PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

भारत र चीनको नेपालमा पूर्वाधार विकास बैंक खोल्न होड, कुन होला पहिलो?



सविन मिश्र

भारत र चीनको नेपालमा पूर्वाधार विकास बैंक खोल्न होड, कुन होला पहिलो?

काठमाडौं : भारतीय निर्यात-आयात बैंक (एक्जिम बैंक-इन्डिया)ले नेपालमा स्थापना हुन लागेको पूर्वाधार विकास बैंकमा इक्विटी (स्वपुँजी) लगानीको प्रस्ताव गरेको छ।

एक्जिमले नेपालमा पूर्वाधार क्षेत्रमा लगानी गर्ने आफ्नै प्रतिनिधिका रुपमा छुट्टै पूर्वधार बैंक स्थापना गर्ने वा नेपालको कुनै बैंकमा संस्थापक शेयरधनीका रुपमा प्रवेश गर्ने प्रस्ताव अर्थ मन्त्रालयमा पठाएको हो। सरकारले चिनियाँ कम्पनीसँग मिलेर पूर्वाधार विकास बैंक खोल्ने निर्णय गरेसँगै भारतीय पक्षले पनि यस्तै संस्थामा लगानीको लागि चासो देखाएको छ।

केही समयअघि मन्त्रिपरिषदको बैठकले चीनको जोङ्झी रिचवे होल्डिङ्स लिमिटेडलाई सरकारले पूर्वाधार विकास बैंक स्थापना गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेसँगै भारतीय एक्जिम बैंकमार्फत नेपालमा पूर्वाधार बैंकको प्रस्ताव आएको थियो। 
 
भारतीय प्रस्ताव प्राप्त भएपछि अर्थ मन्त्रालयले नयाँ बैंक खोल्नुभन्दा स्थापनाको प्रक्रियामा रहेको नेपाल पूर्वाधार बैंकमा नै इक्विटी लगानीको बाटो उसलाई देखाएको हो। एक्जिम बैंकले नेपालमा पूर्वाधार विकास बैंकमा लगानीका लागि प्रस्ताव गरेपछि नेपाल सरकारले निजी क्षेत्रसँग मिलेर स्थापना गर्न लागेको पूर्वाधार विकासमा उसलाई प्रवेश गर्न दिने विषयमा छलफल थालिएको छ। 
 
पूर्वाधार विकास बैंकको पूँजी संरचनामा परिवर्तन गरी एक्जिम बैंकलाई पनि लगानीको अवसर दिन खोजिएको अर्थ मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए। 'अहिले प्रक्रियामा रहेको बैंकको पुँजी २० अर्ब रुपैयाँ प्रस्ताव गरिएको छ, त्यसैलाई थप विस्तार गर्न भारतीय एक्जिम बैंकको लगानीको विकल्प देखाइएको हो,' मन्त्रालयका एक उच्च अधिकारीले भने। 
  
मन्त्रालय उच्च स्रोतका अनुसार पूर्वाधार विकास बैंकमा इक्विटी लगानीका लागि एक्जिम बैंकका लागि बाटो खुला गर्न छलफल थालिएको छ। यसबारे अन्तिम निर्णय भने भएको छैन। 'यो विषय प्रस्तावित भएको छ, थप छलफलपछि मात्रै आवश्यक निष्कर्शमा पुर्यािउछौँ,' अर्थ स्रोतले भन्यो।

नेपाल सरकारको १० प्रतिशतसहित निजी क्षेत्रबाट ९० प्रतिशत लगानी जुटाउने गरी दर्ता भएको पूर्वाधार विकास बैंक स्थापनाको प्रक्रिया अघि बढिसकेको छ। यही बैंकमा भारतीय पक्षलाई लगानीको प्रस्ताव गरिएको हो। यो बैंकलाई नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको चैतमा बसेको बैठकले ४५ प्रतिशत रकम जम्मा गर्न निर्देशन दिइसकेको छ। 
 
'यसको प्रक्रिया अघि बढेको छ, यसैको पूँजीको आधार बढाएर भारतीय पक्षलाई पनि सहभागी गराउने विषयमा छलफल भएको हो,' अर्थका ती अधिकारीले भने, 'यसबारे टुंगो लागेको छैन।'

पूर्व मुख्यसचिव डा विमल कोइराला अध्यक्ष रहेको इमर्जिङ नेपालले गत वर्ष बैंक स्थापनाका लागि राष्ट्र बैंकमा प्रस्ताव पेश गरेका थिए। सरकारले गत वर्षकै बजेटमा उल्लेख गरेको बैंक स्थापनाको प्रक्रियामा कम्पनी अघि बढिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell