PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

विश्वकप फाइनल: दोस्रो पटक उपाधि जित्ने फ्रान्सको लक्ष्य, क्रोएसियाको नजर १९९८ को बदलासहित पहिलो उपाधि



पहिलोपोस्ट

विश्वकप फाइनल: दोस्रो पटक उपाधि जित्ने फ्रान्सको लक्ष्य, क्रोएसियाको नजर १९९८ को बदलासहित पहिलो उपाधि

२१औँ संस्करणको फिफा विश्वकपको फाइनल खेल आज हुँदैछ। एक महिना र ६३ खेलपछि फ्रान्स र क्रोएसिया विश्वकप २०१८ को उपाधिका लागि भिड्दैछन्।

सेमिफाइनलमा फ्रान्सले बेल्जियमलाई १-० ले तथा क्रोएसियाले इंग्ल्याण्डलाई २-१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन्। सन् १९९८ मा घरेलु मैदानमै उपाधि जितेको फ्रान्सको यो तेस्रो फाइनल हो। फ्रान्स २००६ को फाइनलमा इटलीसँग पराजित भएको थियो।

उता १९९८ मा पहिलो पटक विश्वकप खेलेको क्रोएसिया फाइनल पुगेको यो पहिलो पटक हो। पहिलो सहभागितामै सेमिफाइनल पुगेको क्रोएसिया त्यतिखेर फ्रान्सँगै पराजित भएको थियो। क्रोएसियालाई २० वर्षपछि फ्रान्ससँग हारको बदला लिने अवसर मिलेको छ। 

८ वर्षपछि विश्वकपमा नयाँ टिम (क्रोएसिया) फाइनल प्रवेश गरेको छ। सन् २०१० मा स्पेन पहिलो पटक फाइनल पुग्दै विश्वकप नै जित्न सफल भएको थियो। त्यतिखेर स्पेन पहिलो खेलमा पराजित भएको थियो तर त्यसपछिका बाँकी खेल जित्दै च्याम्पियन बन्यो।

फ्रान्स र क्रोएसिया दुवै अपराजित रहँदै विश्वकपको फाइनल पुगेका हुन्। फाइनल यात्रामा दुबैले दुई-दुई पूर्व च्याम्पियनलाई पराजित गरिसकेका छन्। फ्रान्सले प्रिक्वार्टरफाइनलमा दुई पटकको च्याम्पियन अर्जेन्टिना तथा क्वार्टरफाइनलमा पनि दुई पटककै च्याम्पियन उरुग्वेलाई हराएको थियो।

यस्तै क्रोएसियाले समूह चरणमै अर्जेन्टिनालाई पराजित गरेको थियो भने सेमिफाइनलमा सन् १९६६ को विजेता इंग्ल्याण्डलाई पराजित गर्‍यो। क्रोएसियाले पहिलो पटक फाइनल पुग्ने क्रममा नकआउट चरणको दुई खेल पेनाल्टी सुटआउटमा जितेको थियो। सन् १९९८ मा पहिलो सहभागितामै सेमिफाइनल पुगेको क्रोएसियाले २० वर्षपछि उक्त सफलता भन्दा अझ राम्रो प्रदर्शन गर्‍यो। क्वार्टरफाइनलमा जर्मनीलाई पराजित गरेको क्रोएसिया सेमिफाइनलमा घरेलु टोली फ्रान्सँगै अग्रता लिएर पनि पराजित भएको थियो र अन्त्यमा फ्रान्स नै च्याम्पियन बन्यो।

२० वर्षपछि क्रोएसियाको लागि फ्रान्सविरुद्ध बदला लिने अवसर समेत मिलेको छ।

३२ वर्षीय मिडफिल्डर लुका मोडरिचको प्रेरणादायी प्रदर्शनमा क्रोएसियाले यसपटक फुटबल पण्डितहरुलाई नै गलत सावित गर्दै फाइनल यात्रा तय गरेको छ। फ्रान्स भने स्वभाविक उपाधि दाबेदारको रुपमा रहेको थियो। अब उपाधिबाट दुबै टोली एक जित टाढा छन् तर एक टिमले मात्र जुलाई १५ मा लुजनिकी स्टेडियममा विश्वकपको ट्रफी उचाल्ने मौका पाउनेछ।

फ्रान्सका प्रशिक्षक डिडिएर डेस्च्याम्प्स क्रोएसियालाई हराउँदै उपाधि जितेमा खेलाडी र प्रशिक्षकको रुपमा विश्वकप जित्ने तेस्रो व्यक्ति बन्नेछन्। उनकै कप्तानीमा २० वर्षअघि फ्रान्स च्याम्पियन बनेको थियो।

डेसच्याम्प्सले फ्रान्सेली टिममा टिम स्प्रिट रहेको र त्यसले जस्तो काम पनि गर्न सक्ने बताएका छन्। उनले खेलाडीहरु युवा रहेको र २ देखि ४ वर्षभित्रमा उनीहरु अझै बलियो हुने बताए। ‘हामीले विश्व च्याम्पियन हुनका लागि अवसर तयार पारेका छौँ तर हामी अहिल्यै त्यहाँ पुगेका छैनौँ। तर हामी आफ्नो लक्ष्य पूरा गर्न चाहन्छौँ।’

क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालिकले ठूला टिम स्टार खेलाडीमा निर्भर रहेकोले अहिले बाहिरिसकेको बताउँदै आफ्नो टिम सन्तुलित भएकोले अझै उपाधि लागि भिडन्तमा रहेको बताएका छन्।

‘यो एकदमै अनौठो खालको विश्वकप रह्यो। फुटबल धेरै विकसित भइसक्यो र कुनै पनि टिमसँग अहिले राम्रो डिफेन्स छ त्यसैले कुनै ठूलो मार्जिनले हार्दैन र टिम नै सबैथोक हो।’

डालिक गत वर्ष अक्टोबरमा मात्र क्रोएसियाको प्रशिक्षक बनेका थिए। त्यतिखेल उनको चुनौती भनेकै क्रोएसियालाई क्वालिफाइङ खेलमा जिताउनु र विश्वकपमा छनोट गराउनु थियो। तर उनले यी सबै काम गर्दै अहिले क्रोएसियालाई विश्वविजेताको नजिक पुर्‍याएका छन्। खेलाडीलाई हौसला दिन, टिमको मनोबल बढाउन डालिक माहिर छन्।

यदी फ्रान्सलाई हराउँदै उपाधि जितेमा क्रोएसिया विश्वकप जित्ने नवौँ राष्ट्र बन्नेछ। उता फ्रानसले जितेमा मल्टिपल विश्वकप जित्ने छैटौँ राष्ट्र बन्नेछ।

 

म्याच फ्याक्ट्स

हेड टु हेड

  • फ्रान्स र क्रोएसिया यसअघि समग्रमा ५ पटक भिडेका छन्। यसमा फ्रान्स अपराजित रहेको छ। फ्रान्सले ३ खेलमा जित्दा २ खेल बराबरीमा सकिएको थियो।
  • विश्वकप १९९८ र युरोकप २००४ मा यी दुई टोली एकआपसमा खेलेका थिए। सन् १९९८ मा फ्रान्सले एक गोलले पछि परेको स्थिती उल्ट्याउँदै क्रोएसियालाई २-१ ले पराजित गरेको थियो। जसमा दुबै गोल लिनियन थुरामले गरेका थिए।
  • २००४ को युरोमा भने फ्रान्स र क्रोएसियाले २-२ को बराबरी खेलेका थिए। पछिल्लो पटक सन् २०११ मा भएको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो। ७ वर्षपछि यी दुई टोली एकआपसमा भिड्न लागेका हुन्।

फ्रान्स

  • फ्रान्स तेस्रो वा सोभन्दा बढी विश्वकपको फाइनल पुग्ने छैटौँ राष्ट्र हो। जर्मनीले ८, ब्राजिल र इटलीले समान ६, अर्जेन्टिनाले ५ तथा नेदरल्याण्ड्सले ३ पटक विश्वकपको फाइनल खेलिसकेका छन्।
  • युरो कपसहित फ्रान्सले ठूलो प्रतियोगितामा फाइनल खेल्न लागेको यो छैटौँ पटक हो। यसअघिको पाँचमध्ये फ्रान्सले ३ फाइनल जितेको थियो।
  • फ्रान्सले विश्वकपको फाइलमा गरेको ४ मध्ये ३ गोल सेटपिसबाट सम्भव भएको थियो। जसमा दुई कर्नर र एक पनाल्टी थियो।
  • यस विश्वकपमा फ्रान्सका लागि गोल गर्ने पाँच मध्ये ३ खेलाडी डिफेण्डर हुन्। उम्टीटी, भरान र पाभार्डले डिफेण्डर भएर पनि गोल गरेका छन्। पछिल्लो पटक १९९८ मा पनि ३ डिफेण्डरले गोल गर्दा फ्रान्स च्याम्पियन भएको थियो।
  • फ्रान्सले पेनाल्टी सुटआउट बाहेक विश्वकपको नकआउट राउण्डमा खेलेका १४ मध्ये एक खेल मात्र हारेको छ २०१४ को क्वार्टरफाइनलमा जर्मनीविरुद्ध। १३ मध्ये ११ जित तथा २ खेल बराबरी भएको थियो।
  • डेसच्याम्प्स मारियो जागोलो र फ्रान्सज बेकनकाउर पछि खेलाडी र प्रशिक्षकको रुपमा विश्वकप जित्ने तेस्रो व्यक्ति बन्ने होडमा छन्।
  • यस विश्वकपमा फ्रान्स जम्मा ९ मिनेट १२ सेकेण्ड मा विपक्षीभन्दा पछि परेको छ। क्रोएसियाले नकआउट चरणको तीनवटै खेलमा पुनरागमन गर्दै जित हात पारेको थियो।
  • फ्रान्सका किलिएन एमबाप्पे विश्वकपको फाइनलमा गोल गर्ने दोस्रो टिनएजर बन्ने होडमा छन्। सन् १९५८ मा ब्राजिलका पेलेले फ्रानइनलमा गोल गर्दा १७ वर्षका मात्र थिए।


क्रोएसिया

  • क्रोएसिया विश्वकपको फाइनलमा पुग्ने १३औँ राष्ट्र बनेको छ।
  • यसअघि पहिलो पटक फाइनल पुग्ने दुई टिम च्याम्पियन बनेका थिए। १९९८ मा फ्रान्स तथा २०१० मा स्पेन पहिलो पटक फाइनल पुग्दा नै विजेता भएका थिए।
  • क्रोएसियाले नकआउट चरणको ३ वटै खेल अतिरिक्त समयमा जित्दै फाइनल पुगेको हो। यदि फाइनल पनि अतिरिक्त समयमा पुगेमा क्रोएसिया विश्वकपको एकै संस्करणमा ४ खेल अतिरिक्त समयमा खेल्ने पहिलो टिम बन्नेछ।
  • नकआउट चरणको तीनवटै खलमा पछि परेर पनि फाइनल पुग्ने क्रोएसिया पहिलो टिम हो।
  • क्रोएसियाले यस विश्वकपमा १२ गोल गर्दा ८ फरक खेलाडीले गोल गरिसकेका छन्। बेल्जियमले मात्र क्रोएसिया भन्दा धेरै १६ गोल गरेको छ भने १० फरक खेलाडीले गोल गरेका छन्।
  • सन् २०१० मा जापानसँग गोलरहित बराबरी खेलेपछि क्रोएसियाले विश्वकपको १० वटै खेलमा गोल गरेको छ।
  • क्रोएसियाले रसियामा खाएको ५ मध्ये ४ गोल सेटपिसमै भएको थियो। क्रोएसियाले पेनाल्टी, थ्रोइन, इनडाइरेक्ट फ्रिकिक र डाइरेक्ट प्रिकिकमा गोल खाएको हो।
  • क्रोएसियाले यस विश्वकपमा सर्वाधिक ९९ फल गर्दा धेरै १४ वटा पहेँलो कार्ड खाएको छ।
  • इभान पेरिसिक क्रोएसियाका लागि ठूलो टर्नामेन्टमा १० गोलमा संलग्न भएका छन्। उनले ६ गोल गर्दा ४ गोलमा सहयोग गरेका छन्। यसअघि डेभोर सुकरले ९ गोल गर्नुका साथै १ गोलमा सहयोग गरेका थिए।
  • लुका मोडिरचले यस विश्वकपमा १६ अवसर क्रिएट गरेका छन् जुन उनको टिममेट्स भन्दा दोब्बर बढी हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell