PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

इंग्ल्यान्ड र बेल्जियम आज भिड्दै : तेस्रो बन्ने होडमा कसले मार्ला बाजी?



पहिलोपोस्ट

इंग्ल्यान्ड र बेल्जियम आज भिड्दै : तेस्रो बन्ने होडमा कसले मार्ला बाजी?

रसियामा जारी विश्वकपमा आज तेस्रो स्थानका लागि दुर्इ छिमेकी राष्ट्रहरु इंग्ल्यान्ड र बेल्जियम बेलुकी ७:४५ बजे सेन्ट पिटर्सबर्ग स्टेडियममा भिड्दैछन्। 

क्रोएसियासँग २-१ गोल अन्तरले पराजित हुँदै इंग्ल्यान्ड उपाधी होडबाट बाहिरिएको हो। यस्तै फ्रान्ससँग १-० ले पराजति भएपछि बेल्जियमको फाइनलसम्म पुग्ने सपनामा पूर्णविराम लाग्यो। 

रसिया विश्वकपमा एउटै समूहमा थिए इंग्ल्यान्ड र बेल्जियम। बेल्जियम समूह चरणका सबै खेल जित्दै पहिलो हुँदै नक-आउट चरणमा पुगेको थियो भने इंग्ल्यान्ड समूहमा दोस्रो हुँदै नक-आउट चरणमा स्थान बनाउन सफल भएको थियो। रसियामा २८ जुलार्इमा भएको समूह चरणको खेलमा बेल्जियमले १-० गोलले इंग्ल्यान्डलार्इ पराजित गरेको थियो। फेरि ती दुवै टोली आज तेस्रो स्थानका लागि भिड्न मैदानमा उत्रँदैछन्। इंग्ल्यान्ड समूह चरणमा भोगेको हारको बदला लिने होडमा रहेनेछ भने बेल्जियम तेस्रो स्थान पाउन इंग्ल्यान्डमाथिको विजय यात्रा कायम राख्ने दाउमा हुनेछ।

इंग्ल्यान्ड र बेल्जियमले हालसम्म २२ खेलमा प्रतिस्पर्धा गरिसकेका छन्। १५ खेलमा इंग्ल्यान्ड विजय भएको छ भने र बेल्जियमले ३ पटक मात्र इंग्ल्यान्डलार्इ पराजित गरेको छ। बाँकी चार खेल बराबरीमा टुंगिएको थियो। समग्रमा इंग्ल्यान्ड बलियो देखिए पनि रसियामा बेल्जियमले इंग्ल्यान्डको भन्दा राम्रो प्रदर्शन गरेको छ। 

१९८६ विश्वकपमा चौथो भएको बेल्जियमको विश्वकपको राम्रो रेकर्ड नै त्यही हो। २८ वर्ष पछि सेमिफाइनलमा पुगेको बेल्जियमलार्इ धेरैले उपाधी दाबेदार मानेका थिए। तर, फ्रान्ससँगको खेलमा उनीहरुले अपेक्षा अनुरुप खेल्न सकेनन्। आज इंग्ल्यान्डसँग तेस्रो स्थानको लागि हुने खेलमा बेल्जियम विगतका कुरा बिर्सिदै नयाँ शुरुवता गर्ने आत्मविश्वासका साथ मैदानमा उत्रनेछ।  

१९६६ विश्वकपमा आफनै देशमा आयोजना भएको विश्वकप उपाधी जितेको इंग्ल्यान्ड त्यसयता फाइनलमा पुग्न सकेको छैन। यसपटक युवा जोशले भरिएको इंग्ल्यान्ड टोलीले नयाँ इतिहास रच्ने विषयमा धेरै आशावादी थिए। तर, सेमिफाइनलमा क्रोएसियासँग पराजित भएपछि थ्री लायन्सको त्यो सपना पूरा हुन सकेन। त्यसैले रसियामा उसको अगाडि फेरि एक पटक बेल्जियम प्रतिस्पर्धीमा रुपमा रहन पुग्यो। समूह चरणको हारको बदला लिने अवसर इंग्ल्यान्डसँग रहेको छ।  

आजको खेलमा बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले आफ्नो टोलीमा केही फेरबदल गर्न सक्ने अनुमान गरिएको छ। तर गयारेथ साउथगेटको प्रशिक्षणमा रहेको इंग्ल्यान्ड टोलीमा भने फेरबदल हुने सम्भावना छैन। 

आजको खेललार्इ इंग्ल्यान्ड र बेल्जियमको भन्दा ह्यारी केन र रोमेलु लुकाकुबीचको भिडन्तका रुपमा हेरिएको छ।  ह्यारी केन रसिया विश्वकपमा ६ गोल सहित गोल्डेन बुटका प्रमुख दाबेदारका रुपमा रहेका छन् भने रोमेलु लुकाकु ४ गोल सहित केनलार्इ टक्कर दिँदैछन्। दुवै खेलाडीले नक-आउट चरणमा राम्रो प्रदर्शन गर्न नसकेकोमा आलोचित भएका थिए। आज केन र लुकाकु सामु आफैलार्इ प्रमाणित गर्ने र आफ्नो टोलीलार्इ सान्तवना जित दिलाउने अवसर रहेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell