PahiloPost

Oct 24, 2018 | ७ कात्तिक २०७५

गंगाको पानीमा छचल्किएको वाराणसीको मुहार : आरतीसँग यसरी जोडिन्छ नेपालको नाता

गंगाको पानीमा छचल्किएको वाराणसीको मुहार : आरतीसँग यसरी जोडिन्छ नेपालको नाता

स्वेच्छा राउत/पहिलोपोस्ट


घाम डुब्नै लाग्दा किनारामा स्थिर भइसकेका डुंगा एकाएक सलबलाउन थालेका छन्। अध्यारो बढ्दै जाँदा गंगामाथि डुंगामा तैरिनेहरु पनि ह्वात्तै बढेका छन्, नदीको बीचसम्मैडुंगाका ताँती लागेको छ। किनारामा पनि उत्तिकै छन् मानिसहरु। गंगा तटमा धनुषाकार बनाएर रहेका ८४ घाटहरुमा एकएक गर्दै बत्ती बल्न थालेपछि गंगाको चमक नै फेरिएको छ। गंगाको पानीमाथि बत्ती र दियोका प्रकाश प्रतिविम्वित हुँदै गर्दाको दृश्य लोभलाग्दो देखियो। केही क्षणमै सबैतिर मानिस नै मानिस। घाटमा पुग्ने सिढीं भरिए, डुंगा भरिए। सूर्यको तेज निस्तेज हुँदै गर्दा आरतीको उज्यालोले चमक बढ्दै थियो। चमकसँगै अगरवत्तीका सुगन्ध हावामा मिसिएर सबैतिर फैलिरहेको थियो। आध्यात्मिक माहोलमा सबैको ध्यान एकैतिर थियो। त्यत्तिकैमा सबैको ध्यान खिच्ने गरी उद्घोष हुन्छ, आरतीको। हो, हामी वाराणसीको गंगा आरतीमा छौं।   

"साम्ब सदा शिव, साम्ब सदा शिव
साम्ब सदा शिव हर हर हर हर हर महादेव"

बिस्तारै वाराणसीको दशाश्वमेध घाटमा भजन गुञ्जन थाल्छ, एकै लयमा। संगीतको धुनमा उपस्थितहरुको तालीको गुन्जन मिसिन्छ।

भजन र श्लोकमात्र एक साथ गुञ्जदैनन्। सात पुजारीले एकै साथ शङ्ख फुक्छन्। सबैले धुप पनि एकैचोटी घुमाउँछन्। दियो र बत्तीहरु पनि एकसाथ तल माथि गर्दै घुमेको दृश्यले प्रफुल्लित नहुने कमै होलान् यहाँ। त्यसैले त काशीको सबैभन्दा पुरानो घाटमा हरेक साँझ उस्तै घुँइचो लाग्छ। एक किसिमको गंगा आरतीको मेला नै लाग्छ।

***
सन्ध्या मिश्र हरेक साँझ ६:३० बज्नु अघि खाना तयार गर्छिन्। वाराणसी गंगा किनारबाट २ किलोमिटर टाढा रहेको घरबाट रिक्सा लिएर दशाश्वमेध घाट पुग्छिन्। र,गंगा आरतीमा सहभागी हुन्छिन।

'कहिले काही ट्राफिक जामले गर्दा ढिलो हुन्छ। नत्र आरतीको लागि तयारी हुँदाको दृश्य मलाई निकै मनपर्छ। म सधैं नजिक बसेर हेर्छु,'दैनिक आरती हेर्नकै लागि आउने गरेकी उनी भन्छिन्,'विवाह भएर यो ठाउँमा आएदेखि मैले सकेसम्म कुनै दिन छुटाएको छैन। यो सबले मेरो थकान मेटिदिन्छ।' सन्ध्याको विवाह १९९३ मा भएको हो।

अनि गंगा आरती चाहिँ त्यसको दुई वर्ष अघिदेखि अर्थात् सन् १९९१ देखि सुरु भएको हो।

घाट र गंगा नदी सर सफाइ/ संरक्षणका लागि स्थापना भएको गंगा सेवा निधिले आरतीको सुरुवात गरेको थियो। त्यस समय पण्डित किशोरीरमण दुबेले गंगाको पूजा सुरु गरेका हुन्। 

संस्थाका कोषाध्यक्ष आशिष तिवारीका अनुसार प्रत्यक्ष संगीत र एकभन्दा बढी पुजारीको प्रस्तुति भने सन् १९९७ बाटमात्र सुरु भएको हो। 

संस्थापक सत्यन्द्र मिश्रले हरिद्वारमा भएको भव्य आरती देखेपछि गंगा नदीको किनारमा पनि त्यस्तै माहोल सिर्जना गर्न चाहे जहाँबाट गंगामा आरतीको क्रम सुरु भयो। 

त्यसपछि ३ जनाले पूजा गर्न थाले, प्रत्यक्ष वाद्यवादन र गायन पनि जोडियो। र, पूजाको प्रचलन, संगीतको धुन र अध्यात्मको लहरले मानिसहरुलाई खिच्यो। 

अहिले त वाराणसी पुग्ने हरेकको 'टु डु लिस्ट'मा पर्छ गंगा आरती अवलोकन। हिन्दी, संस्कृत नबुझ्ने पर्यटकहरु पनि संगीतको मजा लिँदै यो धार्मिक माहोलको मजा लिइरहेको दृश्य रोचक लाग्छ। 

'आरती सुरु भएको दिनदेखि म समितिमा आवद्ध छु। हरेक दिन उस्तै सन्तुष्टि मिल्छ', आरती सकिएपछि छरिएको भिड हेर्दै आशिष भन्छन्, 'यो हामी र हाम्रो संस्थाको उपलब्धी हो।' 

सुरुवाती दिनमा खर्चको जोह आफूआफूबाट थालेका थिए उनीहरुले। त्यस समय 'यसरी खल्तीबाट पैसा झिकेर गरेको काम धेरै टिक्दैन' भन्नेहरु नभएका होइनन्। तर, गंगा सेवा निधिले त्यस्तो कुरामा मतलव गरेन। बरु आवश्यक परेको बेलामा चन्दा उठाए र चन्दा दिनेलाई सधैं देवत्वको काम गर्दा मंगल हुने आश्वासन दिए। 

'सबै मान्छे बुझ्ने हुँदैनन्। नबुझ्नेहरुको कुरामा अल्झिएर हामी बसेनौं,' उनले सुरुवाती दिनबारे सुनाए।

अहिले गंगा नदी आरतीको सम्पूर्ण खर्च समितिलाई प्राप्त हुने दान, दक्षिणा र सेवाबाट जुट्छ। 'अब हामी आत्मनिर्भर छौं। समितिको कोषमा पैसा जम्मा हुन्छ। खर्च विवरण सदस्यमा पारदर्शी राख्छौं,' आशिषले भने।

दैनिक आरतीमा आवश्यक सामाग्रीका लागि खर्च हुन्छ। त्यस्तै, संस्थाका कर्मचारीहरु, पूजा र वाद्य वादन टोलीको तलबमा मासिक खर्च छ। सरसफाइ गर्न र ठूला पूजाहरुमा प्रसाद खर्च पनि छ। 

'हामी सामाजिक कार्यमा पनि सक्रिय छौं। किनकि समाजप्रति हामी जिम्मेवार छौं। संस्थाको नाममा गरेको सेवामा हामी यतैको पैसा प्रयोग गर्छौं,' उनले भने।

आरतीका कारण वाराणसी शहरमा पर्यटक थपिएको, स्थानीयको व्यवसाय फस्टाएको, घाटहरुको प्रचार बढेको उनको दाबी छ। 

घाटभन्दा पर पानीमा तैरिँदै हामीलाई गंगा आरतीको माहोल देखाउँदे गरेका छन् माझी राज सहानीले। उनले गंगा नदीमा डुंगा चलाउन थालेको ५ वर्ष भयो, काम र कमाइदुवैबाट सन्तुष्ट सुनिए उनी। दिनभर विभिन्न देशका पर्यटकहरुलाई हरेक घाटसँगै जोडिएको किम्बदन्ती सुनाउँदै घुमाउने उनी साँझसम्म थाकिसकेका हुन्छन्। 

'तर, आरतीको बेला ममा नयाँ उर्जा थपिन्छ,' उनले भने।संगीत र आध्यात्माको हावाले कामगरी खानेलाई किन नछोओस्?

माहोल पूरै संगीतमय भइरहँदा राज आनन्दले बसेर आरती हेर्ने, ताली बजाउने मध्येका भने होइनन्। आरती हुनु अघिको चहलपहलसँगै उनको व्यस्तता बढ्छ। 

'दिनभरभन्दा बढी पैसा दिएर पनि चड्न तयार हुन्छन्। त्यसैले यो समय आराम गर्ने होइन, डुंगा खियाउँदै आरती हेर्नेहो,' उनी हाँस्दै सुनाउँछन्। 

डुंगाबाट मासिक २० हजारसम्म कमाइ हुने बताउँछन् उनी। 'भक्तहरुले टिप्स पनि त दिन्छन्,' आफ्नो बोलीलाई सच्याउँदै फेरि भन्छन्,'आरतीको समयमा डुंगा चड्ने प्रायले 'दक्षिणा' दिन्छन्।' 

शिवशंकर सहानी १६ वर्षका भए। स्थानीय विद्या वेद स्कूलमा कक्षा ९ मा पढ्ने उनी साँझको समयमा डुंगा चलाउँछन्। दैनिक १०० देखि २०० सम्म पाउने उनी डुंगा खियाएर आएको पैसा आफ्नो पाठ्य सामाग्री र खाजाका लागि खर्च गर्ने बताउँछन्। भन्छन्,'घर मै बसे म अरु साथीहरुसँग खेलेर बिताउँछु। यता आए धर्म पनि मिल्छ र पैसा पनि।'

राज, शिवहरुसँग कुरा गरिरहँदा डुंगाबाट आवाज आउँछ- लिजिए वाटर वाटर वाटर। 
पानी बेच्ने जय डोमका लागि आरतीको समय व्यापारको सही मौका हो।
आरती भइरहँदा पानी कसले पिउँछ दाइ? 

उनी भन्छन्- 'डुंगामा मान्छे आरती कम मनोरञ्जनका लागि ज्यादा चड्छन्। मोरञ्जनका लागि चड्ने प्रायले पिउँछन्।' उनी हाँस्छन्। कमाईका बारेमा सोध्दा केही पर पुगिसकेका उनी चिच्याउँछन्,'दुई तीन सयको व्यापार त भइहाल्छ।' 

र पुन: भट्याउँन थाल्छन् – वाटर, वाटर, वाटर।
आरतीको समयमा गंगा नदीमा र किनारमा फूल, पानी र चिया बेच्नेहरुको पनि आवाज सुनिन्छ। उनीहरुको आग्रह र भाव निकै विनम्र लाग्छ। यी ती हुन् जो दशाश्वमेध घाटमा भएर पनि आरतीमा हुँदैनन्। यदि आरती हुँदैन थियो भने सायदै यिनीहरु व्यापारी हुन्थे। 

***

नेपालको पशुपतिनाथमा उस्तै बागमती गंगा आरती हुन्छ, हरेक साँझ। यहाँको गंगा आरतीकै प्रभाव विस्तार हुँदै पशुपतिसम्म पुगेको हो। त्यहाँ आरतीबाट प्रभावित भएका नेपालीले पशुपतिमा वाग्मतीको आरती थालेका हुन्। वाराणसीमा संस्कृत पढ्न गएका नेपाली समूहले पशुपतिमा गरेको प्रयास धेरै हदमा सफल भइरहेको छ। 

पशुपतिनाथ र काशीको दशाश्वमेध घाटमा हुने आरतीको प्रक्रिया एउटै हो। अन्तर छ भनेमानिसको सहभागितामा। दुबैतिर गुञ्जिनेभजन पनि एकैखाले। फरक केवल पुजारीको सङ्ख्या हो। पशुपतिमा तीन पुजारीले गर्छन् यहाँ ७ पुजारीले।

नेपालीहरु काशीको आरतीसँग भावनात्मक रुपमा किन पनि जोडिन्छन् भने- त्यहाँ आरती गर्ने पुजारीहरु र वाद्यवादन टोली पनि नेपाली छन्। 

भर्खरै आरती सकेर बसेका सन्तोष नेपाल, नेपाली भाषा बोलेको सुनेर हामी नजिक आउँछन्। र भन्छन्,'कहिले आउनु भएको? आरती हेर्नुभयो?' 

वाराणसीमा रहेर संस्कृतमा शास्त्री सक्काएका ताप्लेजुङका सन्तोषसँग कुराकानी हुने क्रममा गंगा आरतीको प्रसङ्ग मुख्य विषय बन्यो। 

उनका अनुसार आरती गर्न प्राय नेपाली विद्यार्थीहरु नै हुन्छन्। सातजना पूजारीमा ५ जना- सन्तोषसँगै पवन शर्मा, रमेश पोखरेल, विनोद दाहाल, गोविन्द कट्टेल जना नेपाली हुन्। 

त्यस्तै वाद्यवादनमा छन् उदयराज अधिकारी र पियुष अधिकारी। दुवै बिएचयुमा अध्ययनरत हुन्। उदय भजन गाउँछन्, पियुष तबला बजाउँछन्। 

आरती समूहमा संलग्न यी सबैको दैनिकी दिउँसो कलेज र साँझमा गंगा किनारमा बित्छ। 

६ वर्षदेखि आरती गर्दै आएका सन्तोष इमान्दार र नम्र व्यवहारका कारण समितिले नेपालीलाई प्राथमिकता दिएको बताउँछन्। भने,'हामी पनि खुशी छौं। यो आरतीसँग हामी धार्मिक मात्र नभएर भावनात्मक रुपमा पनि जोडिएका छौं।' 

गंगा सेवा निधिले उनीहरुलाई खर्च पुग्दो तलब उपल्बध गराउने सचिव हनुमान यादवले बताए। ‘जति सक्छौं त्यति दिन्छौं। दुखी बनाउँदैनौं,’ थप्छन्,'उनीहरु जिम्मेवार पनि छन्।’ 

***

अध्यात्म, संगीत र साधनाको संगम वाराणसीको यो स्थलमा प्रफुल्ल नदेखिने मुहार कमै होला। मान्छेको मुहारमा झल्कने उर्जा र उत्साहले पनि वातावरण झनै प्रफुल्ल बनाउँछ। 

एउटा घाटबाट सुरु भएको आरती अहिले गंगा किनारमा रहेका अस्सी घाट, तुलसी घाट, केदारघाट, अहलियाबाई घाट, ललिता घाट, रविदास घाट लगायतमा पनि हुन थालेका छ। जसका कारण भक्तहरु फरकफरक घाटमा गएर संगीत र अध्यात्माको वातावरणमा रमाउन सक्छन्। सबै आरतीको व्यवस्थापन भने फरकफरक संस्थाले गर्दै आएका छन्।

'हामीले सुरु गरेको आरतीले यसरी वृहत बनेर फैलन्छ भन्ने थिएन। भयो, खुशी छौं। यो अझै धेरै घाटहरुमा हुनुपर्छ। अझ धेरै भक्त र पर्यटनलाई आकर्षित गर्नुपर्छ। स्थानीयको लागि आफ्नै ठाउँमा रोजगार मिल्नुपर्छ,'संस्थाका अध्यक्ष सुशान्त मिश्र नम्र भावमा थप्छन्,'भगवान् जी खुशी छन्।'
 


ट्रेन्डिङ पोस्ट