PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

राजदुत सिफारिसप्रति पौडेलको प्रश्न : ‘संविधानको आशयमा प्रहार भएन?’



राजदुत सिफारिसप्रति पौडेलको प्रश्न : ‘संविधानको आशयमा प्रहार भएन?’
फोटो: नेता पौडेलको फेसबुक पेज

काठमाडौं: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले भारतका लागि राजदुत नियुक्तिका लागि सिफारिस गरेको विषय र राजदुतले प्रधानमन्त्रीबाट शपथ लिनुपर्ने व्यवस्थाप्रति चासो व्यक्त गरेका छन्। पौडेलले उक्त विषयमा आफ्नो फेसबुक पेजमा संविधानले भविष्यमा हुने सरकारी नियुक्तीका कारण संवैधानिक अंगका पदाधिकारीहरुको कार्यसम्पादनमा प्रभाव नपरोस् भनेर संविधानको धारा २४५ को उपधारा ८ को व्यवस्था गरिएको उल्लेख गरेका छन्। 

पौडेलले संविधान सम्झाउँदै लेखेका छन्, ‘नेपालको संविधानको धारा २४५ को उपधारा ८ मा भनिएको छ, निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्त भइसकेको व्यक्ति अन्य सरकारी सेवामा नियुक्तिका लागि ग्राह्य हुने छैन।’संवैधानिक व्यवस्थाको आशय भनेको भोलि हुने सरकारी नियुक्तका कारण निर्वाचन आयोग जस्ता संवैधानिक आयोगका प्रमुख आयुक्त तथा आयुक्तहरुको कार्यसम्पादनमा प्रभाव नपरोस भन्ने हो।' 

सरकारले भारतका लागि राजदूत पदमा पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई सिफारिश गरेसँगै पौडेलको यस्तो प्रतिक्रिया आएको हो। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उप्रेतीलाई भारतका लागि राजदूत सिफारिश गरेको थियो। 


त्यसैगरी राजदुतले प्रधानमन्त्रीबाट शपथ लिने व्यवस्थामासमेत पौडेलले असहमति जनाएका छन्। उनले राजदुतले सरकारको नभई राष्ट्रको प्रतिनिधित्व गर्ने भएकाले शपथ राष्ट्रपतिबाट हुनुपर्ने उल्लेख गरेका छन्। ‘राजदुत भनेको सरकारको मात्र होइन राष्ट्रको  प्रतिनिधित्व गर्ने हुनाले प्रधानमन्त्रीले शपथ ग्रहण गराउने कुरा मिल्दैन। राजदुतको शपथ ग्रहण राष्ट्रपतिबाट नै हुनुपर्छ। राष्ट्रपति भनेको राष्ट्राध्यक्ष हो। प्रधानमन्त्री भनेको कुनै दल विशेषको हुन्छ। राजदुत बनेर गएको मुलुकमा ओहोदाको प्रमाणपत्र पनि त्यो देशको राष्ट्र प्रमुखलाई बुझाउँछ। नेपालमा आउने राजदुतहरुले पनि राष्ट्र प्रमुखलाई नै ओहोदाको प्रमाणपत्र बुझाउने गर्दछन्। राजदुतको शपथ प्रधानमन्त्रीले गराउन मिल्दैन।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell