PahiloPost

Oct 23, 2018 | ६ कात्तिक २०७५


बीपीले अपूरै छाडेको विमान अपहरणको घटनाको दुर्गा सुवेदीको किताबबाट खुलासा 


पहिलोपोस्ट

बीपीले अपूरै छाडेको विमान अपहरणको घटनाको दुर्गा सुवेदीको किताबबाट खुलासा 

प्रजातान्त्रिक आन्दोलनका योद्धा दुर्गा सुवेदीले आफ्नो संलग्नतामा भएको नेपालको पहिलो र एकमात्र राजनीतिक विमान अपहरणबारे आफ्नो अनुभूति सार्वजनिक गरेका छन्। लामो समयदेखि राजनीतिइतरको जीवन विताइरहेका उनले लेखेको संस्मरणात्मक पुस्तक ‘विमान विद्रोह : एउटा राजनीतिक अपहरणको बयान’मा पञ्चायतविरुद्ध संघर्षका विविध आयामहरु समेटिएको छ। 

बीपी कोइरालाले आफ्नो आत्मवृत्तान्तमा लेखेका छन्, ‘मसँग पैसा थिएन अनि हवाइजहाज अपहरणको विचार आयो। म विस्तारमा भनुँ कि नभनुँ? अहिले छोडिदिऊ, अब मान्छे पनि आइसके,’ दुर्गा सुवेदी भन्छन्, ‘बीपीले विस्तारमा नभनी छोडिदिनु भएको कहानी मैले भन्ने जमर्को गरेको छु।’

२००३ सालमा धनकुटामा जन्मिएका सुवेदी नेपालको प्रजातान्त्रिक आन्दोलनका चर्चित नाम हो। पञ्चायती सत्ताविरुद्ध नेपाली कांग्रेसले गरेको सशस्त्र संघर्षलाई सहयोग पुर्याउन राष्ट्र बैंकको भारु ३० लाख लुट्न उनले बसन्त भट्टराई र नगेन्द्र ढुंगेलसँग मिलेर २०३० सालमा नेपाल वायुसेवा निगमको विमान अपहरण गरेका थिए। यसबापत करिब १० वर्ष लामो प्रवास–बसाई र दुई वर्ष भारतीय जेलमा जीवन बिताएका सुवेदी कालान्तरमा माओवादी र सरकारबीच शान्ति–संवाद गराउने सुत्राधारसमेत बनेका थिए। 

एउटा सशस्त्र संघर्ष गर्दा र अर्को सशस्त्र संघर्ष टुंग्याउन भूमिका खेल्दाका दुवै पाटाहरु पुस्तकमा समेटिएको छ। कांग्रेसले हतियार उठाउँदाका अन्तरकथा, कोइराला परिवारका भित्री कथा र त्यसै क्रममा उनी स्वयंलाई पार्टीभित्रबाटै मार्न खोजिएको षडयन्त्रको पनि सुवेदीले खुलासा गरेका छन्। साथै आफ्नी धर्मपत्नी सुशीला कार्की प्रधानन्यायाधीश छँदा तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्की कसरी ‘१० करोडको गोड्धुवा प्रस्ताव’ लिएर आएका थिए भन्ने वर्णन पनि पढ्न पाइन्छ। 

‘विमान विद्रोह’को प्रकाशन किताब पब्लिसर्स प्रालिले गरेको हो। ‘यसमा राजनीतिक प्रयोजनले विमान अपहरण गर्दाको व्यक्तिगत मनोविज्ञान पहिलोपटक अपहरणकारी स्वयंले सार्वजनिक गर्नुभएको छ,’ किताब पब्लिसर्सकी प्रमुख सञ्चालन अधिकृत कल्पना ढकाल भन्छिन्, ‘यस पुस्तकले पाठकहरुलाई नेपाली इतिहासको रोचक अतीततर्फ फर्काउने हाम्रो अपेक्षा छ।’



बीपीले अपूरै छाडेको विमान अपहरणको घटनाको दुर्गा सुवेदीको किताबबाट खुलासा  को लागी १ प्रतिक्रिया(हरु)

Dinesh Poudel [ 2018-08-10 16:28:29 ]
पुस्तक पठनीय छ जस्तो लाग्छ ।

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट