PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

राजपामा संसदीय दलको नेता छान्न चुनावको तयारी, महन्थ ठाकुर र राजेन्द्र महतोको प्रतिस्पर्धा



राजपामा संसदीय दलको नेता छान्न चुनावको तयारी, महन्थ ठाकुर र राजेन्द्र महतोको प्रतिस्पर्धा

काठमाडौं : संसदीय दलको नेताका लागि सहमति जुट्न नसकेपछि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले चुनावको तयारी गरेको छ। 
संघीय संसदको तेस्रो ठूलो दल राजपामा संसदीय दलको नेताका लागि संयोजक महन्थ ठाकुर र अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो आकांक्षी छन्।

दुबै नेताबीच सहमति हुन नसक्दा संसदीय निर्वाचन सम्पन्न भएको लामो समय बित्दासमेत राजपाले संसदीय दलको नेता पाउन सकेको छैन। 
हालै सम्पन्न राजपाको राजनीतिक समितिको बैठक र संसदीय दलको बैठकले सहमतिमै संसदीय दलको नेता चयन गर्न दबाब दिएको थियो।
तर बिहीबारको अध्यक्ष मण्डलको बैठकमा पनि नेताद्वयबीच सहमति हुन सकेन। सहमति हुन नसक्दा संयोजक ठाकुर बैठकबाट बाहिरिएका थिए। त्यसलगत्तै महतो पनि बाहिरिए। अन्य चार जना अध्यक्षहरुले छलफल गरेपनि सहमति हुन सकेन।

ठाकुर पक्षले सहमति मै संसदीय दलको नेता चयन गर्न दबाब दिदैछ भने महतो पक्ष निर्वाचनमा जाने तयारी गर्दै आएको छ। 
यसैबीच ठाकुर पक्षले प्रतिनिधि सभाको संसदीय दलको निर्वाचनमा राष्ट्रिय सभा सदस्यहरुले पनि मतदान गर्न पाउनु पर्ने दाबी गरेको छ जसको विरोध महतोले गरेका छन्। 

यस्तो छ समीकरण

महतो पक्षले आफूहरु बलियो रहेकोले चुनावको पक्षमा जाने लविङ गर्दैछ। प्रतिनिधि सभामा १७ सांसद रहेको राजपामा आफ्नो पक्षमा बहुमत सांसद रहेको महतो पक्षको दावी छ।

महतोको पक्षमा महतोसहित, शरतसिंह भण्डारी, लक्ष्मणलाल कर्ण, रेशमलाल चौधरी, रानी मण्डल, प्रमोद साह, निर्जला राउत, नरमाया ढकाललगायत ९ जना रहेको दाबी गरिएको छ।

ठाकुरको पक्षमा महेन्द्र राय यादव, अनिल कुमार झा, राजकिशोर यादव, दुलारीदेवी खत्वे, चन्द्रकान्त चौधरीलगायतको रहेको दाबी गरिएको छ। ठाकुर पक्षले आफूहरुसँग पनि बहुमत रहे पनि सहमतिमा जाने पक्षमा रहेको दाबी गरे।

कैलाली क्षेत्र नम्बर एकबाट अत्याधिक मतले निर्वाचित रेशम चौधरी भने डिल्लीबजार कारागारमा रहेका छन्। टीकापुर घटनाका आरोपित चौधरीसँग जेलबाटै मत लिइने तयारी अध्यक्ष मण्डलको रहेको छ।

पहिलोपोस्टसँग कुराकानी गर्दै राजपा अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाले शुक्रबार अबेरसम्म पनि सहमतिमै संसदीय दलको नेता चयनका लागि प्रयास हुने बताए। उनले रेशम चौधरी र प्रतिनिधि सभाका सदस्यहरुले मतदान गर्ने विषयमा शुक्रबार मात्रै छलफल हुने दाबी गरे।

स्रोतका अनुसार मतदानमा गएको खण्डमा राजपाका केही सांसदहरु तटस्थ बस्ने तयारीमा समेत रहेका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell