PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कमजोर बन्दै गोविन्द केसी, उपचारमा संलग्न डाक्टर भन्छन्, 'बेलैमा ध्यान नपुर्‍याए जे पनि हुन सक्छ'



कमजोर बन्दै गोविन्द केसी, उपचारमा संलग्न डाक्टर भन्छन्, 'बेलैमा ध्यान नपुर्‍याए जे पनि हुन सक्छ'

काठमाडौं: जुम्लामा अनशनरत डा गोविन्द केसीको रगतमा अक्सिजनको मात्र कम देखिएको उपचारमा संग्लग्न चिकित्सकहरुले बताएका छन्। त्यस्तै सेता रक्तकोषिकाहरु घट्दो क्रममा रहेकाले डा केसीलाई जुनसुकै बेला पनि गम्भीर संक्रमण हुने खतरा देखिएको छ। संक्रमणबाट बचाउन छुट्टै वार्डको व्यवस्था गर्न उनीहरुको सुझाव छ।

डा प्रवीणकुमार गिरी, डा धीरज गुरुङ र डा सिद्धार्थ खातीले डा केसीको उपचार गरिरहेका छन्। डा केसीको शरीरमा सेता रक्तकोशिका, अक्सिजन र ग्लुकोजको कमी भएकाले जुनसुकै अवस्थामा जे पनि हुन सक्ने उनीहरु बताउँछन्। भन्छन् , उहाँको शरीर कमजोर भइसकेको छ। रोगप्रतिरोधात्मक क्षमता पनि कम, त्यसैले बेलैमा ध्यान नपुर्‍याए जेपनि हुन सक्छ।'

डा गिरीका अनुसार केसीको शरीरमा कमजोरीपनले गर्दा शिथिलता देखिएको छ भने मासु बाउँडिने, जिउ दुख्ने समस्या बढिरहेको छ। यसका साथै रक्तचाप क्रमश: घट्दो क्रममा छ भने पिसाबमा क्रियोटिनाइन पनि बढी रहेको छ। उनको शरीरमा ग्लुकोजको आवश्यकता भए पनि उनले उपचारका क्रममा ग्लुकोजसमेत लिन मानेका छैनन्। 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बस्न जाँदै गर्दा शनिबार उनलाई पक्राउ गरिएको थियो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बस्न पुगेका केसीलाई प्रहरीले पक्राउ गरेपछि उनले हिरासतबाट नै अनशन सुरु गरेका थिए। त्यसपछि केसीलाई  जिल्ला खेलकुद विकासको हलमा ल्याएर छोडिएको थियो। 

चिकित्सकबाट अस्पताल लगेर उपचार गराउनका लागि गरिएको आग्रह र सुझावलाई समेत बेवास्ता गरिएको भन्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर, नर्स तथा कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सारिएको थियो। उनीहरुले डा केसीको जीवन रक्षाको माग गर्दै प्रतिष्ठानको शिक्षण अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका थिए। अहिले देशभरका चिकित्सकहरुले हातमा कालोपट्टी बाधेर काम गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell