PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

निर्वाचन नजिकिँदा हिंसाको चपेटामा पाकिस्तान, उम्मेदवार मारिए



पहिलोपोस्ट

निर्वाचन नजिकिँदा हिंसाको चपेटामा पाकिस्तान, उम्मेदवार मारिए
फोटो: time.com/Anadolu Agency/Getty Images

इस्लामावादः मंगलबार मात्र पाकिस्तानको पीके–७८ निर्वाचन क्षेत्रमा अवामी नेसनल पार्टीको एउटा चुनावी बैठकमा आत्मघाती बम आक्रमण भयो। आक्रमणमा परी सोही क्षेत्रका राज्यसभाका उम्मेदवार समेत रहेका अवामी नेसनल पार्टी (एएनपी) का एक नेतासहित २१ जनाको ज्यान गएको छ। 

टाइमका अनुसार विष्फोटको जिम्मेवारी पाकिस्तानी तालिवान समूहले लिएको छ। पाकिस्तानी तालिवानका प्रवक्ता मोहम्मद खुरासानीले वक्तव्य जारी गर्दै उत्तरपश्चिम सहर पेशावरमा भएको आक्रमणको जिम्मा लिएका हुन्। जहाँ राज्यसभाका उम्मेदवार हरुन अहमद विलोरसहित २१ जनाको मृत्यु भयो भने ६५ जना घाइते भए। 

खैबर पख्तुनख्वा राज्यमा एनपीको शासनको समयमा स्लामिक कट्टरपन्थी समूहको प्रभाव बढ्दै गएको हो। पेशावर राजधानी रहेको यस राज्यको स्वात उपत्यकामा सन् २००८ देखि २०१३ सम्ममा स्लामिक लडाकुहरुको प्रभाव बढ्दै गएको थियो। 

सन् २०१३ को निर्वाचनको अगाडि समेत यो समूहले एएनपीका समर्थकहरूमाथि आक्रमण बढाएको थियो। त्यति बेला एएनपीका सयौँ नेता कार्यकर्ताको हत्या भएको थियो। एएनपीलाई विगत लामो समयदेखि पाकिस्तानका स्थानीय तालिबानले तारो बनाएका छन्। 

मंगलबार भएको उक्त हमलामा घाइते भएका मध्ये ३५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। 

मंगलबारको आक्रमणमा मारिएका उम्मेदवारका पिता राज्यका वरिष्ठ मन्त्री बसिर अहमद विलोर समेत सन् २०१२ को डिसेम्बरमा आत्मघाती बम आक्रमणमा परि मारिएका थिए।  

पाकिस्तानमा जुलाई २५ मा आम निर्वाचन हुँदै छ। निर्वाचन नजिकिँदै गर्दा हिंसासमेत भड्किँदै गएको छ। 

पाकिस्तानको निर्वाचन आयोगले प्रचारप्रसार सुरु भएको जनाएको छ र सेनालाई स्वच्छ तथा निष्पक्ष निर्वाचन गराउने काममा सहयोगीको रूपमा विश्वास गरेको छ। 

आगामी निर्वाचनका लागि सुरक्षा खतरा रहेको चर्चा पाकिस्तानमा सुरु भएको छ। अर्कातर्फ पाकिस्तानी सेनाका प्रवक्ताले आगामी निर्वाचनमा सुरक्षा खतरा रहेको भनी प्रतिक्रिया दिएको केही घण्टापछि यता यो हमला भएको हो। 

निर्वाचनको अभियानको पहिलो दिन नै शक्तिशाली हमला भएको अधिकारीले बताएका छन्।

यसैबीच प्रहरीले हमलाकारीलाई अस्पतालबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा घटनामा परी घाइते भएको व्यक्ति भएको डन न्यूजले जनाएको छ। 

यता गत सेप्टेम्बरमा एएनपीका नेतालाई लक्षित गरी बलुचिस्तानमा समेत आक्रमण भएको थियो। त्यति बेला एएनपीका नेता अब्दुल रज्जाक र उनका भाइ अब्दुल खालिक खान स्थानीय पार्टीको बैठकमा सहभागी हुने क्रममा उनीहरूलाई लक्षित गरी आक्रमण भएको थियो। 

त्यस्तै यही वर्ष जुन २३ मा समेत एएनपी र तहारिक इ इन्साफ पार्टीका कार्यकर्ताबीच हिंसात्मक झडप भएको थियो।

यसैबीच आगामी जुलाई २५ मा हुने निर्वाचनमा पाकिस्तानको राष्ट्रिय सेनाले सरकारले दिएको आदेश बमोजिम काम गर्ने तर आफ्नो कुनै स्वार्थ र ‘प्रत्यक्ष भूमिका नरहने’ बताएको छ। 

पाकिस्तानको सेनाले आगामी निर्वाचनको विषयलाई लिएर यहाँका सञ्चारमाध्यम र सत्ताधारी दलमाथि दबाब सिर्जना गर्न खोजेको भनी आरोप लागेकोमा त्यसप्रति लक्षित गरी सेनाका प्रवक्ताको यो भनाइ आएको हो। 

पाकिस्तानमा शक्तिशाली मानिने सेनाले आरोपको खण्डन गर्दै करिब तीन लाख ७० हजार सेना निर्वाचनमा खट्ने र आफ्नो कुनै स्वार्थ नरहने पाकिस्तानी सेनाका मेजर जनरल असिफ घाफुरले बताएका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell