PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

विचलित समाजको दुरुस्त तस्बिर : यस्तो छ ‘कान्ट पे, वन्ट पे’ को नेपाली रुपान्तर (समीक्षा)



स्वेच्छा राउत

विचलित समाजको दुरुस्त तस्बिर : यस्तो छ ‘कान्ट पे, वन्ट पे’ को नेपाली रुपान्तर (समीक्षा)

महङ्गी र कर वृद्धिको चर्चा नेपालमा अहिले नौलो विषय होइन। यसको चर्चा सामाजिक सञ्जालदेखि चिया पसलसम्मै छ। कर र महँगीकै विषयमा संघीय, प्रदेश र स्थानीय सरकार विरोधी स्वर पनि जताततै सुनिन्छ। तर, आफ्नो अधिकारका लागि अनावश्यक मूल्य र करवृद्धिको विरोध भइरहँदा हामीले आफ्नो दायित्वको पाटोलाई चाहिँ कति ध्यान दिएका छौं त?

यही मुद्दालाई नाटकको विषय बनाएर उठाएका छन् नाट्यकर्मी विकास जोशीले। उनले मूल्य वृद्धिले मजदुरदेखि सम्पूर्ण सामाजिक संरचनामा परेको असरलाई प्रस्तुत गरेका छन्। अधिकारको लागि लड्दै गर्दा कर्तव्यको हकमा अलमलिएका पात्र, बाध्यताले निम्त्याउने परिवर्तन र परिस्थितिलाई मञ्चमा प्रस्तुत गरेका छन्।

सडकको हिलोबाट बच्न जुत्तामा प्लास्टिक बेरेर हिँडेकी सरिता गिरी सामानको भारी बोकेर मञ्चमा छिर्छिन्। उनीसँगै हस्याङ फस्याङ गर्दै भारी बोकेर आएकी हुन्छिन्, प्रमिला खनाल। यी दुई दिदी बहिनी। दुवैका श्रीमान् अनुपम शर्मा र विजय बराल ट्याक्सी ड्राइभर। श्रीमानले कमाएर दिएको पैसाले मासिक खर्च पुर्याउन अफ्ठ्यारो परेको अवस्थामा सरिताले ल्याएको महँगा सामानको भारी देखेर छक्क पर्छिन् प्रमिला। र, त्यस बारे सोध्छिन्।

सुरुमा त सरिताले सपिङ बारे अनेकन बनावटी कहानी सुनाउँछिन्। तर, बहिनी चाहिँले पत्याए पो! त्यसपछि भन्छिन् - महङ्गीको विरोधमा महिलाहरुले गरेको प्रदर्शनको कथा, सपिङ सेन्टरमा भएको आन्दोलन र मनलाग्दी सामान उठाएर हिडेको कहानी। त्यसै भिडमा मिसिएर उनले पनि सामान लिएर आएकी हुन्छिन्।

चोरेर ल्याएको समान भाग लगाउने कुरा हुन्छ। तर, यी दुवैका पति इमानदार छन्, तीसँग सुपर मार्केटमा भएको घटना र आफ्नो बठ्याइ लुकाउनु पर्छ उनीहरुलाई। श्रीमानहरुसँग त लुक्छ तर ल्याइएको सामानहरु अनुगमन टोलीबाट पनि लुकाउनु पर्ने अवस्था आइलाग्छ। यही परिस्थितिले सिर्जना गरेको लुकामारीको खेलको वरपर नाटक घुम्छ।

डारियो फोको नाटक ‘कान्ट पे, वन्ट पे’को रुपान्तरण गरेर नाटक तयार पारिएको छ। श्रमजीवी वर्गको कथा भन्ने यी कलाकार एवं नाटककारको यो नाटक ३० भन्दा बढी देशहरुमा मञ्चन भइसकेको छ। सोही नाटकलाई नेपाली परिवेशमा ढालिएको छ- आर्थिक, सामाजिक अवस्थासँग मिल्दो बनाएर।

आवश्यक मुद्दाको उठान त गरियो तर मञ्चमा घट्ने घटनाहरु अनावश्यक नाटकीय र लामो लाग्छ यदाकदा। किनकि केही दृश्य तन्काइएको देखिन्छ। जस्तै- अनुगमन टोली सदस्य उमेश तामाङलाई झुलाउन गरिएको नाटक, अनुपम र विजयबीचको छलफल। कतिपटक संवादहरु दोहोरिन्छन् पनि। सरिता पात्रले पटकपटक आफ्नो श्रीमान ‘आदर्शको पुत्ला’ भन्नुले अनुपम पात्रले आफ्नो चरित्र स्थापना गर्न नै पाउँदैन।

अभिनयको हकमा भने यिनै अनुपम, विजय अब्बल लाग्छन्। यी पात्रहरु अन्य पात्र र घटनाहरुसँग केन्द्रित देखिन्छन्। दर्शकदीर्घामा उस्तो ध्यान नदिए पनि दर्शकलाई आफूतर्फ आकर्षित गर्न खोजेको देखिन्छ। जस्तै- प्रप्सहरुसँग खेल्दाखेल्दै अनुपम ‘मनबिनाको धन ठूल कि’ भन्दै गुन्गुनाउँछन्। प्रमिलालाई अस्पताल लगेको सुन्दा विजय पात्रको अनुहारमा झल्कने भाव जिवन्त लाग्छ।

तुलनात्मक रुपमा महिला पात्रहरु केही ‘लाउड’ लाग्छन् नाटकमा। उनीहरुको चरित्र निर्माणमा मिहेनत नभएर हुनसक्छ, नाटक अवधीभर ‘कन्फ्युज्ड क्यारेक्टर’ प्रस्तुत हुन्छ। अनावश्यक उफ्रनु, हाउभाउ देखाउनु, अस्वभाविक कराउनु असान्दर्भिक लाग्छ। चोरेर ल्याएको सामान लुकाउँदादेखि चोरेको थाहा पाउँदासम्म उनीहरुको मनोविज्ञान उस्तै देखिनु कमजोरी हो।

उमेश तामाङले धेरैवटा भूमिका निभाएका छन्। तर, घरबेटी बन्दा बाहेक अन्य चरित्रमा एकैखाले देखिन्छन्। एउटै शैली देखिन्छ। बोली पनि उस्तै, अनुहारमा देखिने कोठी बाहेक।

नाटकको सेट डिजाइनमा फरक प्रयोग गरिएको छ। निर्देशकले नाटकमा प्रस्तुत पात्रहरुको मनोविज्ञानको विम्ब स्टेजमा प्रयोग भएका सामानलाई बनाएका छन्। जसरी व्यक्ति अनि समाजले यथार्थ प्रवृत्ती छोप्न ढोंगको खोल ओड्छन्, त्यसरी नै हरेक सामानलाई बाहिरबाट खोल लगाएर छोपिएको छ।

कोठामा पहिलेदेखि भएको सामानमा खोल छ। चोरेर ल्याइएको सामान छोपिएको छैन। नछोपिएको सामान आफ्नो बनाउन पात्रहरु संघर्ष गर्छन्। निर्देशकले निश्चित सामाजिक संरचनामा विकास भएको सोचलाई महङ्गिँदै गरेको ब्रान्डहरुसँग पनि लगेर जोडेका छन्। सेटमा देखिन्छ- श्रीमान श्रीमतीको फोटो हुन सक्ने भित्तामा विभिन्न ब्रान्डका लोगोहरु झुण्डाइएका छन्। संकेत हो, महङ्गीले श्रमजीवी वर्गलाई थिच्ने आर्थिक भारको।

ट्याक्सी ड्राइभरको कोठाको झ्याललाई ट्याक्सीकै आकार दिइएको छ। र झ्याल बाहिर केही सग्ला अनि केही ढल्किएका मन्दिर र घरहरु। त्यो शहर हो- जुन शहरलाई पनि महङ्गीको तातोले पोलेको छ। त्यहाँ पनि धेरै महिलाहरु चोरेर ल्याएको सामान लुकाउन अनेक बहाना खोज्दैछन्, सरिता र प्रमिला जस्तै। तर, यी पात्रहरुलाई आफूले गरिरहेको सही गलतको हेक्का छैन।

त्यो शहरमाजस्तै हाम्रो शहरमा पनि मूल्यवृद्धि चुलिएको छ। मूल्यवृद्धिको विरोध गर्दै गर्दा हामीले पनि कतिपटक छल गरेका छौं। त्यो छल चाहे बिहान दूध किनेर आएको फिर्ता रुपैयाँ आमालाई नदिएर होस् या कसैलाई तिर्नुपर्ने ५०५ रुपैयाँमा '५ रुपैयाँ त नपर्ला' भन्ने सोचेर। अनि हामीमध्ये धेरैले त राज्यले लगाएको कर पनि नतिरेर।

आफ्नो कर्तव्यको पाटो भुसुक्क बिर्सिएर अधिकारको आवाज उठाएका छौं। त्यस्तै आवाजहरुको प्रतिनिधि गर्दै मण्डला थिएटरको मञ्चमा पात्रहरु उभिन्छन्। भरपुर हाँस्य दृष्यसहित गहन विषयलाई सरल ढङ्गमा प्रस्तुत गरिएको छ। नाटक अवधीभर प्रयोग ‘कमेडी अफ म्यानर’ले नै दर्शकलाई बाँधी राख्छ। कर प्रणाली र मूल्यवृद्धिले पार्ने सामाजिक, आर्थिक एवं मनोवैज्ञानिक असरलाई केलाउँछ नाटकले। विकास जोशीको अनुवाद र निर्देशन रहेको नाटक भदौ १० गतेसम्म मञ्चन हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell