PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पहिलो चरणमा आँसु, दोस्रो चरणमा हाँस्दै राजीनामा, फोटोमा हेर्नुस कानुन मन्त्री तामाङको राजीनामाको क्षण

पहिलो चरणमा आँसु, दोस्रो चरणमा हाँस्दै राजीनामा, फोटोमा हेर्नुस कानुन मन्त्री तामाङको राजीनामाको क्षण

नेत्र तामाङ/पहिलोपोस्ट


काठमाडौं: कानुनमन्त्री शेरबहादुर तामाङले मंगलबार दिउँसो कानुन मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरे।

विवादास्पद अभिव्यक्ति दिएका तामाङले राजीनामा घोषणाका लागि आयोजना गरिएको कार्यक्रम झन्डै एक घन्टा ढिला शुरु भयो।

आफ्नी जीवनसंगीनी उषाकला राईसँगै उपस्थित भएका कानुन मन्त्री तामाङले शुरुमा आफ्नो कार्यकालमा भएका कानुन मन्त्रालयका प्रगति विवरण सुनाए।

प्रगति विवरण सुनाइसकेपछि उनी भावुक बने। आँशु झार्दै उषाकलातिर हेरे। र, सम्हालिए।

त्यसको केहीबेरमै उनले आफ्नो पहिलोचरणको विज्ञप्ति सकिएको उल्लेख गर्दै आफूले गरेका कामबारे केही प्रश्न भए सोध्न आग्रह गरे।

पत्रकारहरु भने उनको राजीनामाबारे नै प्रश्न गरिरहेका थिए। केही बेर उनलाई लखेट्ने तत्वहरुको बारेमा चर्चा भयो। तर,  उनले आफूलाई लखेट्ने तत्वबारे भने किटानी गरेनन्।

केहीबेरमा राजीनामा वक्तव्य आइपुग्यो। उनले आफूले बोलेको गल्ती भएको उल्लेख गर्दै नैतिकताको आधारमा राजीनामा दिएको घोषणा गरे। कानुनमन्त्रीको जिम्मेवारी दिएकोमा प्रधानमन्त्री, पार्टी र जिल्ला समितिलाई धन्यवाद दिए।

त्यसलगत्तै उठेका उनले हाँस्दै आफू संसदमा हरदम भ्रष्टाचारको विरुद्ध उभिरहने प्रतिवद्धतासमेत जाहेर गरे।

 

मैले बोलेको कुराको टाउको र खुट्टा काटेर अतिरञ्जित रुपमा प्रचार गरियो

राजीनामाको घोषणा गरेका तामाङले आफ्नो अभिव्यक्तिको टाउको र खुट्टा काटेर मात्रै प्रशारण गरी विवाद अतिरञ्जित गरेको आरोप लगाए।

‘बंगलादेशमा चिकित्सा शिक्षा पढ्ने हाम्रा केही छोरीहरु हिंशामा परेको कुरा सुनेपछि म आफैँ स्तब्ध भई बोल्ने क्रममा त्यो कुरा मैले बोलेकै हो। हिंशा भएको छैन भनेर हामी कसरी समाधान गर्न सक्छौँ,’ कानुनमन्त्री तामाङले पत्रकार सम्मेलनमा बोल्ने क्रममा भने, ‘प्रश्न उठेको हो, मैले भनेको विषयलाई लिएर बोलेको पूर्ण पृष्ठलाई टाउको र खुट्टा काटेर बीचको भाग मात्र पोष्ट गर्दै अझ बढाइचढाइ र अतिरञ्जित पार्दै मेरा बारेमा गलत र षड्यन्त्रमुलक समाचारहरु आएको पाउँदा अति दुःखित छु।’

उनले आफ्नै पार्टीका मित्रहरुको नामबाट समेत उनीहरुको अनुमति विनै सामाजिक सञ्जाल मार्फत राजीनामा माग भएको समाचार गलत ढंगले आएको समेत उनले बताए। 

उनले महिला प्रति आफूले सँधै सम्मान गर्ने गरेको प्रष्ट समेत पारेका छन्। ‘म सचेत छु। छोरी मेरो जीवनको गर्व हो। छोरी मेरो सन्तान हो। छोरी मेरो भविष्य हो। छोरीको अधिकार र अस्मिताको लागि म आफैँ लड्दै आएको व्यक्ति हुँ। यसको निम्ति म खुला कागज हुँ। मलाई पढे हुन्छ,’ उनले भने, ‘मेरो परिवार बुझे हुन्छ। छोरीको अंश र बंश, आमाको नामबाट नागरिकता दिने विषयमा म आफ्नो ठाँउबाट लड्दै आएको व्यक्ति हुँ।’

उनले आफूमाथि भएको षडयन्त्रलाई आफूले चालेको कदमहरु भ्रष्टाचार उन्मुलन गर्ने अभियान, न्यायक्षेत्रको पारदर्शिता, सार्वजनिक निकाय र सार्वजनिक व्यक्तिको पारदर्शिताको मुद्दा र दातृ निकायबाट नेपालमा आउने पैसा सरकारको एउटैद्वारबाट मात्र कानुनमा व्यवस्था गरेर आउनु पर्छ भन्ने आफ्नो अभियानमाथि प्रहार भएको समेत दाबी गरेका छन्।

उनले सामाजिक रुपमा कुरा उठेपछि वर्तामान प्रधानमन्त्री र सरकारले अगाडि सारेको समृद्ध नेपाल, सुखी नेपाली भन्ने नारालाई असफल पार्ने गरी जोडेर अतिरञ्जित गरिएको समेत बताएका छन्।

‘प्रधानमन्त्री र सरकालाई सफल बनाउने र निहित स्वार्थ बोकेकाहरुलाई परास्त गर्न म मेरो पद पनि प्रतिष्ठाको खातिर काम गर्ने व्यक्ति भएकोले मन्त्रिपदबाट राजिनामा दिनुपर्छ भन्ने ठानी नैतिकताको आधारमा सम्माननीय प्रधानमन्त्री ज्यू समक्ष राजिनामा पेश गर्न गइरहेको छु,’ तामाङले भनेका छन्, ‘राजनीतिक निष्ठा, इमानदारिता र राष्ट्र निर्माण गर्ने मेरो पार्टीको अभियानलाई कमजोर बनाउन र धमिलो पानीमा माछा मार्ने नियतले सिंगो सरकारलाई असफल पार्ने दिवा सपना सफल हुन नदिन र सरकारको कदममा आफ्नो ठाँउबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्दछु।’

उनले मन्त्रीपदबाट जाँदा जाँदै आफूलाई मन्त्रीको जिम्मेवारी दिने सबैलाई धन्यवाद समेत दिएका छन्।

सम्बन्धित समाचार

रुँदै विदा भए कानुनमन्त्री तामाङ, जाँदा जाँदै भने– धमिलो पानीमा माछा मार्ने षडयन्त्र भयो



ट्रेन्डिङ पोस्ट

Ncell