PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

सार्वजनिक यातायातमा पकेटमारको बिगबिगी, यसरी लुटिनबाट जोगिए ६१ वर्षीय शिवाकोटी



सविन ढकाल

सार्वजनिक यातायातमा पकेटमारको बिगबिगी, यसरी लुटिनबाट जोगिए ६१ वर्षीय शिवाकोटी

काठमाडौँ: दोलखाका ६१ वर्षीय केशव शिकाकोटी आइतबार बिहानै कलंकीबाट नयाँ बसपार्क आउन गाडी चढे। गाडी नम्बर थियो बा २ ख ९१३६।

शिवाकोटी कलंकीबाट गाडीमा चढ्नुअघि नै केही यात्रु थिए।  केही समयपछि तीन/चार जना युवाको समूह पनि बसमा चढ्यो। शिवाकोटीलाई छोरीको विवाहको लागि बसपार्क पुग्नु थियो।

बिहानको करिब साढे सात बजेको थियो। गाडी बालाजु वनस्थली पुगेको थियो।

केही समय अगाडि गाडीमा चढेका एक युवकले मेरो सामान खस्यो भन्दै नजिक पुगेर शिवाकोटीको खल्तीमा भएको २३ हजार रुपैयाँ लुटे। पहिलोपोस्टसँगको कुराकानीमा शिवाकोटीले भने, 'मेरो सामान खस्यो भन्दै नजिक आएर खल्तीको २३ हजार रुपैयाँ लुटे।

विवाहको लागि उनले २३ हजार रुपैयाँ खल्तीमा बोकेर हिँडेका थिए। उनले आफ्नो पैसा लुटिएको भन्दै गाडीमा हल्ला-खल्ला गरे तर चालकदेखि यात्रुसम्मले वास्ता गरेनन्। 'मैले चिच्याएँ, मेरो पैसा लुटियो भन्दै कराएँ तर कसैले केही मद्दत गर्न त परै जाओस् बोल्न समेत बोलेनन्।' शिवाकोटीले सुनाए।

बसबाट एक युवक भाग्न खोज्दा उनैले कठालो समाते त्यसपछि अर्कोले पैसा भुइँमा फ्याग्दै भन्यो बाजेको पैसा यहाँ झरेको रहेछ। गाडीमा भएका अरू युवा पनि झरेर भागे २३ हजारमध्ये २१ हजार रुपैयाँमात्र थियो।

शिवाकोटीले भने, 'मैले हल्ला-खल्ला गरेर समातेपछि उनीहरूले पैसा फ्याँकेर भागेका हुन्।'

छोरीको विवाहमा हतार भएकाले पुलिसमा समेत खबर नगरी आफू विवाहमा आएको उनले सुनाए। यहाँ त मद्दत पनि नपाइने रहेछ। 'गाडी चालकदेखि यात्रुसम्म लुटिएको देख्दा समेत नबोल्दा रहेछन्। सुरक्षा नै नभएको जस्तो अनुभव भयो।' उनले भने।

राजधानीको न्युरोड, ठमेल, नयाँ बानेश्वर, गौशाला, नयाँ बसपार्क लगायतका क्षेत्रमा पकेटमार बढी सक्रिय हुने गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी मोहनकुमार थापा बताउँछन्। उनीहरूले पैसा भएको मान्छे थाहा पाउने बित्तिकै पिछा गर्न सुरु  गर्छन्। डिएसपी थापाले भन्छन्' धेरै जसो पकेटमार सार्वजनिक बसका यात्रुलाई नै टार्गेट बनाउने गर्छन्।'

काठमाडौँमा तीन सयभन्दा बढी पकेटमार रहेको प्रहरीको दाबी छ। ध्रुव दाइ, ढाक, कान लगायत कोड शब्दको प्रयोग गरी सङ्गठन समेत बनाएर लुट्ने गरेका छन्। प्रहरीले सार्वजनिक यातायातमा हुने पकेटमार रोक्न सादा पोसाकमा प्रहरी समेत परिचालन गरे पनि लुटपाट भने बिसबाट उन्साइस हुन सकेको छैन। सधैंजसो पकेटमार पक्राउ गरे पनि सजाय भुक्तानपछि पुनः त्यही पेसामा फर्किने भएकाले समस्या भएको प्रहरीको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell