PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

डाक्टरहरुलाई त बाटोमा राखेको मादल नै बनाए : डा लोचन कार्की



सागर बुढाथोकी

डाक्टरहरुलाई त बाटोमा राखेको मादल नै बनाए : डा लोचन कार्की

गत मंगलबार दिउँसो राष्ट्रिय ट्रमा सेन्टरबाट डाक्टर भोजराज अधिकारी 'उठाइए'। गृहमन्त्रीले भेट्न बोलाएको भन्दै उनलाई जबर्जस्ती मन्त्रालय लगियो। गलत रिपोर्ट बनाउन दवाव दिइयो। अधिकारीले टेरेनन्, मन्त्री रामबहादुर थापाले पनि उनलाई भेटेनन्। अधिकारीले यसलाई यातनाका रुपमा सार्वजनिक गरिदिए। नेपाल चिकित्सक संघले घटनाको कडा विरोध गरेको छ। यसै विषयमा संघका महासचिव डाक्टर लोचन कार्कीसँग सागर बुढाथोकीले गरेको कुराकानी-
 

डाक्टर अधिकारीलाई गृह मन्त्रालयमा ‘यातना दिएको’ भन्ने घटनाको वास्तविकता के हो?

घटनाका बारेमा जे-जति सार्वजानिक भएको छ, सत्य हो। डाक्टर भोजराज भट्ट अर्थोपेडिक सर्जन हो। घटनाको बारेमा उहाँले हामीलाई बताइसक्नु भयो। दश/बाह्र जना गृह मन्त्रालयका मान्छेहरु आएर उहाँलाई लगेछन्। गृह मन्त्रालय पुर्‍याएपछि एक घण्टासम्म एक्लै राखिएछ। केही माओवादी कार्यकर्तालाई द्वन्द्वकालको घाइते भन्दै गलत ढंगले ‘अपांगता रिपोर्ट’ तयार पार्न दबाब दिएछन्। केरकार गरेछन्। ‘जनयुद्धका महान योद्धाहरुको मन नदुखाउनुस्’ भन्दै धम्क्याएछन् पनि। 

यो घटनाले हामी सम्पूर्ण डाक्टरहरुलाई मानसिक तनाव दिएको छ। सरकारले थर्काएर, धम्क्याएर पठाउँदा डाक्टरहरु सहेर बस्नुपर्ने बाध्यता छ। नीति, नियम केही नभएर डाक्टरहरुलाई एकपछि अर्को प्रहार गरिँदैछ।

हुन त अस्ति विश्वविद्यालयको उपकुलपतिलाई पनि अपहरणको शैलीमा लगियो। यस्तै हुँदै गयो भने सबै पेशाका मानिसहरु सरकारबाट असुरक्षित हुने देखियो।
 

ड्युटीमा रहेका चिकित्सकलाई त्यसरी लैजान मिल्छ?

कामकाज पर्दा, इमर्जेन्सी पर्दा अस्पतालको डाइरेक्टर वा प्रशाशनले पठायो भने हामी जहाँ पनि जानुपर्छ। तर, अहिले त बिना जानकारी अनुमति नलिई, गृहमन्त्रीले बोलाउनुभएको छ भन्दै लगियो। यसरी ड्युटीमा रहेका डाक्टर लैजान कुनै नीति नियमले दिँदैन तर यहाँ मनपरी भइरहेको छ।

गृह मन्त्रालयले आफ्नो अधिकारभन्दा बाहिरको काम गरेको छ। मानसिक रुपमा तनाव दिएको छ। जबर्जस्ती अपहरण शैलीमा लगिएको छ। एक-एक घण्टा कुराएर केरकार गरिएको छ। गलत रिपोर्ट नबनाए जे पनि हुन्छ भन्दै धम्क्याएको छ। हामी डाक्टरहरु पनि मानिस हौं। हाम्रो नि अधिकार हुन्छ। आफ्नै इथिक्स हुन्छ। उहाँहरु इथिक्समा बस्नुभएन भने हामीले नि इथिक्स बिर्सनु भएन नि।
 

चिकित्सक संघले के गर्छ त अब?

हामी के गर्ने र नगर्ने भन्ने दोधारमा छौं। हामीले यो घटनाप्रति विरोध जनायौं। राज्यको कदम गलत छ भन्यौं। हामीले गर्न सक्ने नै के छ र? हामी त बाटोको मादल जस्तो भयौं, जो पनि आउँछ, बजाउँछ, जान्छ। बिरामीको आफन्तले नि बजाउँछ। सुरक्षा दिनुपर्ने राज्यले नै गलत रिपोर्ट बनाउन दबाब दिँदै धम्क्याउँछ। राज्यबाट नै यस्तो भएपछि हाम्लाई सुरक्षा कसले दिने? हाम्रो हक अधिकारको बारेमा कस्ले बोल्ने? डाक्टरहरुमा वितृष्णा जागेको छ।
 
बिरामीको आफन्त, अस्पताल, राज्यदेखि सबैको प्रहार डाक्टरमाथि छ। नीति नियम बनाउन गरेको यत्रो वर्षको आन्दोलन खेर गएको छ। हामी राज्यबाटै असुरक्षित छौं।
 

धेरैजसो घटनालाई अतिरञ्जित गरिएको पनि हुन्छ। यो घटना पनि त्यस्तै त हैन?

कसरी अतिरञ्जित भयो यो घटना? उहाँलाई ड्युटीमै रहँदा बिना अनुमति लिएर गएकै हो। एक घण्टा कुराएकै हो। गलत रिपोर्ट बनाउन दबाब दिएकै हो। धम्क्याएकै हो। यो कुरा सत्य हो। उहाँलाई लगेको कुरा मन्त्रालयले नि स्वीकार गरिसकेको छ। विना अनुमति ड्युटीमा हुँदा लगेर गलत रिपोर्ट बनाउन दबाब दिनु नै गलत हो। 

पहिलाको घटनाहरुको कुरा गर्नुहुन्छ भने डाक्टरहरुले पिटाइ खाएको अस्पताल तोडफोड गरेको नि सत्य हो। हामीले केही अतिरञ्जित गरेका छैनौं। हामीले आफूलाई भगवान भनेका छैनौं। मान्छे हो, गलत हुन्छ। त्यसो गर्ने डाक्टरलाई कारवाही गर्न सहयोग गर्छौं। तर, गलत गरेको प्रमाणित नभइ हामिमाथि हातपात गर्न पाइन्न। अहिलेको अवस्था त झनै डरलाग्दो छ। यस्ता घटनाहरुले राम्रो संकेत गरेका छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell