PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

४ वर्षपछि कतारमा हुने विश्वकपको तोकियो मिति, युरोपियन लिगहरु अन्योलमा



पहिलोपोस्ट

४ वर्षपछि कतारमा हुने विश्वकपको तोकियो मिति, युरोपियन लिगहरु अन्योलमा

फिफाले सन् २०२२ मा कतारमा हुने विश्वकपको मिति सार्वजनिक गरेको छ। फिफा अध्यक्ष गियानी इन्फान्टियोले पत्रकार सम्मेलन गर्दै आगामी विश्वकपको मिति सार्वजनिक गरेका हुन्।

प्राय जुन - जुलार्इमा हुँदै आएको विश्वकप २०२२ मा भने नोभेम्बर २१ देखि डिसेम्बर १८ का बीचमा हुने भएको छ। पहिले नै कतारमा हुने भनिएको विश्वकपको मितिलार्इ लिएर विवाद हुँदै आएको थियो। वर्षको अन्तिमतिर क्लब फुटबलमा असर पर्नेसक्ने भन्दै धेरैले फिफालार्इ मितिका बारे पुर्नविचार गर्न भनेका थिए।

२०१० मा फिफाले विवादका बीच कतारलार्इ २०२२ विश्वकप आयोजना गर्ने अधिकार दिएको थियो। गर्मी महिनामा कतारमा अत्याधिक तापक्रम बढ्ने भएको भन्दै फिफाले सन् २०१५ मा कतारलार्इ जाडो याममा विश्वकप आयोजना गर्न प्रस्ताव गरेको थियो। यस प्रस्तावबाट युरोपियन लिग लगायत अन्य लिगहरु प्रभावित हुने भन्दै विरोध भएको थियो। 

मिति तय भए पनि इन्फान्टियोले २०२२ मा विश्वकपमा सहभागी हुने राष्ट्रको संख्या बताएका छैनन्। फिफाले आगामी विश्वकपमा सहभागी हुने राष्ट्रहरुको संख्या ३२ बाट ४८ पुर्यायउने बताउँदै आएको थियो। 

इन्फान्टियोले भने, '४८ टोलीलार्इ समावेश गर्ने आइडिया हो। कतारसँग हाम्रो सम्झौता र कन्ट्रयाक्ट छ। तर, अहिले नै ३२ वा त्यो भन्दा बढी टोली हुन्छ भन्ने समय होइन। हाललार्इ जे पनि हुन सक्छ। ४८ वटा टोली हुँदा धेरै क्षेत्रीय समस्याहरु समाधान हुन सक्छन्, त्यसैले म त्यो सम्भावनाको ढोका बन्द गर्न चाहन्न।' 

फिफाले २०१७ मा २०२६ विश्वकपबाट सहभागी हुने राष्ट्रको संख्या ३२ बाट ४८ बनाउने निर्णय गरेको थियो।

यसैबीच फ्रान्स र क्रोएसियाबीच हुने विश्वकपको फाइनल खेल हेर्न १० भन्दा बढी देशका राष्ट्र प्रमुख र सरकार प्रमुखहरु मस्को पुगेका छन्। फ्रान्स, क्रोएसिया, प्यालेस्टाइन, ग्याबोन, सुडान, माल्डोभा, हंगेरी लगायत देशका प्रमुखहरु विश्वकप फाइनल खेलका लागि मस्कोमा हुनेछन्। उनीहरु सबैसँग रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले भेटवार्ता गर्ने कार्यक्रम रहेको रसियन अधिकारीले जनाएका छन्।   

२०२२ विश्वकप आयोजक कतारका आमिर शेख तामिम बिन हमाद अल थानी पनि फाइनल खेलमा सहभागी हुन रसिया जाने भएका छन्। थानी र पुटिनबीच भेटवार्ता हुने बताइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell