PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

इंग्ल्याण्डलाई २-० ले हराउँदै बेल्जियम बन्यो तेस्रो, विश्वकपमा रेड डेभिल्सको अहिलेसम्मकै उत्कृष्ट नतिजा

इंग्ल्याण्डलाई २-० ले हराउँदै बेल्जियम बन्यो तेस्रो, विश्वकपमा रेड डेभिल्सको अहिलेसम्मकै उत्कृष्ट नतिजा

पहिलोपोस्ट /पहिलोपोस्ट


थोमस मुनिएर र कप्तान एडेन हाजार्डको गोल मद्दतमा इंग्ल्याण्डलाई पराजित गर्दै बेल्जियम विश्वकप २०१८ मा तेस्रो भएको छ।

रसिया विश्वकपमा तेस्रो स्थानको लागि भएको खेलमा गोल्डेन जेनेरेसन टोलीले इंग्ल्याण्डलाई २-० ले हरायो। यो नतिजा बेल्जियमको लागि विश्वकपमा अहिलेसम्मकै उत्कृष्ट नतिजा हो।

यसअघि सन् १९८६ मा पहिलो पटक सेमिफाइनल खेलेको बेल्जियम चौथो भएको थियो। त्यतिबेला सेमिफाइनलमा म्याराडोनाको अर्जेन्टिनासँग पराजित भएको बेल्जियम तेस्रो स्थानको लागि भएको खेलमा फ्रान्ससँग पराजित भएको थियो।

सेन्टपिटर्सवर्गमा भएको खेलको चौथो मिनेटमै थोमस मुनिएरले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए। उनले नासेर चाड्लीको पासमा गोल गरेका हुन्। मुनिएर यस विश्वकपमा बेल्जियमका लागि गोल गर्ने दशौँ खेलाडी हुन्।

उक्त गोलसँगै बेल्जियमले एकै विश्वकपमा दश फरक खेलाडीले गोल गर्ने सन् १९८२ मा फ्रान्स र सन् २००६ मा इटलीको कीर्तिमान बराबरी गरेको छ।

७०औँ मिनेटमा इंग्ल्याण्ड बराबरी नजिक पुगेपनि बेल्जियमका डिफेण्डर टोबी अल्डरवेरल्डले  एरिक डाएरको प्रहार गोललाइनबाट क्लियर गरेपछि बेल्जियम गोल खानबाट जोगिएको थियो।

बेल्जियमले अन्तिम १० मिनेटभित्रगोल थप्यो। ८२औँ मिनेटमा कप्तान एडेन हाजार्डले केभिन डे ब्रुएनाले उपलब्ध गराएको बललाई डि एरिया भित्र ड्रिबल गर्दै गोल गर्दै बेल्जियमलाई २-० को अग्रता दिलाए।

खेलमा इंग्ल्याण्डले पनि गोल गर्ने केही अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेन। सेमिफाइनलमा बेल्जियम फ्रान्स तथा इंग्ल्याण्ड क्रोएसियासँग पराजित भएको थियो।

समूह चरणमा पनि बेल्जियमले इंग्ल्याण्डलाई १-० ले हराएको थियो।

विश्वकप २०१८ को उपाधिका लागि भोली फ्रान्स र क्रोएसियाबीच राती ८:४५ बजे लुजनिकी स्टेडियममा खेल हुनेछ।

 



ट्रेन्डिङ पोस्ट

Ncell