PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

चार वर्षपछि कतारमा भेट्ने बाचासहित सकियो रसिया विश्वकप, के-के भए २१औँ विश्वकपमा?



पहिलोपोस्ट

चार वर्षपछि कतारमा भेट्ने बाचासहित सकियो रसिया विश्वकप, के-के भए २१औँ विश्वकपमा?

चार वर्षपछि २०२२ मा कतारमा भेट्ने बाचासहित रसियामा भएको २१औँ संस्करणको फिफा विश्वकप सफलतापूर्वक सम्पन्न भएको छ। आइतबार रसियाको राजधानी मस्कोस्थित लुजनिकी स्टेडियममा भएको फाइनल खेलमा फ्रान्सले क्रोएसियालाई हराउँदै दोस्रो पटक उपाधि जितेपछि विश्वकप २०१८ को औपचारिक रुपमा समापन भयो।

रसियन राष्ट्रपति भ्लादमिर पुटिन, कतारी अमिर तमिम बिन हमाद अल थानीले र फिफा अध्यक्ष जियानी इन्फान्टिनो विश्वकप २०१८ को समापन समारोहमा सहभागी थिए र रसियाले २०२२ को विश्वकप आयोजना गर्ने भूमिका कतारलाई सुम्पेको छ। इन्फान्टिन्होले नोभेम्बरदेखि डिसेम्बरमा गर्ने गरी कतार विश्वकपको मिति समेत घोषणा गरिसकेका छन्। 

सरप्राइजले भरिएको प्रतियोगिता, केही अप्रत्यासित नतिजा, भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) को आगमन र आलोचन, पेनाल्टी र आत्मघाती गोल धेरै भएको प्रतियोगिता यस विश्वकपको केही विशेषता हुन्।

यस्तै साविक विजेता जर्मनी समूह चरणबाटै बाहिरिनु उपाधि दाबेदार टोलीहरु धेरै अगाडी बढ्न नसक्नु, स्टार खेलाडीहरु चल्न नसक्नु अन्य चर्चित विषय बन्यो।

क्रोएसियाले अर्जेन्टिनालाई ३-० ले पराजित गर्नु, बेल्जियमले जापानविरुद्ध २ गोलले पछि परेर पनि ३-२ ले जित्नु, दक्षिण कोरियाले जर्मनीलाई २-० ले हराउनु केही अप्रत्यासित नतिजा रहे। यसैगरी पोर्चुगल र स्पेन (३-३ को बराबरी), बेल्जियम र जापान (३-२), फ्रान्स र अर्जेन्टिना (४-३) यी खेलहरु उत्कृष्ट रहे।

प्रतियोगिताअघि फेभरेटको रुपमा रहेकामध्ये एक फ्रान्स फाइनलसम्म पुग्दा प्रदर्नशनमा सुधार गर्दै २० वर्षपछि उपाधि जितेको छ। पहिलोपटक फाइनल पुगेको क्रोएसियाको उपाधि जित्ने सपना पूरा हुन सकेन।

फाइनलको स्कोर फ्रान्स ४-२ क्रोएसिया रह्यो। क्रोएसियाले पनि फाइनलसम्म पुग्दा उत्कृष्ट प्रदर्शन गर्दै पूर्व विजेता अर्जेन्टिना र इंग्ल्याण्डलाई हराएको थियो।

दोस्रोपटक च्याम्पियन बनेपछि फ्रान्स मल्टिपल टाइम विश्वकप जित्ने छैटौँ राष्ट्र बन्यो। ब्राजिलले ५, इटली र जर्मनीले ४-४, अर्जेन्टिना तथा उरुग्वे २-२ पटक विश्वकप जितिसकेका छन्। यस्तै इंग्ल्याण्ड र स्पेनले पनि १ पटक विश्वकप जितेको छ।

उता फाइनल पुगेर पनि विश्वकप जित्न नसक्ने सूचीमा क्रोएसिया थपिएको छ। चेकोस्लोभाकिया, हंगेरी, स्वीडेन र नेदरल्याण्ड्स विश्वकप फाइनल पुगेर पनि उपाधि जित्न नसक्ने राष्ट्र हुन्।


के-के भए रसिया विश्वकपमा?

चारवटै युरोपियन राष्ट्र सेमिफाइनल पुगेको यस विश्वकपको उपाधि फ्रान्सले जित्दा क्रोएसिया दोस्रो, बेल्जियम तेस्रो तथा इंग्ल्याण्ड चौथो भयो। फ्रान्सको यो दोस्रो उपाधि हो भने क्रोएसिया र बेल्जियमको लागि अहिलेसम्मकै उत्कृष्ट नतिजा। अनी सन् १९६६ मा घरेलु मैदानमा च्याम्पियन बनेको इंग्ल्याण्डको लागि पनि यो दोस्रो उत्कृष्ट नतिजा हो। सन् १९९० मा पनि इंग्ल्याण्ड चौथो भएको थियो।

फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्प्स खेलाडी र प्रशिक्षकको रुपमा विश्वकप जित्ने तेस्रो भाग्यमानी व्यक्ति बने।

क्रोएसियालाई पहिलोपटक फाइनल पुर्‍याएका लुका मोडरिचले उत्कृष्ट खेलाडी चयन हुँदै एडिडास गोल्डेन बल अवार्ड जिते। सन् १९९४ यता विश्वकप जित्ने बाहेकका खेलाडीले यो अवार्ड पाइरहेका छन्। यस्तै प्रतियोगिताभर सर्वाधिक ६ गोल गरेका इंग्ल्याण्डका कप्तान ह्यारी केनले एडिडास गोल्डेल बुट अवार्ड जिते।

च्याम्पियन फ्रान्सका टिनएजर स्टार किलिएन एमबाप्पे बेस्ट योङ प्लेअर घोषित भए भने बेल्जियम गोलकिपर टिबाउट कोर्तवाले गोल्डेन ग्लोभ्स अवार्ड जिते। स्पेनले फियर प्ले अवार्ड पायो।

एमबाप्पे विश्वकपको फाइनलमा गोल गर्ने पेले (१९५८) पछि पहिलो टिएनजर बने। उनी विश्वकप फाइनल खेल्ने पनि तेस्रो टिनएजर बने।

पहिलोपटक भिएआर प्रविधि लागू हुँदा यस पटक धेरै पेनाल्टीको अवसर बन्यो। यस्तै आत्मघाती गोल पनि यसपटक धेरै भए। 

कूल ६४ खेलमा २.६४ को अौसतमा यसपटक १६९ गोल भए। जसमा १२ आत्मघाती गोल भएको थियो। क्रिस्टियानो रोनाल्डो र ह्यारी केनले एक-एक ह्याट्रिक गरे। रोमेलु लुकाकु लगातार दुई खेलमा २-२ गोल गरे। १० पटक एकै खेलाडीले २ गोल गरे। यस्तै कूल २९ पेनाल्टीको अवसर सिर्जना गरिएकोमा २२ पेनाल्टी गोलमा परिणत भए।

७ पेनाल्टी प्रहार भने गोल हुन सकेन। लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो मोडरिच जस्ता खेलाडीको पेनाल्टी प्रहार गोलकिपरले सेभ गरे।

यस विश्वकपमा रसियाका युरी गाजिन्स्की पहिलो गोल गर्ने खेलाडी बने।

प्रतियोगिताभर बेल्जियमले सर्वाधिक १६ गोल गर्दा साविक विजेता जर्मनीसहित ११ टिमले २ गोल मात्र गर्न सके। पानामाले सर्वाधिक ११ गोल खायो। डेनमार्क, इरान र पेरुले २-२ गोल मात्र खाए। रसियाले पहिलो खेलमै साउदी अरेबियालाई ५-० ले हराएको थियो र उक्त नतिजा ठूलो अन्तर जित बन्यो। च्याम्पियन फ्रान्सले सर्वाधिक ४ खेलमा क्लिनसिट राख्यो।

पानामाका फिलिपे बालोय यस विश्वकपमा पाको उमेरमा गोल गर्ने खेलाडी बने। उनले ३७ वर्ष १२० दिनका दिन इंग्ल्याण्डविरुद्ध गोल गरे। यस्तै इजिप्टका एसा अल हाडारी विश्वकपका र विश्वकप खेल्ने पनि सबैभन्दा पाका खेलाडी बने। उनले समूह चरणमा साउदी अरेबियाविरुद्ध खेल्दा उनको उमेर ४५ वर्ष १६१ दिन थियो।

फ्रान्सका एमबाप्पे यस विश्वकपमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बने। उनले पेरुविरुद्ध १९ वर्ष १८३ दिन हुँदा निर्णायक गोल गरे।

फ्रान्स र बेल्जियमले यस विश्वकपमा समान ६ खेल जिते। फ्रान्स अपराजित रहदै च्याम्पियन बनेको हो। यस विश्वकपमा एक खेल मात्र गोलहरित बराबरीमा सकिएको थियो। फ्रान्स र डेनमार्कबीच समूह चरणको खेलमा गोल हुन सकेन।

अष्ट्रेलिया, कोस्टारिका, इजिप्ट, आइसल्याण्ड, मोरोक्को र पानामाले कुनै खेल जित्न सकेनन्। इजिप्ट र पानामाले समूहको ३ वटै खेल हार्दा कुनै अंक जोड्न सकेनन्।

फ्रान्सका एन्टोनी ग्रीजमन, क्रोएसियाका मोडरिच, इंग्ल्याण्डका ह्यारी केन र बेल्जियमका एडेन हाजार्ड सर्वाधिक ३ पटक म्यान अफ दि म्याच घोषित भए।

उरुग्वेका ओस्कार तावारेज (७१ वर्ष) यस विश्कवकपो सबैभन्दा बुढा प्रशिक्षक बन्दा सनेगलका अलिओउ सिसे (४२ वर्ष) कान्छा प्रशिक्षक बने।  

रसिया विश्वकपमा कूल २१९ पहेँको तथा ४ रातो कार्ड देखाइयो।

पोर्चुगलका क्रिस्टियानो रोनाल्डो लगातार ४ विश्वकपमा गोल गर्ने खेलाडी बने। यस्तै मेक्सिकोका राफेल मार्क्वेजले लगातार पाँच विश्वकप खेल्ने मेक्सिकोकै एन्टोनी कार्भाजल र जर्मनीका लोथर म्याथ्युजको कीर्तिमानी बराबरी गरे भने लगातार पाँच विश्वकपमा कप्तानी गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell