PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

उपप्रधानमन्त्री ईश्वर पोखरेलकी माइली भाउजूको कथाः 'भूकम्पले घर भत्कियो राहत पाइनँ, ईश्वरले काठमाडौँ लगे जान्थेँ'



पहिलोपोस्ट

उपप्रधानमन्त्री ईश्वर पोखरेलकी माइली भाउजूको कथाः 'भूकम्पले घर भत्कियो राहत पाइनँ, ईश्वरले काठमाडौँ लगे जान्थेँ'

मेरो नाम राधा कुमारी पोखरेल हो। माइती भने निरौला। तपाईँ आइपुग्नु भएको हाम्रो ठाउँ सिद्धिचरण नगरपालिका २ नम्बर वडा निसंखे। जिल्ला ओेखलढुंगा। भूकम्पले यहाँका धेरै घर भत्किए। अरुतिर जस्तो मानिस चाहिँ मरेनन्। मेरो घरभित्र बस्नै नहुने गरी चर्किएको छ। बस्नै डरमर्दो गरी भत्किएको पनि।

घरमा बस्नसक्ने अवस्था नभए पनि राहत पाइनँ। तर, कति घरै नहुनेले राहत पाए। नभत्किएको घरका मानिसले पनि राहत लिए। म एक्ली, के पाउँथे? न भनसुन गर्न सकेँ। न सदरमुकाम जान नै। ७७ वर्षको भइसकेँ। यो ठाउँमा २०२५ साल वैशाखदेखि बस्दै आएको हो।

मेरो बिहे ८ वर्ष नपुग्दै भएको हो। जामा समेत लगाएको थिइन बिहे हुँदासम्म। दौरा लगाएरै बिहे भा’को याद छ अहिले पनि। श्रीमान् १७ वर्षका थिए त्यतिखेर। बिहे हुनासाथ उनी मधेशतिर लागे। त्यसपछि फर्केर आएनन्। म पोखरेलको घरमा बस्न सकिनँ। घरमा नियम एकदम कडा थियो। टाउको पछ्यौराले छोप्नु पर्थ्यो जतिखेर पनि। खुट्टाका पैताला देखाउन समेत नपाइने। श्रीमान् नि नभएकाले म सधैँ त्यहाँ बसिनँ।

मेरा श्रीमान् धर्मप्रसाद पोखरेल। अहिलेका उपप्रधानमन्त्री ईश्वर पोखरेलका माइला दाइ हुन्। ईश्वर पोखरेल मन्त्री भए रे। के मन्त्री हो त्यो चाहिँ थाहा छैन। अफ्ना मान्छे मन्त्री हुँदा खुसी लागेको छ। यता आउँदा मलाइ भेट्छन्। बात मार्छन्। म काठमाडौँ पनि गएँ। उनीसँग भेट भएन। चुनावको बेला थियो। फोन उठाएनन्। ठेगाना पत्ता लगाउन नसकेर घरतिर चाहिँ गइन।

मन्त्री हुँदाअघि फोनमा कुरा हुन्थ्यो। अहिले त त्यो पनि टुट्यो। व्यस्त भए होलान्, फोन पनि उठ्दैन। उताबाट फोन गर्दैनन्। उनको घर पारी मांखा हो। श्रीमान् नभएकाले म त्यतातिर जाँदिनँ आजकल। मेरा श्रीमान् माइला हुन्। उनीहरू ४ दाजुभाइ।

२५ सालदेखि यहाँ झुप्रो बनाएर बसेको छु। यहीँ बुढी पनि भएँ। श्रीमान् आउँछन् भन्ने कति धेरै आशा थियो। धेरै कुरिबसेँ। तर, फर्केर आएनन्। पछि थाहा पाएँ - उतै बिहे गरेछन्। छोराछोरी नि जन्माएछन्। आएको भए नि मैले कसरी चिन्थेँ होला र? बच्चामै छाडेर गा’का। पछि उतै मरे भन्ने खबर पाएँ।

श्रीमानसँग केही गुनासो छैन। बिहे गर्नासाथ हिँडेकाले बच्चा हुने कुरा भएन। एक्लै छु। आफैँ काम गरेर खाएको छु। सानो पसल चलाएको छु। पसलका लागि सामान चाहिँ भाइले ल्याइदिन्छ।

यो फोटोमा म देवर र देउरानीलाई सधैँ टीका लगाइदिन्छु। उनीहरू आउँदैनन्। फोटोमा टीका लगाएर चित्त बुझाउँछु। यसरी नै चलिरहेको छ जिन्दगी।

अब त धेरै बुढी पनि भएँ। काम गरेर खान सक्दिनँ जस्तो लाग्छ। ईश्वरले काठमाडौँ लगे जान्थेँ। तर, धेरै आशा पनि गर्दिन। श्रीमानले हेरचाह नगरेपछि देवरलाई के दु:ख दिनु?

(पहिलोपोस्टका सागर बुढाथोकीले गरेको कुराकानीमा आधारित)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell