PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

कविता लेखेकै कारण जेल पुगिन् देरिन



पहिलोपोस्ट

कविता लेखेकै कारण जेल पुगिन् देरिन

इजरायली सैनिकको गालामा थप्पड हान्दै एकाएक चर्चामा आएकी १७ वर्षिया प्यालेस्टाइनी किशोरी अहद तमिमीलार्इ गत आइतबार इजरायली सरकारले रिहा गर्‍यो। उनलार्इ इजरायली अदालतले हिंसात्मक आक्रमण गरेको लगायत ४ अभियोगमा दोषी ठहर गर्दै ८ महिनाको जेल सजाय सुनाइएको थियो। ८ महिना जेल जीवन बिताउँदै रिहा भएपछि  उनले वकिल बन्ने लक्ष्यका रहेको र इजायललार्इ अन्तर्राष्ट्रिय अदालतमा उभ्याउने अठोट रहेको बताएकी थिइन्। प्यालेस्टाइन फर्केकी तमिमीलार्इ प्यालेस्टाइनीहरुले भव्य स्वागत गरेका थिए। 

अहद तमिमीको बहादुरीको सर्वत्र प्रशंसा भइरहँदा अर्की एक प्यालेस्टाइनी महिलामाथि फेरि विश्वको ध्यान आकर्षित भएको छ। उनी हुन्, प्यालेस्टाइनी कवि देरिन तेटौर। 

देरिन तेटौरलार्इ मंगलवार एक इजरयाली अदालतले पाँच महिना जेल सजाय सुनाएको छ। सामाजिक संजालमा पोस्ट गरेको कविताबाट आतंकवादलार्इ प्रोत्साहन गरेको आरोपमा उनलार्इ अदालतले दोषी ठहर गरेको हो।  

२ वर्ष भन्दा बढी समयबाट घरमै नजरबन्दमा रहेकी ३६ वर्षीया तेटौरलार्इ नाजेरेथ जिल्ला अदालतले कविता लेखेकै कारण दोषी ठहर गरेको हो। मे महिनामा उनलार्इ आतंकवादलार्इ सघाउ पुर्‍याएको  र हिंसा फैलाउन खोजेको आरोपमा अदालतले दोषी ठहर गरेको थियो। मंगलवार उनलार्इ जेल सजाय सुनाइएको हो। 

सामाजिक संजालमा 'रेसिस्ट, माइ पिपल, रेसिस्ट देम' (प्रतिरोध गर, मानिसहरु, उनीहरुको प्रतिरोध गर) भन्ने कविता वाचन गर्दै गरेको भिडियो सार्वजनिक भएको थियो। 

कविता वाचन गरेको भिडियो पोस्ट भएपछि तेटौरलार्इ २०१५ अक्टोबरमा इजरायली प्रहरीले पक्राउ गरेको थियो। केही समयपछि रिहा भएकी तेटौरलार्इ आतंकवादलार्इ सघाउ पुर्‍याएको र हिंसा फैलाउन खोजेको आरोप लगाउँदै २०१६ जनवरीबाट घरमै नजरबन्दमा राखिएको थियो। उनलार्इ नजरबन्दमा आफ्नो कृतिहरु प्रकाशित गर्न, कसैलार्इ भेट्न र इन्टरनेट चलाउनबाट बन्देज लागाइएको थियो। अन्तर्राष्ट्रिय दबाब पछि उनको नजरबन्द केही खुकुलो बनाइएको थियो। 

सरकारी पक्षले उनको कविताले हिंसा र आतंकवाद फैलाउन प्रोत्साहन गरेको आरोप लगाएका थिए। तर, तेटौरका वकिल गयाबी लयास्कीले भने उनको कविताको गलत व्याख्या गरिएको बताएकी छिन्।

सजायका विरुद्ध पुन अपिल गर्ने बताउँदै लयास्कीले भनिन्, 'मलार्इ लाग्दैन कि कविता लेख्नु, चाहे त्यो सरकार विरुद्ध नै किन नहोस, अपराध होइन। आफूलार्इ प्रजातान्त्रिक भन्ने राष्ट्रमा एक कविलार्इ कविता लेखेकै अभियोगमा जेल सजाय सुनाइनु धेरै दुःखद कुरा हो। तेटौरलार्इ १५ देखि २६ महिनासम्म जेल सजायको माग गरिएको थियो। तर न्यायाधीशले उनलार्इ पाँच महिना जेल पठाउने निर्णय गरे। तर, यो पनि उनका लागि अधिक सजाय हो।'

३ सय भन्दा कम व्यक्तिले हेरेको सो भिडियोमा तेटौरले प्यालेस्टाइनीहरुलार्इ शान्तिको समाधानका लागि कहिल्यै राजी नहुन आह्वान गरेको अल जजिराले जनाएको छ। 

तर, तेटौरले भने आफू माथि लगाइएको सबै आरोपको खण्डन गरेकी थिइन्। उनले आफ्नो कविता मार्फत् हिंसा फैलाउन नखोजेको र शान्तिपूर्वक प्रतिकार गर्न आह्वान गरेको बताएकी थिइन्। तर, इजरायली अधिकारीहरुले उनको कविता हिंस्रक भएको आरोप लगाउँदै आएका छन्। 

इजरायली अदालतले उनलार्इ आतंकवादी संगठनलार्इ सहायता गरेको आरोपमा पनि दोषी ठहर गरेको छ। उनीमाथि प्यालेस्टाइनको सशस्त्र समूह इस्लामिक जिहादलार्इ उक्साएको आरोप लगाइएको थियो। 

फैसलापछि प्रतिक्रिया दिँदै तेटौरले भनिन्, 'मलार्इ न्याय पाउँछु भन्ने आशा नै थिएन। यसलार्इ पहिल्यैदेखि राजनीतिक मुद्दा बनाइयो किनभने म एक प्यालयस्टाइनी हुँ र म अभिव्यक्ति स्वतन्त्रताको पक्षमा छु।'

देरिन तेटौरको घर नाजारेथ नजिकैको गालीली गाउँको रिनेह भन्ने स्थानमा छ। उनी इजरायली प्यालेस्टाइनी वा अरब अल्पसंख्यक समूदायकी सदस्य हुन्। उक्त समुदायले इजरायलको जनसंख्याको २० प्रतिशत हिस्सा ओगटेको छ।  

तेटौरलार्इ जेल सजाय सुनाइएकोमा विश्वभरबाट त्यसको विरोध भएको छ। अमेरिकाका ९ पुलिट्जर अवार्ड विजेता सहित १ सय ५० अमेरिकी साहित्यकारहरुले तेटौरकोलार्इ रिहा गर्न माग गरेका छन्। यस्तै अन्तर्राष्ट्रिय लेखक समूह 'पेन' ले पनि तेटौरको बचाउ गरेको छ। उक्त समूहले आफ्नो विज्ञप्तिमा भनेको छ, 'देरिन तेटौरलार्इ जुन आरोपमा दोषी ठहर गरिएको छ, त्यो लेखकहरुले दिनदिनै गर्दछन्। हामी अन्यायका विरुद्ध शान्तिपूर्वक रुपमा हाम्रो शब्द प्रयोग गर्द्छौं।'  

(अल जजिरामा प्रकाशित सामग्रीको भावानुवाद)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell