PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

नेकपाको सचिवालयले पारित गरेको नियमावलीमा अझै हुन सकेन एकमत



विधुर ढकाल

नेकपाको सचिवालयले पारित गरेको नियमावलीमा अझै हुन सकेन एकमत

काठमाडौं : नेपाल कम्युनिस्ट पाटी (ने क पा)को केन्द्रीय तहमा एकता भए पनि तल्लो तहसम्म एकता पुग्न सकेको छैन। ने क पाको सचिवालयले पारित गरेको पार्टीको नियमावलीमा समेत पार्टीभित्र अझै एक मत हुनसकेको छैन। 

ने क पाको गत शनिबार बसेको सचिवालयको बैठकले पार्टीको नियमावलीलाई पारित गरेको थियो। तर, नियमावलीका केही विषय अझै छलफलमा रहेका कारण प्रकाशन गरी पार्टी पङ्तिमा वितरण हुनसकेको छैन।

आज बसेको ने क पाको सचिवालय बैठकमा समेत यही विषयमा छलफल भएको बताइएको छ। ‘अझै पनि नियमावलीमा पार्टीको पदाधिकारीसहितका विषयमा केही विवाद रहेको छ। त्यस माथि सहमति गरी नियमावली प्रकाशित गरिन्छ,’ ने क पाका एक नेताले भने। 

त्यस्तै पार्टीको विधानको विषयमा समेत छलफल चलिरहेको छ। हाल पार्टी अन्तरिम विधानले चलिरहेको छ। पार्टीको पूर्ण विधानका विषयमा समेत छलफल भइरहेको ती नेताले पहिलोपोस्टसँग भने। 

‘नियमावली एक दुई दिनभित्रै टुंगो लाग्छ। अन्तिम ड्राफ्ट हुँदैछ। त्यसपछि यसलाई प्रकाशित गरिनेछ,’ उनले भने, ‘विधानमाथि छलफल चलिरहेको छ। त्यसलाई पनि सचिवालयले अन्तिम टुंगो लगाउने छ।’

ने क पाको विधान वामदेव गौतम लगायतका नेताहरुको संलग्नतामा ड्राफ्ट हुँदै छ। पार्टीको विधानमा समेत केही विषयहरुमा सहमति जुट्न सकेको छैन। पार्टी भित्र उमेर हदको विषय समेत युवा नेताहरुले उठाउँदै आएका छन्। यद्यपि, यस हाल ड्राफ्ट हुँदै गरेको विधानमा उमेर हद भने हटाइएको छ। त्यसमा समेत सहमति जुट्नसकेको छैन। 

त्यस्तै विधानमा पार्टीका महाधिवेशनमा सहभागी हुनका लागि सबै प्रतिनिधिहरु निर्वाचनबाट निर्वाचित भइ आउनुपर्ने प्रावधानलाई समेत समेटिएको छ। पार्टीका केन्द्रीय समितिका पदाधिकारीसहित केन्द्रीय सदस्यहरु, प्रदेश समितिका सबै पदाधिकारीहरु सबै कमिटीका सदस्यहरुले महाधिवेशन तथा सम्बन्धित कमिटीको अधिवेशनमा निर्वाचनबाट प्रतिनिधिको रुपमा निर्वाचित भइ आउनुपर्ने छ। 

यसको आधारमा अब ने क पाका अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड समेत सम्बन्धित भुगोलबाट प्रतिनिधिका रुपमा निर्वाचित हुनुपर्नेछ। 

सम्बन्धित भुगोलका संगठित सदस्यहरुले उनीहरुलाई निर्वाचित गरी महाधिवेशन प्रतिनिधिको रुपमा चयन गर्नुपर्ने छ। विगतमा यस्तो महाधिवेशनमा पदाधिकारीहरु चयन हुँदै आएका थिए।

यो विधान सम्पादनको क्रममा रहेको भन्दै छिट्टै सम्पादन भई प्रकाशित गरिने महासचिव विष्णु पौडेलले जानकारी दिए। ‘हामीलाई विधान सम्पादनपछि प्रकाशित गर्ने अनुमति बैठकले दिएको छ,’ उनले भने, ‘छिट्टै प्रकाशित हुने छ।’ 

यसैबीच आज बसेको सचिवालय बैठकले सबै तहसम्म एकतालाई एकता घोषणामा उल्लेख भएको अवधि तीन महिना (आगामी भदौ ३) भित्र पूरा गरिसक्ने काम अगाडि बढाउने समेत निर्णय गरेको छ। 

‘सबै तहको एकता पूर्वनिर्धारित तीन महिनाभित्रै सकिन्छ,’ उनले भने। त्यस्तै आजको बैठकमा पार्टीका जनसंगठन तथा तल्ला तहको एकताका लागि कार्ययोजनाको विषयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। उक्त कार्ययोजनाको टुंगो अर्को बैठकले गर्ने उनले बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell