PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

एकैदिनमा बोली फेर्दै यू टर्न लिए ट्रम्पले



पहिलोपोस्ट

एकैदिनमा बोली फेर्दै यू टर्न लिए ट्रम्पले

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रसियाले २०१६ चुनावमा हस्तक्षेप गरेको गुप्तचर विभागको आरोप सही भएको बताएका छन्। 

एक दिनअघि मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा रुसले हस्तक्षेप गरेको भन्ने आरोपको बचाउ गरेका थिए। फिनल्यान्डमा रसियाका राष्ट्रपति भ्लादमिर पुटिनसँगको शिखर वार्ताका क्रममा ट्रम्पले अमेरिकी गुप्तचर एजेन्सीले रसिया माथि लगाएको आरोप विपरीत रुसले अमेरिकी चुनावमा हस्तक्षेप गर्ने कुनै कारण नभएको बताएका थिए।

तर, अहिले फिनल्यान्डमा आफूले ‘प्रस्टसँग कुरा राख्न नसकेको र रसियाको संलग्नता हुन सक्ने कुनै कारण नदेखेको भन्न खोजेको’ ट्रम्पले बताएका छन्।  

शिखर वार्ताका क्रममा उनले दिएको अभिव्यक्तिको चर्को आलोचना भएको थियो। ट्रम्पकै कतिपय सहयोगीहरुले उनलार्इ आफ्नो भनार्इ स्पष्ट पार्न भनेका थिए। 

रुसको संलग्नता स्वीकार्दै ट्रम्पले अमेरिकी गुप्तचार एजेन्सीप्रति 'पूर्ण विश्वास र सहयोग' रहेको बताए। 

भ्लादमिर पुटिनसँगको शिखर वार्तापछि पत्रकारहरुको प्रश्नको उत्तर दिँदै ट्रम्पले रसियाका राष्ट्रपति पुटिनले आफूहरुले निर्वाचनमा कुनै हस्तक्षेप नगरेको र रुसले त्यस्तो गर्नुपर्ने कारण देख्दिन भनेका थिए। 

तर, हाल आफूले आफ्नो भाषण हेरेको र त्यसमा केही स्पष्ट पार्नुपर्ने देखिएको बताउँदै ट्रम्पले आफ्नो भाषणमा 'म किन कुनै कारण देख्दिन अथवा रसियाले त्यस्तो किन गर्न सक्दैन' हुनुपर्ने बताए।  

ट्रम्पले भने, 'म हाम्रो गुप्तचार एजेन्सीले सन् २०१६ निर्वाचनमा रसियाले हस्तक्षेप गरेको भन्ने निष्कर्ष स्वीकार गर्दछु। त्यसमा अरु मानिसहरुको संलग्नता पनि हुनसक्छ। बाहिरका धेरै मानिस हुनसक्छन्।'

एफबीआई र अमेरिकी गुप्तचार एजेन्सीले २०१६ मा भएको अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्पका प्रतिस्पर्धी उम्मेदवार हिलारी क्लिन्टनविरुद्ध रसियाको संलग्नताबारे आरोप लगाएको छ। रसिया सरकारको अनुमतिमा नै सामाजिक सञ्जाल मार्फत् झुटो समाचार फैलाउनेदेखि साइबर आक्रमण गर्न अभियान चलाएको निष्कर्षमा एजेन्सीहरु पुगेका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell