PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

अतिरिक्त समयमा निर्णायक गोल गरेपछि क्रोएसिया पहिलो पटक फाइनलमा, पाँचौँ मिनेटमै अग्रता लिएर पनि इंग्ल्याण्ड पराजित

अतिरिक्त समयमा निर्णायक गोल गरेपछि क्रोएसिया पहिलो पटक फाइनलमा, पाँचौँ मिनेटमै अग्रता लिएर पनि इंग्ल्याण्ड पराजित

पहिलोपोस्ट /पहिलोपोस्ट


इभान पेरिसिक र मारियो मान्डुकिचको गोल मद्दतमा इंग्ल्याण्डलाई अतिरिक्त समयमा पराजित गर्दै क्रोएसिया पहिलो पटक विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

रसियामा भइरहेको विश्वकप २०१८ को दोस्रो सेमिफाइनलमा इंग्ल्याण्डलाई २-१ ले पराजित गर्दै क्रोएसियाले फ्रान्ससँग उपाधि भिडन्त पक्का गरेको हो। इंग्ल्याण्डले भने अब तेस्रो स्थानको लागि बेल्जियमसँग खेल्नेछ।

खेलको पाँचौ मिनेटमै पछि परेको क्रोएसियाले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको थियो।

विश्वकप खेल्न थालेको दुई दशकपछि क्रोएसियालाई फाइनलमा पुर्‍याउन मारियो मान्डुकिचले अतिरिक्त समयमा निर्णायक गोल गरे। निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समयको १९औँ मिनेटमा मान्डुकिचले पेरिसिकको पासमा गरेको गोल क्रोएसियालाई जित दिलाउन पर्याप्त भयो।

सुरुमै अग्रता लिएर पनि त्यसलाई कायम राख्न नसक्दा ५२ वर्षपछि विश्वकपको फाइनल पुग्ने थ्री लायन्सको सपना भने यस पटक अधुरै रह्यो।

सेन्ट पिटर्सवर्गस्थित लुजनिकी स्टेडियममा भएको खेलको पाँचौ मिनेटमै किरन ट्रिपीएरले फ्रिकिकमार्फत गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा लिएको एक गोलको अग्रतालाई थ्री लायन्सले दोस्रो हाफको पनि आधा समयसम्म कायम राखेको थियो।

तर त्यसपछि भने खेलमा फरक मोड आयो। क्रोएसियाले बराबरी गोल फर्कायो। ६८औँ मिनेटमा क्रोएसियाका इभान पेरिसिचले सिम भर्लाज्कोको क्रसमा गोल गर्दै खेललाई १-१ को को स्थितीमा पुर्‍याए। त्यस लगत्तै पेरिसिकको प्रहार पोष्टमा लाग्दा क्रोएसियाले अग्रता लिने मौका गुमाएको थियो।

निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समय थपियो।

विश्वकपको इतिहासमा अतिरिक्त समयको गएको यो नवौँ सेमिफाइनल हो। यसअघिका ८ सेमिफाइनल मध्ये ५ सेमिफाइनलको नतिजा पेनाल्टीसुटआउटबाट टुङ्गो लागेको थियो।

क्रोएसियाले अतिरिक्त समयमा खेल जितेको यस विश्वकपमा यो लगातार तेस्रो खेल हो। क्रोएसियाले प्रिक्वाटरफाइनलमा डेनमार्क र क्वाटरफाइनलमा आयोजक रसियालाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो।

सन् १९९८ मा डेब्यु विश्वकपमै सेमिफाइनल पुगेको क्रोएसियाले विश्वकपमा अहिलेसम्कै उत्कृष्ट प्रदर्शन गरेको हो। २० वर्षअघि क्रोएसिया फ्रान्ससँगै सेमिफाइनलमा पराजित भएको थियो।

अब त्यही प्रान्ससँग क्रोएसियाले पहिलो पटक विश्वकप उपाधि जित्ने लक्ष्यका साथ आगामी आइतवार लुजनिकी स्टेडियममै फाइनल खेल्दैछ।



ट्रेन्डिङ पोस्ट

Ncell