PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

विश्वकप २०१८ फाइनल : फ्रान्स vs क्रोएसिया, दुवैलाई अब्बल देखाउने अवसर



पहिलोपोस्ट

विश्वकप २०१८ फाइनल : फ्रान्स vs क्रोएसिया, दुवैलाई अब्बल देखाउने अवसर

सन् १९९८ विश्वकप उपाधी जितेको फ्रान्सले आज रसिया विश्वकप २०१८ मा पहिलो पटक विश्वकप फाइनलमा पुग्न सफल क्रोएसियासँग खेल्दैछ। मस्कोको लुजनिकि स्टेडियममा बेलुकी ८:४५ बजे फ्रान्स र क्रोएसियाबिचको खेल हुनेछ।

फुटबल मैदानमा क्रोएसियासँग अपराजित रहेको फ्रान्स दोस्रो पटक विश्वकप ट्रफी विजय जित्ने होडमा रहेको छ। १९९८ विश्वकपमा उपाधी जित्दा फ्रान्सेली टोलीको कप्तानी गरेका डिडियर डेस्च्याम्पसले रसिया विश्वकपमा यसपटक फ्रान्सेली टोलीकै प्रशिक्षकको जिम्मेवारीमा रहेका छन्। आफ्नो देशलार्इ पहिलोपटक विश्व विजेता बनाउने खेलाडीको प्रशिक्षणमा फ्रानसेली ड्रेसिङ रुम नयाँ जोशले भरिएको छ। जुन उनीहरुले रसियामा आफ्नो खेलबाट प्रस्ट पारिसकेका छन्। आज डेस्च्याम्पस कै नेतृत्वमा फ्रान्स मैदानमा उत्रदैछ।

सन् २००६ मा फाइनलसम्म पुगेको फ्रान्स पेनाल्टीमा इटलीसँग पराजित भएको थियो। २०१६ युरोकपको आयोजना गरेको फ्रान्स फाइनलमा पोर्चुगलसँग पराजित भएको थियो। आज फ्रान्स फेरी त्यही इतिहास दोहोर्‍याउने पक्षमा छैन। अनुभव र युवा जोशको सम्मिश्रण रहेको फ्रान्सेली टोली दोस्रो पटक विश्व विजेता बन्नेमा दृढ छ।

सेमिफाइनलमा बेल्जियमलार्इ पराजित गर्दै फाइनलको यात्रा तय गरेको फ्रान्स यसपटक फर्ममा रहेको छ। विपक्षीका विरुद्ध विभिन्न रणनीति अपनाएर फ्रान्सले रसियामा आफूलार्इ एक भर्साटाइल टोलीमा रुपमा स्थापित गरेको छ। तर, उनीहरुको प्रतिस्पर्धी क्रोएसिया पनि कम छैन। मिडफिल्डमा कडा स्वरपमा प्रस्तुत हुने क्रोएसिया विरुद्ध फ्रान्सले मैदानमा आफ्नो मिडफिल्ड र डिफेन्सलार्इ बलियो बनाउनै पर्छ।

डिडियर डेस्च्याम्पस, मारियो जागल्लो र फ्रान्ज बेकेनबाउरपछि खेलाडी प्रशिक्षकको रुपमा उपाधी जित्न् तेस्रो व्यक्ति बन्ने संघारमा छन्। त्यसैले उनी त्यो अवसर खेर फाल्न चाहन्दैनन्। यस्तै फ्रान्सले रसियामा गरेको पाँच गोल मध्ये तीन गोल डिफेन्डरहरुले गरेका छन्। १९९८ मा फ्रान्सले विश्वकप जित्दा पनि डिफेन्डरहरु गोल गरेका थिए।

 

'ड्रिम, ड्रिम, ड्रिम क्रोएसिया आर इन दी वर्ल्डकप फाइनल'

सेमिफाइनलमा विजय भएपछि क्रोएसियाली पत्रिका स्पोर्टसकी नोभिटीले क्रोएसियाको विजयमा लेखेको हेडलाइन हो यो। क्रोएसिया विश्वकप फाइनलमा पहिलो पटक पुगेको हो। रसियामा आउँदै गर्दा फाइनलमा पुग्नु क्रोएसियाका लागि यो एउटा सपना मात्र थियो भन्दा फरक पर्दैन। तर आज क्रोएसियाको सपना साकार भएको छ। ज्लाट्को ड्यालिकको प्रशिक्षणमा रहेको क्रोएसियाले समूह चरण देखि सेमिफाइनलसम्म उत्कृष्ट प्रदशर्न गर्दै आफूलार्इ यसपटकको उपाधी दाबेदारका रुपमा स्थापित गरेको छ। समूह चरणमा अर्जेन्टिना जस्तो बलियो राष्ट्रलार्इ ३-० ले पराजित गरेपछि क्रोएसिया फुटबलमा एकाएक चर्चित बन्यो।

पहिलो पटक १९९८ विश्वकपमा सहभागी हुँदा नै क्रोएसियले फुटबलमा आफ्नो छाप छोडेको थियो। १९९८ मा पहिलो पटक विश्वकपमा सहभागी जनाउँदै फाइनल पुग्ने संघारमा रहेको क्रोएसियलार्इ सेमिफाइनलमा फ्रान्सले २-१ ले पराजित गरेको थियो।  २० वर्षपछि क्रोएसियाले विश्वकपमा फेरि फ्रान्सको सामना गर्दैछ। १९९८ मा फाइनलमा पुग्न रोकेको फ्रान्स नै रसिया विश्वकपको फाइनलमा क्रोएसियाको प्रतिद्वन्द्वी रहेको छ। आज फ्रान्ससँग त्यो पराजयको बदला लिने र क्रोएसियालार्इ विश्व विजेता बनाउने सपनाका साथ मैदानमा संघर्ष गर्ने क्रोएसिया आशावादी रहेको छ। केही दिन अघि ड्यालिकले २० वर्ष पछि आफ्नो टोलीलार्इ विश्वकप फाइनलमा फ्रान्सविरुद्ध गोल गरी बदला लिने अवसर रहेको बताएका थिए।

उनले भनेका थिए 'सायद यो खेलको एतिहासिक महत्व छ। स्कोर सेटल गर्ने मौका छ। दुवै टोलीले आफ्नो क्षमता देखाएका छन्, फाइनलिस्ट बन्न योग्य छन्। यो फुटबल हो। हामीले के गर्नुपर्छ भने फाइनलमा प्रतियोगिताकै उत्कृष्ट खेलको तयारी गर्न ध्यान दिनुपर्छ।'

 

पेनाल्टीमा को अब्बल?

क्रोएसिया रसिया विश्वकपको फाइनलमा धेरै संघर्ष गर्दै पुगेको टोली हो। पछिल्लो तीन खेलमा पहिले १ गोलले पछाडी रहँदा समेत एक्स्ट्रा टाइममा सम्म पुगेर विजय हुदै क्रोएसियाले आफूलार्इ प्रमाणित गरिसकेको छ। अझ तीन मध्य दुर्इ खेलमा त क्रोएसिया पेनाल्टी सुटआउट सम्म पुग्दै विजय भएको थियो।

क्रोएसियाली गोलकिपर ड्यानिजेल सुबासिक रसियामा उत्कृष्ट गोल किपरका रुपमा गोल्डेन ग्लोबका मुख्य हकदारका रुपमा देखिएका छन्। अन्तिम १६ को खेलमा सुबासिकले डेनमार्कले प्रहार गरेको तीन पेनाल्टी रोकेका थिए। रसियाविरुद्धको खेलमा पनि उनले एक पेनाल्टी रोकेका थिए। सेमिफाइनलमा बेल्जियमका धेरै प्रहार असफल बनाउन सक्षम भएका थिए। सुबासिक। यदी विश्वकप फाइनलमा क्रोएसियाले फेरी एक्स्ट्रा टाइम र टाइ ब्रेकरको सामना गर्नुपरे उनीहरु त्यसलार्इ सजिल्यै पार गर्न सक्नेमा आश्वास्त छन्।

फ्रान्सको विजय यात्रा पनि रोचक छ। उसले तीन शक्तिशाली फुटबल टोलीहरु, अर्जेन्टिना, उरुग्वे र बेल्जियमलार्इ पराजित गरेको थियो। २००६ मा पेनाल्टी सुटआउटमा पेनाल्टीमा पराजित भएको फ्रान्सले त्यसयता विश्वकपमा पेनाल्टीको सामना गरेको छैन। आज रसियामा समूह चरणमा पनि अपराजित रहेको फ्रान्सका सामु खेललार्इ अन्तिम समयमा मोड्न सक्ने अन्डरडग टोली क्रोएसिया रहेको छ। जो, एक्स्ट्रा टाइम र पेनाल्टीमा अभ्यस्त रहेको छ। त्यसैले पनि डेस्च्याम्पस आफ्ना टोलीलार्इ पेनाल्टीका लागि तयार गर्न धेरै मिहिनेत गर्दैछन्। गोल पोस्टमा फ्रान्सेली गोलकिपर ह्युगो लोरिस पनि सश्क्त देखिन्छन्। पेरु, उरुग्वे र बेल्जियमका कयौं उत्कृष्ट प्रहार रोक्न सफल भएका लोरिस लेस ब्लुजका एक हिरोमा रुपमा उदाएका छन्।


नयाँ विश्व फुटबल स्टारहरु, मिड्फिल्डमा दुवै अब्बल

रसिया विश्वकपको फाइनल खेलमा फ्रान्स र क्रोएसिया पुग्दा विश्व फुटबलले नयाँ स्टारहरु पाएका छन्। लियोनल मेसी,क्रिस्टियानो रोनाल्डो,नेमार जस्ता फुटबल स्टारहरु रसियामा चम्किन सकेनन्। उनीहरुलार्इ छायाँमा पार्दै फ्रान्स र क्रोएसियाका खेलाडीहरुले यो विश्वकपमा आफ्नो कुशल देखाएका छन्। ह्युगो लोरिस, लुका मोडरिच, एन्टोनी ग्रीज्म्यान, किलियन एम्बाप्पे, ड्यानिजेल सुबासिक लगायतका खेलाडीहरुले फुटबल प्रशंसक र आफ्नो टोलीलार्इ खुसी बनाएका छन्। यिनै खेलाडीहरु मध्यबाट नै एक गोल्डेन बलको विजेता हुने अनुमान गरिएको छ।

फ्रान्सका युवा खेलाडी किलियन एम्बाप्पेले अर्जेन्टिना र लियोनल मेसीको विश्वकप उपाधी जित्ने सपनामा पूर्णविराम लगाइदिए। अर्जेन्टिना विरुद्ध दुर्इ गोल गरेका एम्बाप्पेलार्इ त मेसीको उत्तराधीकारी भन्न थालियो। क्रोएसियाका लागि एम्बाप्पेलार्इ रोक्नु मुख्य चुनौति रहनेछ। उत्कृष्ट गति रहेको एम्बाप्पेलार्इ मैदानमा रोक्न क्रोएसियाली डिफेन्सले कडा परिश्रम गर्नुपर्नेछ।

क्रोएसियालार्इ फाइनलसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने खेलाडी हुन् उनीहरुको कप्तान लुका मोडरिच। विश्वकै उत्कृष्ट मिड्फिल्डर रहेका मोडरिचले आफ्नो राष्ट्रलार्इ विश्वविजेता बनाउनमा दृढ रहेका छन्। सेमिफाइनलमा इंग्ल्यान्ड विरुद्ध दोस्रो हाफमा उनले देखाएको प्रदर्शनले नै उनलार्इ विश्वकै उत्कृष्ट फुटबलरका रुपमा स्थापित गरेको छ। फ्रान्सले खेल आफ्नो कन्ट्रोलमा राख्न मोडरिचलार्इ रोक्न सबै प्रयास गर्नुपर्नेछ। 

लुका मोडरिचलार्इ रोक्न फ्रान्ससँग भएको अस्त्र हो एन गोलो कान्टे। चेल्सीका मिड्फिल्डर रहेका कान्टेले नकआउट चरणहरुमा फ्रान्सलार्इ बल कन्ट्रोलमा राख्न धेरै परिश्रम गरे। बेल्जियमको डिफेन्सलार्इ मैदानमा रोक्न सफल कान्टेसँग लुका मोडरिचको नेतृत्वमा रहेको टोलीलार्इ पनि रोक्ने अपेक्षा गरिएको छ। यस्तै फ्रान्सको मिड्फिल्डलार्इ बलियो बनाउने अर्का खेलाडी हुन् पोग्बा। उनलार्इ रोक्न पनि मोडरिचको टोलीलार्इ गाह्रो हुनेछ।

क्रोएसियालार्इ फाइनल पुर्‍याउन निर्णायक गोल गरेका मारियो मानडुकिच र इभान पेरिसिकले लुका मोडरिचलार्इ मिड्फिल्डमा साथ दिनेछन्। उनीहरुको समूहलार्इ तोड्न फ्रान्सेली डिफेन्स नयाँ रणनीतिका साथ मैदानमा उत्रनुपर्ने हुन्छ।

हालसम्मको खेल हेर्दा दुवै टोलीहरु उत्कृष्ट फर्ममा रहेका छन् र दुवै पक्षहरू ट्रफी जित्न सक्षम छन्। फ्रान्स अंकमा  क्रोएसिया भन्दा अलि माथि देखिए पनि मैदानमा दुवैको स्तर एउटै रहेको छ। क्रोएसियाले नयाँ टोलीहरुलार्इ आत्विश्वास र उर्जा दिएको छ भने फ्रान्स पुराना टोलीहरुमा आफू अझै अब्बल रहेको पुष्टि गर्न चाहन्छ। क्रोएसिया र फ्रान्सको स्ट्राइकर, डिफेन्स र मिड्फिल्ड उत्कृष्ट फर्ममा रहेका छन्। ति सबै नयाँ इतिहास बनाउन मैदानमा संघर्षरत हुनेछ। त्यसैले पूर्व विजेता फ्रान्स र अन्डरडग क्रोएसियाबीचको खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell