PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

७४औँ पटक भिड्दै बेल्जियम र फ्रान्स, पहिलो पटक फाइनल पुग्ने योजनामा बेल्जियम



पहिलोपोस्ट

७४औँ पटक भिड्दै बेल्जियम र फ्रान्स, पहिलो पटक फाइनल पुग्ने योजनामा बेल्जियम

फिफा विश्वकप २०१८ का सेमिफाइनल खेल आजबाट सुरु हुँदैछन्। रसियामा भइरहेको २१औँ संस्करणको विश्वकप अन्तर्गत पहिलो सेमिफाइनलमा आज राति ११:४५ बजे युरोपका दुई टोली फ्रान्स र बेल्जियम भिड्दैछन्।

सेन्ट पिटर्सवर्ग स्टेडियममा खेल्दा दुबैको लक्ष्य फाइनल पुग्नु हुनेछ तर उपाधिको होडबाट एक टोली बाहिरिनेछ। 

विश्वकप सुरु हुनुअघि फ्रान्सलाई दाबेदार टोलीमध्ये एक मानिए पनि बेल्जियमलाई अन्डरडग टोलीको रुपमा हेरिएको थियो। इतिहासकै सबैभन्दा उत्कृष्ट खेलाडीहरु रहेको गोल्डेन जेनेरेसन टोली बेल्जियम फ्रान्सलाई पराजित गर्दै पहिलो पटक विश्वकपको फाइनलमा पुग्न चाहन्छ।

पछिल्लो पटक बेल्जियमले सन १९८६ मा सेमिफाइनल खेल्दा  अर्जेन्टिनासँग पराजित भएको थियो। अर्जेन्टिना उक्त विश्वकप च्याम्पियन समेत बन्यो।

उता सन् १९९८ मा घरेलु भूमिमै उपाधि जितेको फ्रान्स १२ वर्षपछि फाइनल पुग्ने दाउमा छ। सन् २००६ मा फ्रान्स इटलीसँग पराजित हुँदै उपविजेता बनेको थियो।

उत्कृष्ट आक्रमण भएको यी दुई टोलीबीचको खेल प्रतिस्पर्धात्मक हुनेछ नै अर्को एक कारणले गर्द  पनि यो खेलमा अझ रोमाञ्चकता थपिनेछ। कारण सन् १९९८ मा फ्रान्सबाट विश्वकप जितेका थियरी अनरी अहिले बेल्जियमको कोचिङ स्टाफ छन्। उनी रोवर्टो मार्टिनेजको सेकेण्ड म्यान हुन्। २० वर्षको उमेरमै विश्वकप जितेका अनरी फ्रान्सका लेजेण्ड प्लेअर हुन्। यस पटक उन आफ्नै देशको विपक्षमा रणनीति बनाउँदै बेल्जियमलाई जिताउने पक्षमा छन्।

त्यही विश्वकपमा फ्रान्सलाई च्याम्पियन बनाउने कप्तान डिडिएर डेसच्याम्पले अहिले फ्रान्सेली टोली हेरिरहेका छन्। उनले रसियामा फ्रान्सलाई च्याम्पियन बनाउन सके कप्तान र प्रशिक्षकको रुपमा विश्वकप जित्ने तेस्रो व्यक्ति बन्नेछन्। यसअघि मारियो जागोलो र फ्रेन्च बेकनबाउरले मात्र यस्तो गरेका छन्। अनरीलाई बेल्जियमको टचलाइनमा देख्नु विचित्र हुने डेसच्याम्पको भनाई छ।

दुई पहेँलो कार्डका कारण उरुग्वेविरुद्ध क्वार्टरफाइनल गुमाएका फ्रान्सका मिडफिल्डर ब्लइस मटुइडी बेल्जियमविरुद्ध पहिलो रोजाइका लागि उपलब्ध छन्। यस्तै अहिलेसम्म कुनै गोल गर्न नसकेका फरवार्ड ओलिभर जिरुड पनि पहिलो रोजाईमै खेल्ने डेसच्याम्सपले बताएका छन्।

उता दुई पहेँको कार्डका कारण बेल्जियमका थोमस मुनिएर फ्रान्सविरुद्ध खेल्ने छैनन्। उनको अनुपस्थितमा रोवर्टो मार्टिनजेले टिमको फर्मेसन परिवर्तन गर्ने सम्भावना छ।

फ्रान्स र बेल्जियम एकआपसमा ७४औँ पटक भिड्दैछन्। विश्वकपकमा भने यी दुईको यो तेस्रो भेट हुनेछ। यसअघिको दुबै विश्वकप खेल फ्रान्सले जितेको थियो। तर समग्रमा भने बेल्जियमले फ्रान्सलाई ३० पटक हराएको छ। फ्रान्स २४ पटक विजयी हुँदा १९ खेल बराबरीमा सकिएको थियो।

यस्तै सन् १९९४ को युरोकपमा पनि फ्रान्सले बेल्जियमलाई हराएको थियो।

 

फ्रान्स

फ्रान्स विश्वकपमा छैटौँ सेमिफाइनल खेल्दैछ। १९५८, १९८२ र १९८६ मा सेमिफाइलमै पराजित भएको फ्रान्स १९९८ र २००६ मा फाइनल पुगेको थियो।

पेनाल्टी सुटआउट बाहेक फ्रान्सले विश्वकपको पछिल्ला १३ नकआउट खेलमा १ खेल मात्र हारेको छ। सन् २०१४ को क्वार्टरफाइनलमा  फ्रान्स जर्मनीसँग १-० ले पराजित भएको थियो।

फ्रान्सका फरवार्ड एन्टोनी ग्रीजमनले विश्वकप र युरो गरी पछिल्लो ६ नकआउट खेलमा ७ गोल गरिसकेका छन्।

 

बेल्जियम

बेल्जियम यसअघि एक पटक मात्र सेमिफाइनल पुगेको थियो र डिएगो म्याराडोनाले २ गोल गरेपछि अर्जेन्टिनासँग १९८६ मा २-० ले पारजित भएको थियो।

यस्तै सन् १९७२ मा युरोकपको सेमिफाइनल खेलेको बेल्जियम त्यतितेला पश्चिम जर्मनीसँग २-१ ले पराजित भएको थियो।

१९८० को युरोमा समूह चरणमा पहिलो हुँदै सिधै फाइनल खेलेको बेल्जियम पुन: पश्चिम जर्मनीसँगै हारेको थियो।

बेल्जियम पछिल्लो २४ खेलमा अपराजित छ। यसबीचमा उसले १९ खेल जित्दा ५ खेल बराबरी गरेको छ।

रसिया विश्वकपमा बेल्जियमले १४ गोल गरिसकेको छ र यो कुनै टिमले गरेको सर्वाधिक गोल हो। बेल्जियमका ९ खेलाडीले यस विश्वकपमा गोल गरिसकेका छन्। यसअघि सन् १९८२ मा फ्रान्स तथा २००६ मा इटलीका १० फरक खेलाडीले गोल गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell