PahiloPost

Jul 20, 2018 | ४ साउन २०७५

इतिहासको चर्चा गर्ने नृत्य नाटिका अर्थात्, 'राजेन्द्रलक्ष्मी'


स्वेच्छा राउत/पहिलोपोस्ट

इतिहासको चर्चा गर्ने नृत्य नाटिका अर्थात्, 'राजेन्द्रलक्ष्मी'
photo: streetnepal.com

काठमाडौँ: १८ औँ शताब्दीको नेपाली समाज। तरबारबाजी वा घोडसवारी पुरुषबाहेकका लागि निषेध। साहसी मानिने यस्ता गतिविधि छोरी मान्छेले गर्नु अभद्रताको परिचय। समाजले बनाएको नियम नै यस्तै थियो। नियम बनाउने चाहिँ पुरुष। पालना गर्न बाध्य महिला।

तर, पाल्पाकी राजकुमारी राजेन्द्रलक्ष्मीले ती नियमहरू भत्काइन्। पिता राजा मुकुन्द सेनसँग विद्रोह गरेर घोडचडीमा पारङ्गत भइन्, तरबार नचाउन पनि सिपालु, युद्धका तयारीमा पुरुष सरह सामेल भइन्। 

तिनै राजेन्द्रलक्ष्मीको विवाह भयो, गोर्खाका राजा पृथ्वीनारायण शाहका छोरा प्रतापसिंह शाहसँग। पृथ्वीनारायण शाहको मृत्युपछि २७ वर्षीय प्रतापसिंह राजा बने। राजेन्द्रलक्ष्मी रानी भइन्। करीब ३ वर्षपछि प्रतापसिंहको निधन भयो। समाजले बनाएको नियम अनुसार राजेन्द्रलक्ष्मी सती जानु पर्ने थियो तर त्यसो भएन। विद्रोही स्वभावकी उनी पुन: एकपटक रानी भइन्।

सतीप्रथा स्थापित थियो। पतिको निधनसँगै पत्नी पनि सती जान्थिन् -कति धर्मका नाममा कति समाजले बाध्य बनाएकै कारण। तर, राजेन्द्रलक्ष्मीलाई काखे छोरा र छोराको अधिकारको गद्दीले महत्त्व राख्यो। उनले सती नजाने निर्णय सुनाइन्। गद्दी सम्हाल्न तयार राजकुमार बहादुर शाह भाउजूको पक्षमा उभिए।

साढे दुई वर्षको काखे छोरा रणबहादुर शाहको नाममा शासनभार सम्हालिन्। विक्रम संवत १८३४ देखिको नायवीकालमा उनी साहसी अनि ‘क्रूर’ रूपमा प्रस्तुत भइन्। ससुरा पृथ्वीनारायणले सुरु गरेको राज्य एकीकरण अभियानलाई जिम्मेवारीको रूपमा लिइन्। केही राज्यलाई नेपालको अधीनमा ल्याउन पनि सफल भइन्। आफू विरुद्ध उभिनेलाई हात्तीले कुल्चाएर मारेको प्रसङ्गहरू पनि उनको कथासँग जोडिए। शाह वंशको इतिहासमा शासकको रूपमा नाम लेखाउन सफल र चर्चित पात्र हुन् उनी।

नेपालको इतिहास लेखन पुरुष प्रधान भएर तयार भएकाले राजेन्द्रलक्ष्मीको जति चर्चा हुनुपर्ने हो भएको छैन। इतिहासमा जति लेखिएको छ त्यसको प्रचार उति नै कम छ। त्यसैले विभिन्न देशको राजनीतिमा नेतृत्व गरेका विरङ्गना महिलाहरूको बखान गाउँदै गर्दा हामीलाई महिला शासक, नेतृ सम्झन गाह्रो छ।


******

राजेन्द्रलक्ष्मीको साहसको कथा सम्झाउन वा भनौँ एउटा बहादुर महिलाको कथालाई चर्चामा ल्याउने प्रयास स्वरूप नाट्य नाटिका मञ्चन भइरहेको छ यतिखेर। लेखिएका इतिहासको मोटा किताबहरुबाट शाह वंशको एउटा सशक्त चरणलाई निकालेर नाटकमा प्रस्तुत गरिएको छ।

कत्थकलाई माध्यम बनाएर राजेन्द्रलक्ष्मीको कथा परिकल्पना र निर्देशन गरेकी हुन् नम्रता केसीले। नाटिकाले प्रश्न गर्छ ‘के राजेन्द्रलक्ष्मी इतिहासले बिर्सिनु पर्ने पात्र हुन् र?'

इतिहास बलियो भएर पनि आजको पुस्ताले बुझ्न र खोज्न नपाएको पात्र राजेन्द्रलक्ष्मी हुन् भन्ने निर्देशक साथै अन्य कलाकारको बुझाइ हो। उनै बलियो महिला पात्रको कथा समकालीन महिलाहरूको दृष्टिकोणबाट हेर्ने र देखाउने प्रयास भएको छ।

नाटकबारे निर्देशक नम्रता लेख्छिन्, 'नृत्य नाटिका राजेन्द्रलक्ष्मीलाई म मेरो इतिहासप्रतिको असहमति र भविष्यप्रतिको चिन्ता हो।' र, नाटकको अपेक्षा छ कि सहमति असहमति जे भए पनि हाम्रो इतिहासलाई धेरै प्रश्नको जवाफ आउँदैन। प्रश्न सोध्नुसँगै जवाफ खोज्नु पनि जरुरी छ।

नाटिकाले प्रश्न पनि सोधेको छ र जवाफ पनि खोजेको छ।

नृत्य, सङ्गीत, काव्यिक संवाद, विम्बात्मक प्रयोग र अभिनयसँगैको कथा वाचन। सुरुवातदेखि दर्शकलाई मञ्चसँग बाँधी राख्न सफल छन् कलाकारहरू निश्मा घिमिरे, रिगा घिमिरे, कुन्ती सिमाली, मनीषा बस्नेत, पवन पाठक, निशा कार्की, रेणु योगी, रीतु दर्शनधारी, आत्मा खतिवडा र निर्देशक नम्रता केसी।

तबला र घुङ्गरुको आवाजसँगै सुरु हुन्छ नाटिका। अनेकन भाव मुद्रामा स्थिर बनेर उभिएका कलाकारहरु एकएक गर्दै पात्र बन्छन्। र, गर्छन् राजेन्द्रलक्ष्मी जन्मिनु अघिदेखि उनको बाल्यकाल, किशोर अवस्था, विवाह र रानी भएर राज्य एकीकरणमा योगदान पुर्‍याउँदासम्मको चर्चा। यसरी तरल हुन्छ इतिहासले स्थिर बनाएर राख्न खोजेको महिला भूमिका ।

नाटिकामा कलाकारहरू प्रश्न गर्छन् ‘के राजेन्द्रलक्ष्मी त्यसरी स्थिर बनाएर लुकाइनु पर्ने पात्र हुन् र?’

कलाकार सबै महिला छन्। पुरुष पात्रहरू प्रतापसिंह शाह, बहादुर शाह, मुकुन्द सेन, रणबहादुर शाहको भूमिका पनि महिलाहरूले नै निभाएका छन्। यो सङ्केत हो 'महिलाको कथा हामी महिला आफैँ भन्छौँ' भन्ने। यसै पनि नेपाल एकीकरणको इतिहासमा अभियन्ता पृथ्वी नारायण शाह केन्द्रमा छन्। 'उस्तै महत्त्वपूर्ण भूमिका निभाएकी साहसी राजेन्द्रलक्ष्मी र अन्य पात्रहरूको चर्चा किन गौण?', नाटिका पुन: प्रश्न गर्छ।

नाटकको रोमाञ्चक पक्ष कत्थक नृत्य हो। नृत्यमार्फत प्रस्तुत भइरहेको कथालाई जिवन्तता दिएको छ प्रत्यक्ष वाद्यवाधन र गायनले। जसका लागि धन्यवादका पात्र हुन् अशेष राई, उत्सव बुढाथोकी र सम्यक महर्जन।

युवास्थामा प्रवेश गरेकी राजेन्द्रलक्ष्मीको गोर्खाका राजकुमारसँग विवाहको कुरा चल्छ। कुरा पक्का भएको, विवाह भएको घटना बुझाउन गाइन्छ:

उमेर भयो बिहे गर्ने युवराज प्रताप शाह

प्रस्ताव आयो, कुरा चल्यो हुने भयो विवाह।

राजेन्द्रलक्ष्मी बेहुली भइन्, चढिन् प्रताप डोली

गोर्खा पाल्पा सन्धि भयो, खेलियो खुशीको होली।

यस्तै विभिन्न परिवेशमा फरक फरक गीति संवादको प्रयोग हुन्छ।


****** 
इतिहास जस्ताको त्यस्तै प्रस्तुत भएको छैन। जस्तै बहादुर शाहलाई नजरबन्द दिएर छोड्नु, जबकि सत्ता केही समय उनको हातमा पनि आएको थियो। त्यस्तै सतीप्रथाको विरोधका लागि गर्नु परेको संघर्ष। अवस्थाहरूलाई सतहमा प्रस्तुत गरिरहँदा कत्थक नृत्यलाई बढी महत्त्वमा राखिएको र संवादमार्फत कथा बुझाउन खोजिएको देखिन्छ। सुरुवाती दृश्य, विवाहपछि प्रताप शाहसँग बिताएको समय लगायत अन्य केही दृश्यहरू नतन्काएको भए राजेन्द्रलक्ष्मीले देखाएको साहस र गरेको बहादुरीले निम्त्याएको उथपपुथल अवस्थाहरूलाई पनि देखाउन सकिन्थ्यो।

क्षयरोगका कारण राजेन्द्रलक्ष्मीको निधनबारे जानकारी दिँदै नाटिका सकिन्छ। केही सफलताका कथासहित। उक्त घटनासँग दर्शकको संवेदना जोडिन नसक्नु भने नाटक बिट मार्न गरिएको हतारोको कारण हो भन्ने प्रस्ट हुन्छ। प्रस्तुति सकिए पनि यसले उठाएको विषय, गरेको प्रश्न सकिँदैन।

बरु नयाँ 'डिस्कोर्स' सुरु गरेको छ। जहाँ इतिहासको कथा भन्न उभिएका पात्रहरूले अन्तिममा एकसाथ भन्छन् ‘इतिहासले नभुलोस् हामी राजेन्द्रलक्ष्मीहरूको कहानी।’



इतिहासको चर्चा गर्ने नृत्य नाटिका अर्थात्, 'राजेन्द्रलक्ष्मी' को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट