेल भन्छन्, ‘डा. केसीको जीवनरक्षाको जिम्मेवारी हाम्रो हो। केही अप्ठेरो हुनासाथ हामी हेर्छौं तर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजान मिल्दैन।’

नेपाल चिकित्सक संघ आन्दोलित


नेपाल चिकित्सक संघले तीन दिनदेखि जुम्लास्थित कभर्ड हलमा अनशनरत डा. केसीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारसँग माग गरेको छ। संघले डा. केसीलाई स्वास्थ्यमा जोखिम पुग्ने गरी स्थानीय कभर्ड हलमा कैदीसरह राखिएको भन्दै आपत्तिसमेत प्रकट गरेको छ।

चिकित्सकबाट अस्पताल लगेर उपचार गराउनका लागि गरिएको आग्रह र सुझावलाई समेत बेवास्ता गरिएको भन्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर, नर्स तथा कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन्। उनीहरुले डा केसीको जीवन रक्षाको माग गर्दै आजदेखि प्रतिष्ठानको शिक्षण अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन्। उनीहरुले डा केसीको माग पुरा गर्नुपर्ने र डा केसीको जीवन रक्षा गर्नुपर्ने माग राखेका छन्।

डा केसीको उपचारका लागि प्रशासनले अवरोध गरेपछि प्रतिष्ठानबाट अनसनस्थलमा खटिएका मेडिकल टिमले समेत हात झिकेका छन्। स्थानीय प्रशासनले डा केसीलाई अनसनका लागि राखेको ठाउँमा उपचारका लागि जोखिम लिन नसक्ने भन्दै उनीहरुले हात झिकेका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell