PahiloPost

Nov 19, 2018 | ३ मंसिर २०७५


तपाईँ त सामन्ती हुनुहुँदो रहेछ प्रधानमन्त्रीज्यू


पहिलोपोस्ट

तपाईँ त सामन्ती हुनुहुँदो रहेछ प्रधानमन्त्रीज्यू

  • सुशीला कार्की -
म आजकल किंकर्तव्यविमूढ छु। के बोल्ने, के नबोल्ने? मलाई अचम्म लागिरहेको छ। ‘रघुकुल रीत सदा चली आयो’ भन्ने हाम्रो भनाइ छ। हिजोको सरकार पनि त्यही, आजको सरकार पनि त्यही। जनताले भोट दिन्छन्, आश गर्छन्, फेरि त्यही छ।

यो मुलुकमा पञ्चायती व्यवस्थामा पनि त्यही थियो। जस, जसको सरकार आयो, आखिर हुने यही रहेछ। भाषणमा यस्तो हुन्छ, उस्तो हुन्छ भनेर ठूलठूला कुरा गरेको सुनिन्छ। तर, अन्ततः निचोडमा भन्ने हो भने सबैको स्वाभाव एउटै।

भन्नलाई अलि अप्ठ्यारो लागेको छ, १५ हजार मान्छेको बलिदानपछि आएको व्यवस्था, २०६३ मा सडकमा लडेर ल्याएको व्यवस्थामा अब अहिले संविधानले भनेको छ, शान्तिपूर्वक भेला हुन पाइन्छ, आफ्नो विचार व्यक्त गर्न पाइन्छ। आफ्ना भनाइ राख्न पाइन्छ।

प्रतिपक्षमा बसेका बेला सडकका बार भत्काउने, निषेधाज्ञा पनि नचाहिने। आज सरकारमै हुनुहुनेहरुले ‘लौ ठाउँठाउँमा निषेधाज्ञा लगाउने भयो रे’ भनेको मैले सुनेकी छु। स्वतन्त्र न्यायपालिका पनि चाहिने, धरपडक गर्नासाथ छुटाउनुपर्ने। जब सत्तामा आयो, अदालत पनि परतन्त्र हुनुपर्ने, सबै निषेधाज्ञा हुनुपर्ने, बोल्न नपाइने। यो त ‘रघुकुल रीत सदा चली आयो’ नभनेर के भन्ने?

सरकारमा आएपछि तपाई ब्यापारीलाई सहयोग गर्नुहुन्छ, त्यो पनि त्यस्ता शोषक सामन्ती व्यापारीलाई सहयोग गर्नुहुन्छ भने तपाई त सामन्ती हुनुहुँदोरहेछ। मुखले सैद्धान्तिक कुरा गर्ने, व्यवहारमा खत्तम हुनुहुँदोरहेछ।

व्यक्तिमाथि अन्याय भयो, समाजमाथि अन्याय भयो भने मान्छेले बोल्छ। दुरदराज, जंगलमा गएर बोलेर त हुँदैन। सडकमै आएर बोल्नुपर्छ, उपयुक्त ठाउँ, जहाँबाट सुनिन्छ, त्यहीँ आएर बोल्नुपर्छ। यो सरकार गठन हुनुभन्दा पनि जतिबेला उहाँहरु सरकारमा हुनुहुन्नथ्यो, त्यही ठाउँमा उभिनुहुन्थ्यो। निस्किएर आएपछि पनि त्यही ठाउँमा उभिनुपर्छ।

म के भन्न चाहन्छु भने कतिपय कुरा शास्वत हुन्छन्, कतिपय राष्ट्रलाई नभई नहुने कुरा हुन्छन्। के अब निषेध गरिएका ठाउँहरु कांग्रेसको हो? जो प्रतिपक्षमा छ। उहाँहरु सत्तामा पुग्नुभयो, उहाँलाई चाहिएन। तर, हामी नागरिकले त्यही देखेर आएका छौं।

पञ्चायतमा पनि ठाउँठाउँमा निषेधाज्ञा जारी गर्थ्यो, पुलिसले पक्रिन्थ्यो। मानवअधिकारको हनन भयो, बोल्न समेत दिइएन भनेर हामी नै जान्थ्यौं। पछि कांग्रेसको सरकारमा त्यही भयो, अब अहिले पनि त्यही भयो। ‘रघूकुल रीत सदा चली आयो’ नै भयो।

के हो, यो देशको पानी नै यस्तो हो कि? हावा नै यस्तो हो कि? सत्तामा गएपछि सबै कुरालाई सहज रुपमा लिइँदैन। विरोध त गर्न पाइन्छ, तोडफोड पो गर्न पाइँदैन। डकैती गर्न, लुट्न पो हुँदैन त, विरोध त गर्न पाउनुपर्छ।

यो देशको पानी नै यस्तो हो कि ? हावा नै यस्तो हो कि ? सत्तामा गएपछि सबै कुरालाई सहजरुपमा लिइँदैन। विरोध त गर्न पाइन्छ, तोडफोड पो गर्न पाइँदैन। डकैती गर्न, लुट्न पो हुँदैन त, विरोध त गर्न पाउनुपर्छ।

मलाई अचम्म लाग्छ, डा. गोविन्द केसीले न आफ्ना सन्तानका लागि गरेका हुन्, न उनका परिवार छन्। १४ पटक अनसन बसे। उनले लडाइ गरेको कसका निम्ति? गरिबका निम्ति, गरिबका छोराछोरीका निम्ति। उनीहरुको स्वास्थ्य उपचारका निम्ति। दुरदराजमा अस्पताल बनोस् भनेर हो। के यो नाजायज हो र?

उनले १४/१४ पटक बसेको अनशनबाट आज जुन अध्यादेश आएको थियो, आज त्यसलाई सरकारले मेट्न चाहन्छ भने सरकार त शोषक सामन्तीको लाइनमा पुगेछ।

गरिबले खान पाउनुपर्छ, लाउन पाउनुपर्छ, उपचार पाउनुपर्छ भन्नु पनि विद्रोह हुन्छ र? त्यसलाई विद्रोह मानिन्छ? सुन्दा पनि अचम्म लाग्छ।

डा. केसीले त माथेमा आयोगको प्रतिवेदन कार्यान्वयन गर पो भनेका छन्। मैले कहाँ पढे, बरु भारतमा लागू गर्दैछ। त्यहाँ खडा भयो, त्यहाँ वेपत्ता भयो।

अहिलेको सरकार भन्दा पञ्चायत ठीक


म यसलाई, उसलाई दोष लगाउँदिन तर, सरकारमा आएपछि तपाई ब्यापारीलाई सहयोग गर्नुहुन्छ, त्यो पनि त्यस्ता शोषक सामन्ती व्यापारीलाई सहयोग गर्नुहुन्छ। त्यस्ता व्यक्तिहरुको पृष्ठपोषण गर्नुहुन्छ र माथेमा प्रतिवेदनले खडा गरेको सम्पूर्ण कुरा खारेज गर्नुहुन्छ भने तपाई त सामन्ती हुनुहुँदोरहेछ। मुखले सैद्धान्तिक कुरा गर्ने, व्यवहारमा खत्तम हुनुहुँदोरहेछ।

बरु पञ्चायतमा अस्ति बित्नु भएका डाक्टरसा’ब (उपेन्द्र देवकोटा)ले पढ्न पाउनुभयो। अहिले कुनै गरिवका छोरा पढ्न पाउँदैनन्। मैले मेडिकल पढ्न ईच्छा भएर पढ्न नपाएका, झुण्डिएर मर्न खोजेका केटाकेटीहरु भेटेकी छु।

दुःख मान्ने कुरा छ, यो देशमा १५ हजार मान्छेले ज्यान गुमाएका छन्। त्यो त भयो भयो, आफ्नो ठाउँमा छ। अब अझ ३० हजारले ज्यान गुमाउनेवाला छ। यही गरिबी राख्नुहुन्छ, हुनेखानेलाई पोस्नु हुन्छ, यसरी नै हुनेखाने तस्करहरुको नाइके बन्नुहुन्छ र तिनलाई नै पक्षपोषण गर्नुहुन्छ भने अर्को ३० हजार मान्छे मर्छन्।

सत्तामा हुनेहरुलाई बन्दुकले जोगाएको छ। सेनाले जोगाएको छ, प्रहरीले जोगाएको छ। तर, गरिब, शोषक समान्तीका नाममा एकछाक भात खान पाउने मारिएको हो भने आज खै त परिर्वतन ? जनताले के पाए ? केही भएन। काग कराउँदैछ, पिना सुक्दैछ भनेजस्तै भयो। मलाई लागेको थिएन यस्तो होला भन्ने।

मैले एउटा केटालाई देखेँ, जानकी मेडिकलमा पढ्दो रहेछ। त्यहाँ पढाइ नै बन्द भयो। बाबुआमाले गरेको खर्च खेर गयो, त्यहाँ पढाइ राम्रो नभएकाले अरुले लिएनन्। यस्तो पनि व्यापार हुन्छ? मैले मेरो छोरालाई डाक्टर पढाइनँ, किनभने सम्भव नै छैन। छाक काटेर, घरजग्गा बेचेर पढाउनुपर्‍यो। मैले मेरै परिवारमा देखेकी छु, एउटा सुटसम्म वर्षौं नहालेर पढाएका छन्। कहिले कमाउँछ, त्यो ५०/६० लाख? यस्तो व्यापार हुन्छ?

पढाउने बेलामा गाँस काटेर मेडिकल कलेजलाई पढाउनुपर्छ, अनि नोकरी २० हजारको पाउँदैन। अनि विदेश पलायन। यसरी राष्ट्रको उन्नति हुन्छ? राष्ट्रको उन्नति गर्छु भन्ने नेताले गरिबका बारेमा सोच, नाटक गरेर हुँदैन। गरिबको घरमा, मुसहरको घरमा गएर पकाएको भात खाएर मात्रै हुँदैन।

एउटा केटी त इजलासमै गई, म्याडम मेरो सबै पुगेको छ, तै पनि अपराधीहरुले पढ्न दिएनन्। अब झुण्डिएर मर्छु भनिन्। मैले फैसला गरेँ, दिनैपर्छ।

गंगामाया न्यायको देवी


यो मुलुकमा एकपटक तीन महिला थियौं। गंगामाया पनि ऐतिहासिक महिला हुन्, म त उनलाई न्यायकी देवी भन्छु्। न्यायका लागि उनले लडेको लडाइँ सानो हो?

मलाई अर्को कुराको पनि दुःख लागेको छ। हिजो कांग्रेस र एमाओवादीको सरकार थियो। गंगामाया त्यहीँ लडिरहेकी थिइन्, उनका आँशु झरिरहेका थिए। श्रीमानको शव शिक्षण अस्पतालमा छ, एउटा छोरा मरेको हो कि बाँचेको छ, थाहा छैन, एउटा मारियो।

आज कांग्रेसका नेताहरु गंगामायालाई भेट्न गएका छन्। सरकारमा भएका बेला जानुभएन। अहिलेको सरकार पनि गंगामायालाई भेट्न जाँदैन। भोलि निस्किएपछि मुद्दा बनाउँछ। सबैभन्दा दुःख लाग्ने यही हो।

गंगामायाको नाम लिँदा पनि राति झस्कन्छु। मैले मिसिल पनि हेरेकी छु। एक दिन बहस पनि सुनेको छु। तपाई सम्झनुस् त, तिनै नेताका कुनै छोरो मर्दा ती रुँदैनन् ? आफ्ना छोरालाई युवराज बनाएर सडकमा उभ्याउँछन्। तिनका नाममा कार्यक्रम गर्छन्।

तर, गोरखा फुजेलकी एउटा मामुली महिला, जसको १६/१७ वर्षको छोरा एसएलसी पास भएको मावली हजुरबालाई सुनाउन जाँदा मारिए। श्रीमान मारिए, आफू मर्ने अवस्थामा छिन्, छोरो वेपत्ता छ।

एउटा परिवारलाई तपाई घाँटी ङ्याकी ङ्याकी मारिरहनु भएको छ। हामी सबैले मारेका हौं, किनभने हामी बोल्दैनौ। ६ वर्षदेखि एउटा महिला न्यायका लागि लडिरहेकी छिन्।

हरेकलाई आफ्नो सन्तानको माया हुन्छ, उनी त्यही छोरोका लागि दम घुटीघुटी मरिरहेकी छन्। त्यो साहस सम्झनुस् त एक पटक।

मेरो अनुरोध छ, अब त जाग्नुपर्छ। यो सरकार आउला, केके न गर्ला भन्ने थियो। रेल कुदाउने, पानी जहाज कुदाउने सबै कुरा पढ्न पाइन्छ। तर, आम जनताका खान पाउने, लगाउन पाउने कुराहरु, जनताको स्वास्थ्य शिक्षा हेर्नुपर्दैन? हावा कुरा गरेर मात्र हुन्छ ?

कस्तो अन्याय हो यो? कमसे कम उनीमाथि भएको अन्यायका लागि हामीलाई माफी देउ भन्न सक्दैनन् यी नेताहरुले? उनीमाथि अन्याय नै भएको हो। आज यिनीहरुको दमले केही नलेखिएला तर, यो उनी मरिन् भने देशका लागि कलंक हुन्छ।

भीमसेन थापाकी पत्नीलाई जसरी राणाकालमा जुन बेइज्यतीका साथ मर्न बाध्य बनाइयो, त्यस्तै घटना हो यो। त्यसैले बहुत दुःख लाग्छ। साँच्चै भन्ने हो भने आधा रातमा उनलाई सम्झेँ भने झस्कन्छु।

त्यसैले, मेरो अनुरोध छ, अब त जाग्नुपर्छ। यो सरकार आउला, केके न गर्ला भन्ने थियो। रेल कुदाउने, पानी जहाज कुदाउने सबै कुरा पढ्न पाइन्। तर, आम जनताका खान पाउने, लगाउन पाउने कुराहरु ….। जनताको स्वास्थ्य शिक्षा हेर्नुपर्दैन? हावा कुरा गरेर मात्र हुन्छ?

(पूर्व प्रधानन्यायाधीश कार्कीले सार्वजानिक सरोकार मञ्चले ललितपुरको यलमाया केन्द्रमा आयोजित कार्यक्रममा गरेको सम्बोधन)



तपाईँ त सामन्ती हुनुहुँदो रहेछ प्रधानमन्त्रीज्यू को लागी १ प्रतिक्रिया(हरु)

Shishir [ 2018-07-04 11:22:56 ]
— १ पटक सम्पादित
Very very bold ex-chief justice! It is the reality of the present exposed by her. Others too should come in the front to save Ganga Maya and Dr. K.C. (the living heroes!)

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट