PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

गुफामा फसेका बालकहरुले परिवारलाई लेखे चिठी, 'शिक्षकले हामीलाई धेरै गृहकार्य दिएका छैनन्'



गुफामा फसेका बालकहरुले परिवारलाई लेखे चिठी, 'शिक्षकले हामीलाई धेरै गृहकार्य दिएका छैनन्'

बैंकक: थाइल्याण्डको चियाङ राईमा रहेको थाम लुङ गुफामा फसेका बालकहरुले आफू ठिक रहेको र चिन्ता नगर्न भन्दै आफ्नो परिवारलार्इ पत्र लेखेका छन्।

एक बालकले ठट्टा गर्दै लेखेका छन् 'चिन्ता नगर्नुहोस्,  हामी सबै बलियो छौं। शिक्षकले हामीलाई धेरै गृहकार्य दिएका छैनन्।'

१२ बालक र उनीहरुका फुटबल प्रशिक्षक गुफा घुम्न जाने क्रममा त्यहाँ फसेका हुन्। उनीहरु बेपत्ता भएको ९ दिन पछि फेला परेका थिए।

हातले लेखिएको पत्रहरु ब्रिटिस गोताखोरहरुलार्इ शुक्रबार दिइएको थियो। थार्इ नेभी सीलको फेसबुक पेजबाट शनिवार सो पत्रहरु सार्वजनिक गरिएको हो।

पोङ उपनाम भएका बालकले लेखेका छन् 'मेरो बारेमा चिन्ता नगर्नुहोस्, म सुरक्षित छु। '

अर्को एक पत्रमा लेखिएको छ' निकले आमाबुबा र भाइबहिनीलाई माया गर्छ। यदि म बाहिर आए भने आमा र बुबा मेरो लागि मुकाथा (थाई बार्बेक्यु) खान ल्याइदिनु।'

बालकहरुका साथमा रहेका प्रशिक्षकले पनि छुट्टै पत्र लेख्दै बालकहरुका अभिभावकसँग क्षमा मागेका छन्।

२५ वर्षीय प्रशिक्षक एक्कापोल चान्तवङले आफ्नो पत्रमा लेखेका छन् ' प्रिय बालकहरुका अभिभावक, अहिले उनीहरू सबै ठीक छन्, उद्धारकर्ताले हामीलाई राम्रो व्यवहार गरिरहेका छन्। र म वाचा गर्छु कि आफूले सकेसम्म म बच्चाहरुको हेरचाह गर्नेछु। म बालकहरुका अभिभावकसँग क्षमा माग्छु।'

तर अभिभावकहरुले भने प्रशिक्षकको केही दोष नरहेको बताएका छन्।

स्थानिय सरकारको फेसबुक पेजमा राखिएको पत्रमा एक अभिभावकले लेखेका छन् ' आमा र बुबा तिमीसँग रिसाएका छैनन्। हाम्रो बच्चाहरुलार्इ हेरचाह गर्न सहयोग गरेकोमा धन्यवाद।'

पहिरो र लगातारको वर्षाका कारण उनीहरुलार्इ तत्कालै निकाल्न सक्ने अवस्था नरहेको अधिकारीहरुले जनाएका छन्। उनीहरुका लागि आवश्यक सामाग्री गुफामै पुर्‍याउने व्यवस्था गरिएको छ। हिजो मात्र गुफामा फसेकाहरुलाई उद्धारका लागि खटिएका एक गोताखोरको मृत्यु भएको थियो। तर अधिकारीहरुका अनुसार उद्धारकार्य भने जारी रहको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell